चिनियाँहरूले कुरा समाते च्यापच्याप

चिनियाँ राष्ट्रपति चिनफिङले अगाडि सारेको वान बेल्ट वान रोड कार्यक्रममा बल्लतल्ल गत शुक्रबार नेपालले हस्ताक्षर गरेको छ । मुखमा आइसकेको प्रधानमन्त्री पद फुस्केला भनेर देउवाले प्रचण्डको शर्त स्वीकार गर्दै प्रकाशशरण महतलाई सम्झौता गर्न मनाएका हुन् । 

शुक्रबार बिहान हस्ताक्षर गरेर यससम्बन्धी सम्मेलनमा भाग लिन सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की र यातायात तथा भौतिक पूर्वाधार मन्त्री रमेश लेखक बेइजिङ उडेका कृष्णबहादुर महरा निकै प्रफुल्ल मुद्रामा थिए । शनिबार बेलुका बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सबैभन्दा धेरै खुशी मन्त्रीद्वय महरा र कार्की देखिए । चिनियाँ बुद्धिजीवी र नेपालका लागि पूर्व चिनियाँ राजदूतहरूसँगको छलफलमा दुवैले नेपाल नयाँ युगमा प्रवेश गरेको भन्दै प्रशंसा गरेका थिए । राजदूत लीलामणि पौडेलले मन्त्रीहरूसँग चिनियाँ बुद्धिजीवीलाई छुट्टै कोठामा राखेर ४५ मीनेट जति छलफल गराए । सो छलफलमा हस्ताक्षरमार्फत आफ्नो सरकारले संसार जितेको जस्तो गरी महरा र कार्कीले कुराकानी राखेको बताइन्छ । 

चिनियाँ बुद्धिजीवीहरूले पनि ओबिओआर सहकार्यमा नेपालले हस्ताक्षर गरेकोमा महरालगायत तीनैजनालाई बधाई दिए । नेपाली मन्त्रीहरूको खुशी र चिनियाँ परियोजनाको अत्यधिक प्रशंसा सुनेपछि एकजनाले बीचमै सोधे ‘चीनले नेपाललाई पहिले नै प्रस्ताव गरेको थियो तर किन यति ढिलो हस्ताक्षर गर्नुभयो ?’ अर्का प्रोफेसरले सोधे, ‘पहिले केपी ओलीको भ्रमणमा भएका सम्झौताहरू कार्यान्वयन भएका छैनन् । अब यो हस्ताक्षर पनि कार्यान्वयन हुने ग्यारेन्टी के ?’

यस्ता प्रश्नले नेपाली मन्त्रीहरू अक्क न बक्क भए । महरालाई हेर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले भने, ‘अवश्य पनि ढिलो भएको हो । यसमा हाम्रो कमजोरी छ । नेपालको राजनीतिक अस्थिरता र पार्टीहरूबीच सहमति नभएकाले ढिलो भएको हो । तर तपाईंहरू ढुक्क हुनुहोस् अवश्य कार्यान्वयन हुन्छ ।’ उनले यसोभन्दा महराले सहमतिमा टाउको हल्लाएका थिए भने मन्त्री रमेश लेखक मौन देखिन्थे । सम्झौताको उपलब्धिमा कुरा गर्दा महरा र कार्कीको अनुहार उज्यालो देखिन्थ्यो भने लेखक झोक्राउने गर्थे । अनि जब सरकार परिवर्तनको कुरा आउँथ्यो तब लेखकको अनुहार उज्यालो हुन्थ्यो अनि महरा र कार्की झोक्राउँथे ।

चिनियाँ बुद्धिजीवीहरूले तारन्तार सम्झौता कार्यान्वयनको कुरा उठाए । उनीहरूले सोधेको अर्को प्रश्न थियो, स्थानीय निर्वाचनपछि सरकार फेरिन्छ हैन र ? कहिले बन्छ नयाँ सरकार ? नेपाली मन्त्रीहरूको उत्तर दिने तरिका पनि गजबकै थियो । सम्झौता कार्यान्वयनको कुरा गर्दा उत्तर दिन महरा र कार्की अगाडि सर्दथे । अनि नयाँ सरकार बन्ने कुरा गर्दाचाहिँ लेखकले जवाफ दिन्थे । उनी भन्थे ‘म त जेठ ५ मै नयाँ सरकार बन्नुपर्छ भन्दैछु । तर जेठ १२ मा मात्र बन्ने भयो ।’ नयाँ सरकारले चीनसँगका सम्झौता कार्यान्वयन गर्छ त भन्ने प्रश्नमा चाहिँ उत्तर दिन उनी त्यति तयार हुन्नथे । चिनियाँ बुद्धिजीवीहरूले पनि कुरा बुझेपछि मन्त्री लेखकसँग कुरा गर्नका लागि त्यति तयार भएनन् । उनीहरूले प्रायःजसो महरासँगै कुरा गर्न रुचि देखाए ।
– बेइजिङबाट आशुतोष 

टिप्पणीहरू