अहिले कता कुद्दैछ वाइसिएल ?

अहिले कता कुद्दैछ वाइसिएल ?

देशको सत्ता राजनीतिमा चलिरहेको घम्साघम्सीलाई बिर्साउने गरी माओवादी सहायक संगठन वाइसिएलमा प्रचण्ड र अनन्त निकट भनिनेहरू बीचमै तानातान शुरु भएको छ ।

भदौ १२ र १३ गते काठमाडौंमा हुने महाधिवेशनबाट अध्यक्ष जित्नका लागि एकजना प्रचण्डका र अर्का वर्षमान पुन (अनन्त) का उम्मेदवार भइदिँदा भिडन्त रोचक हुन लागेको हो । अहिलेका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) लाई ४० वर्षे उमेरहद लागेपछि उनी नेतृत्वबाट बाहिरिने भएका छन् ।

अध्यक्षका लागि दावेदारी प्रस्तुत गर्नेमा हालका उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुबोध श्रीपाली छन् । यीमध्ये सुबोधलाई अघिल्लो महाधिवेशनमा दीपशिखा आफँैले महासचिव बनाएका थिए । तर, यसचोटि सुबोध अध्यक्षको प्रत्यासी बनिरहँदा उनलाई सहयोग गर्न नसक्ने बाध्यतामा परेका छन्, दीपशिखा । किनभने, अर्का प्रत्यासी सुमन देवकोटा प्रचण्डपुत्री रेणु दाहालमार्फत खुमलटारको टिकटप्राप्त व्यक्ति हुन् ।

सुबोधचाहिँ वर्षमान पुन (अनन्त) द्वारा अगाडि सारिएको उम्मेदवार हुँ भन्छन् । कालिकोटका सुबोध र दीपशिखाको सम्बन्ध बीचमा बिग्रँदै गएको थियो । खुमलटारसँग सुमनले राम्रो कनेक्सन बनाएका कारण सुबोधलाई पार्टीको अरु जिम्मेवारीमा पठाएर सुमनलाई सर्वसम्मत अध्यक्ष बनाउने योजना थियो । तर, अन्तिममा अनन्तले सुबोधलाई बोकिदिँदा सर्वसम्मत हुने सम्भावना समाप्त भएको चर्चा छ ।

अब खुमलटारका लागि खतरा के भने, मतदान हुने अवस्था आएमा महासचिव चलाएका कारण सुबोधसँग बढी मत हुनाले उनले जित्छन् । संगठनमा उनको पकड राम्रो मानिन्छ । नेतासँग मात्रै नजिक भएका कारण सुमन अलिक कमजोर मानिन्छन् । सुमनको हार खुमलटारको प्रतिष्ठासँग गाँसिन्छ । सुबोध र सुमन दुबै जनमुक्ति सेनाको चौथो र पाँचौ बटालियनका लडाकु हुन् । सुबोध कालिकोटका र सुमन कास्कीका बासिन्दा हुन् ।

उता, महासचिवमा सिन्धुपाल्चोकका कसम गुरुङ र मकवानपुरका परलोक पाण्डे इच्छुक देखिएका छन् । तर, यो प्रतिस्पर्धा अध्यक्षको जस्तो चर्को छैन । अलिक बलियो दावेदार कसमलाई मानिएको छ । वाइसिएल नेतृत्वमा हालै बादलसँग एमाले भएर फर्किएका वीरु तामाङ (सुदिप) र सुदिप ढुंगानालाई कहाँ व्यवस्थापन गर्ने भन्ने कुराको पनि टुंगो लाग्न बाँकी छ । बादलसँगै एमालेमा गएका युवामध्ये पुष्प श्रेष्ठ र योगेन्द्र लामा उतै छन् । पुष्प युवा संघको उपाध्यक्ष र युथ फोर्सको सहसंयोजक छन् भने योगेन्द्रलाई उपमहासचिव बनाइएको छ ।

सशस्त्र द्वन्द्व लगत्तै यही वाइसिएलको दबदबासँग भिड्न युवासंघ हुँदाहुँदै महेश बस्नेतले युथफोर्स जन्माएका थिए । त्यसैले केपी ओलीलाई सधैं बाटो घाटोमा एस्कर्टिङ गर्न थालेको हो ।

टिप्पणीहरू