सभामुखलाई धम्की दिएको भन्दै बिरोधमा साझा स्वर

सभामुखलाई धम्की दिएको भन्दै बिरोधमा साझा स्वर

सत्ता गठवन्धनका पाँच राजनीतिक दलले सभामुख अग्नि सापकोटामाथि एमाले सांसदहरुको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । गठवन्धनमा आवद्ध नेपाली काँग्रेस,माओवादी केन्द्र,नेकपा (एकीकृत समाजवादी),जसपा र राष्ट्रिय जनमोर्चाले आज संयुक्त विज्ञप्ति जारी गर्दै एमाले सांसदहरुले सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएकोमा आपत्ति जनाएका हुन् ।

‘प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का माननीय सदस्यहरुले सम्माननीय सभामुखज्यूलाई लक्षित गरी दिनुभएको संसदीय मर्यादा विपरित बल प्रयोगजस्ता धम्कीपूर्ण अभिव्यक्ति र विपक्षी दलका नेताले सार्वजनिक मिडियाहरुमा दिनुभएको धम्किमूलक अभिव्यक्तिको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।

कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ,नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठ,जसपाका सांसद प्रदीप यादव र राष्ट्रिय जनमोर्चा सांसद दुर्गा पौडेलले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा सभामुखविरुद्ध एमाले सांसदहरुले दिएका अभिव्यक्ति संविधान र लोकतान्त्रिक प्रणाली विपरित भएको बताइएको छ।‘नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै सङ्घीय संसद्को संरक्षक पनि हो’,विज्ञप्तिमा भनिएको छ, ‘सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरू वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध हुन्,’ संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदहरुको दायित्व हो ।’

सत्ता गठवन्धनले एमाले सांसदहरुका अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न आग्रह पनि गरेको छ । माधव नेपाल पक्षका १४ जना सांसदहरूलाई गरेको कारवाहीको सूचना नटाँसेको भन्दै एमाले सांसदहरु सभामुख विरुद्ध आक्रोशित छन् । कारवाहीका लागि दबाब दिन एमाले सांसदहरुले सभामुखको कार्यकक्ष घेराउ समेत गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीले त सार्वजनिक रुपमै सभामुखको पद खुस्काइदिने जस्ता अमर्यादित टिप्पणी गर्नुभएको थियो ।

टिप्पणीहरू