बंगाल कता, कंगाल कता

विवाह उत्सवपछि छोरी अन्माएका थकित बाबुआमा झैं पहिलो चरणको चुनाव भएको भोलिपल्ट सोमबार फुर्सदमा देखिएका प्रधानमन्त्रीले राजपाका मधेसी नेताहरूसँग बालुवाटारमा दुखेसो पोख्न भ्याएका छन् । बिहान ९ बजे पुगेका नेताहरूले शुरुवातमा नै धावा बोले, ‘खै त, यत्रो चुनाव गराउनु भो । केही मिठाई छैन ?’ मुख मीठो पार्ने कुरालाई पन्छाउँदै प्रचण्डले भने– म त डाइबिटिजको रोगी, गुलियो खान्न ।

बिहान साढे सात बजे औषधि लिनुअगाडि नै नास्ता खाइहालें । तपाईंहरू पनि ब्रेकफास्ट लिएरै आउनुभयो होला भन्ठानेर नास्ताको तयारी गरिएन । अब चिया–बिस्कुटले नै काम चलाउनु पर्ने भो ।’ त्यसबीच क–कसलाई के–के रोग छ भन्ने चर्चा चल्यो । राजपाका छ जनामध्ये ४ जनालाई सुगर, प्रेसरको व्यथा रहेछ । राजेन्द्र महतोले पनि औषधि खाँदै गरेको बताए । महन्थ ठाकुरले मलाई त सुगर छ तर कन्ट्रोलमा राखेको छु भने । दुई घण्टासम्मको बसाईमा प्रचण्डले विरह व्यथा पोख्न थाले– ‘एमाले पश्चिम बंगालको सिपिएम जस्तै भयो, उसले मुलुकलाई कंगाल बनाएर छाड्छ । हामीले पनि भारतमा एनडिए, युडिए जस्तै गठबन्धन नबनाई भएन ।’

उनले ‘एमालेले मधेसी र पहाडी कित्ताकाट गरेर मुलुकलाई द्वन्द्वमा हाल्दैछ । यसबाट जोगाउन पनि तपाईं–हामी नमिली भएको छैन । ब्यालेटको आधारमा भए पनि सबै मिलेर उसलाई एक्लो पार्नुपर्छ ।’ भन्दै कुरा अगाडि बढाए, ‘म बेइमानी गर्दिन । देउवाजीलाई सरकार छाड्छु । त्यसपछि पनि नयाँ सरकार गठनलाई १०/१२ दिन लाग्छ । बजेटमा नयाँ कुरा थप्ने होइन । पुरानैलाई निरन्तरता दिने हो । अबको बजेट र सरकार दुवै कामचलाउ हुन्छन् । राप्रपाले संशोधनलाई सहयोग गर्छु भनेको छ तर के गर्छ थाहा छैन, कुरा गर्नुपर्ने छ ।’

उनले पुरानो कुरा सम्झिए, ‘३ बुँदे सहमतिको जगमा बनेको सरकार हो यो । क्याबिनेटबाट कार्यविधि बनाएर तपाईंहरूका मागमा हुनसक्ने सबै काम गरिएको छ । क्षतिपूर्ति, शहीद, मुद्दा फिर्ता लगायतका निर्णय भइसके । बाँकी कुरा क्याबिनेटले टुंग्याउँछ ।’ उनले स्थानीय तहको संख्या वृद्धिबारे भने, ‘विजयजी त्यसमा लाग्नुभएको छ । मैले त वैशाख १७ गते नै संविधान संशोधन पनि सक्न खोजेकै हो तर एमालेको षड्यन्त्र र राप्रपाका १२÷१३ जना सांसद हराएको कारण त्यो काम गर्न सकिएन ।’ उनले गठबन्धनबारे भने– ‘यो गठबन्धनलाई तल–माथि गर्दिन । अर्को चुनावसम्म यसैलाई निरन्तरता दिने हो ।’ 

टिप्पणीहरू