काबुलबाट अमेरिका उडेको उध्दार उडानमा बच्चा जन्मियो

काबुलबाट अमेरिका उडेको उध्दार उडानमा बच्चा जन्मियो

अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनामा फसेका अमेरिकी र केही अफगान नागरिकको उध्दार गरेर काबुलबाट उडेको अमेरिकी एयरफोर्सको विमानमा एक महिलाले बच्चा जन्माएकी छन् । ती अफगान महिलालाई सुत्केरी व्यथाले च्यापेपछि जहाजलाई जर्मनीमा ल्याण्ड गराइएको थियो भने उनले त्यहिँ बच्चा जन्माएकी हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार आफ्नो परिवारसँगै उडान गरिरहेका बेला उनलाई प्रसवपीडा शुरु भएको थियो । त्यतिबेला आकाशमा हावाको चर्को दबाब बढेपछि विमानसमेत निकै हल्लिएको थियो । अवस्थालाई ध्यानमा राखेर क्याप्टेनले विमानलाई निकै उचाई माथिको उडानबाट तल झारेका थिए ।

त्यसपछि महिलाको अवस्था स्थीर हुँदै गएको बताइन्छ । तर,एक छिनपछि महिलामा रक्तचाप निकै कम देखिएपछि अमेरिकी एयरफोर्सको विमानलाई तत्काल जर्मनीको मध्यभागमा रहेको रामस्टाइन एयर बेसमा अवतरण गराइएको थियो ।

विमान जर्मनीमा अवतरण गरेलगत्तै अमेरिकी सेनाको स्वास्थ्यकर्मी टोली विमानभित्रै छिरेर महिलालाई बच्चा जन्माउन भरमग्दुर सहयोग गरेको थियो । त्यसपछि तत्काल आमा र बच्चा दुवैलाई अस्पताल लगियो ।

अहिले उनीहरुको स्वास्थ्य स्थिति राम्रो रहेको र हाल खतरामुक्त भएको अमेरिकी सेनाको एअरलिफ्ट कमाण्डका प्रवक्ताले जनाएका छन् ।

अमेरिकाले हालसम्म अफगानिस्तानबाट १७ हजारभन्दा बढीको उध्दार गरिसकेको छ । अहिले अफगानिस्तान तालिबानको कब्जामा रहे पनि काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल भने अमेरिकी सैन्यको नियन्त्रणमा रहेको छ ।

 

टिप्पणीहरू