कोइरालाहरुले डाँको छाड्नुको कारण

‘खत्तम पा¥यो नि मोराले भन्दै कोइराला निवासमा रुवावासी शुरु भएको थियो’, नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ–पुत्र सन्देशको गत हप्ता बसुन्धरास्थित दियालो पार्टी प्यालेसमा सम्पन्न वैवाहिक रात्रिभोजमा एउटा प्रसंग निकालेर रामचन्द्र पौडेलले खुच्चिङको लयमा भने ‘अब तिमीहरू पनि त्यसै गरी रोएर बस ।’ उनको कुरा सुन्नासाथ पोहोर शेरबहादुर देउवालाई सभापतिमा जिताउन महत्वपूर्ण भूमिका खेल्ने कृष्णप्रसाद सिटौलाले भने ‘तपाईंले बरु रुने अधिकार राख्नुभो, हामीले त ऐय्यासम्म पनि भन्न पाएनौं ।’

उनलाई समर्थन गर्दै केही हँसिलो पारामा रामचन्द्र बोले– ‘त्यो त हो ।’ रामशरण महत र मिनेन्द्र रिजालसमेत वरपर रहेको सो जमघटमा कसैले प्वाक्क भनेको थियो– ‘डुबायो नि दाजु, देउवाले डुबायो !’ त्यसैलाई बेलुन भर्दै पौडेलले माथिको संवाद बोलेका हुन् । उनले त्यहीं बताएअनुसार, कोइरालाहरुले देउवालाई त्यतिञ्जेलसम्म उकास्दै ल्याए जुन दिनसम्म उनीबाट राजाको पाउमा सत्ता सुम्पने काम फत्ते भएन । ०५९ र ०६१ गरी देउवाले दुई चोटी ज्ञानेन्द्रलाई सत्ता बुझाएपछि कोइराला निवासमा रुवावासी चलेको थियो । सोही सन्दर्भको सम्झना गर्दै रामचन्द्रले थपे– ‘त्यसरी पुलपुल्याईएको मान्छेले धोका दिएपछि कोइरालाहरुले नरोई सुख पाउँथे ? उनीहरुले त्यसपछि बल्ल बरु त्यो बाहुन (पौडेल स्वयं) लाई पत्याएको भए उसले यति ठूलो अपराध त गर्दैनथ्यो कि ? भन्न थालेका हुन् ।’

चितवनमा दिनेश कोइरालालाई शेरबहादुरले मेयरको टिकट दिएपछि रामचन्द्र पौडेलले ‘त्यहाँ सूर्यकान्त घिमिरेलाई दिऊँ, उनी प्रोफेसर भए पनि लड्न, भिड्न पनि पछि नपरेका जुझारु मान्छे हुन् । विद्यार्थीसरह प्रतिपक्षीसँग भिडेका, डिनसम्म भएर पोहोर मात्र अवकाश पाएका हुनाले उनलाई नै ठीक हुन्छ’ भन्दा देउवाले सुनेनन् । आफूखुशी पत्र दिए अनि त्यही दिनेशको उम्मेदवारी चिठ्ठी काटेर खारेज पनि गरे । त्यसपछि फेरि रामचन्द्र उफ्रिए– हिजो मैले सूर्यकान्तलाई दिनुपर्छ भनँे, तिमीले मेरो कुरा सुनेनौ, अब म दिनेशलाई हटाउनु हुन्न भन्छु । निर्वाचन आयोगबाट चिन्ह लिएर माला लगाई मत माग्न हिँडिसकेपछि अर्को चिठ्ठी लेखेर टिकट खोस्नु हुन्छ ? राणाकालको पजनी÷बर्खास्त जस्तो गर्न पाइन्छ !’ त्यही जबर्जस्तीले गर्दा धेरै काँग्रेसले रेणुको सट्टा रुखमै भोट हाले । यता, काठमाडौं मेयरको हकमा रामचन्द्रले नविन्द्रराज जोशीलाई मन्त्री पद छाडेर उठ भनेकोमा उनी नमानेपछि देउवाले प्रकाशमानलाई खुशी पार्न नविन्द्रका दाजु राजुराजलाई टिकट दिएका थिए । तिर्थमान डंगोललाई नै भए पनि उठाउन पाए हुन्थ्यो भन्ने रामचन्द्रको सोच थियो । पोखराको हकमा देवराज चालिसे या नरेशशंकर पालिखेलाई दिऊँ भन्ने रामचन्द्रले चाहेको तर देउवाले पेलेर रामजी कुँवरलाई नै दिएपछि त्यहाँ पनि आपसी अन्तरद्वन्द्वको शिकार चाहिँ परिणाम भएको देखियो । ललितपुरकै हकमा पनि रामचन्द्रले भरत न्याछ्योंलाई बोकेका रहेछन् । 

आउँदो रहेछ यस्तो दिन
गिरिजाप्रसादले नेपाली काँग्रेसलाई आफ्नो सैद्धान्तिक, राजनीतिक र दार्शनिक विचारबाट विचलित गराएर बिगारे भने देउवाले त पूरै रसातलमा नै पु¥याएर छाडे भन्दै काँग्रेसमा चर्को असन्तुष्टि देखा परेको छ । देउवाले माओवादीविरुद्ध लगाएको संकटकाल र टाउकाको मूल्य तोक्ने काम के नक्कली थियो ? अनि देउवालाई कैलालीको जंगलमा बम पड्काएर मार्ने माओवादी योजना पनि के नाटक मात्र थियो ? ०५२ सालमा तिनै देउवालाई ४० बुँदे माग बुझाउँदै माओवादी जंगल पसेको थियो । उनैको पालाबाट शुरु भएको जनयुद्धको अन्त्य दुई पार्टीबीच दीर्घकालिन तालमेल गरेर, गला मिलाएर भएको छ । ०६४ को चुनावमा माओवादीलाई जित्नसक्ने बनाउन यही काँग्रेसले अन्तरिम संसदमा माओवादीलाई एमाले बराबर अर्थात् ८३ सीट दिएको थियो । तर, संविधानसभाको पहिलो चुनावमार्फत् माओवादी ठूलो पार्टी बन्नेबित्तिकै बाँकी ६ वर्षसम्म काँग्रेस उसँग १ दिन पनि सत्तामा सँगै बसेन । छुवाछुतकै व्यवहार देखायो । तर अहिलेको परिदृश्य अर्कै छ ।

काँग्रेसीहरू भन्छन्– नेपाली काँग्रेस मस्तिष्क मृत्यु भएर शरीर मात्र जीवित रहेका नेता चक्र बाँस्तोलाकै हालतमा पुगेको छ । गिरिजाले ०७ सालदेखि आफ्नै पार्टीले धान्दै आएको हिन्दू अधिराज्य र संवैधानिक राजतन्त्रको नीति छाडे, जसले गर्दा त्यो सेन्टिमेन्ट राप्रपातिर गयो । नेपाली काँग्रेसले समाजवादी अर्थनीतिको व्याख्या गरिरहेकोमा पूर्णतया खुला र नवउदारवादी अर्थनीतिलाई स्वीकारियो, त्यहाँ पनि चुक्यो नेपाली काँग्रेस । हुँदाहुँदा ऊ हँसिया–हथौडाको निम्ति मत नमागी सत्ता नपाउने अवस्थामा आइपुग्यो । कसैले सोचेको थियो यस्तो दिन आउला भनेर ?

टिप्पणीहरू