हुँदैन रहेछ मात्रै हाहाले

न संगठन, न पार्टी अफिस, न त चुनावी कार्यालय । जो जो पक्षमा भोट माग्दै ‘हा–हा, हो–हो’ गर्दै हिँडेका छन्, तिनीहरूमध्ये अधिकांशको मतदाता नामावलीमा नामै छैन । यस्तो देखियो नयाँ दलहरूको अवस्था । नयाँ शक्ति, विवेकशील नेपाली, साझा पार्टीहरूको चर्चा त ठूलै हो तर सबैतिर यिनका उम्मेदवार नहुँदा फेरि पनि स्थानीय सरकार काँग्रेस, एमाले, माओवादीजस्ता पुरानै पार्टीहरूको हातमा आएको छ । यही बेला १०÷१२ दिनदेखि सिके राउत बिहारको पूर्णियातिर आफ्नै दौडधुपमा छन् । अहिलेको ट्रेण्ड हेर्दा ठूला दलले अझै केही समय एकछत्र राज गर्ने देखिन्छ । उनीहरूप्रति जनताका गुनासा जति भए पनि उपेक्षा गरेको र अपेक्षा मरेको रहेनछ ।

नत्रभने सामाजिक सञ्जालको प्रचारवाजी हेर्दा, पढ्दा, सुन्दा काठमाडौंको मेयरमा पुरानाको कुनै दाल नगल्नु पर्ने थियो । त्यसो त सामाजिक सञ्जालको कतिसम्म दुरुपयोग यसबेला भएको पाइयो भने चुनावकै दिन चर्चित फिल्मी अभिनेता राजेश हमाल नवलपरासीको चोरमारामा भारतीय नम्बर प्लेटको गाडीले पछाडिबाट ठक्कर दिँदा घटनास्थलमै मरेको हल्लासमेत आयो । त्यसैगरी दुई वर्षअघि भूकम्प गएको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको संबोधन र प्रतिक्रियालाई अहिलेकै भनेर छ्यापछ्याप्ती पारियो । जसको उद्देश्य नेपालका वामपन्थीहरूलाई तर्साउनु थियो । ०७० सालको चुनावमा राप्रपाले ल्याएको २५ सिट समानुपातिकको प्रतिफल थियो । मतदाताहरूले दुईथरि मतदान गर्न पाउँदा विकल्पको रुपमा राप्रपालाई त्यति मत दिएका थिए । तर अहिले सबै मत प्रत्यक्षमा दिनुपर्ने प्रावधान रह्यो । त्यसैले सबैले आफूले छानेको दललाई नै मत हाले, साना दललाई विकल्पको रुपमा मत दिने अवस्था नै रहेन । त्यतिबेला राप्रपा, विश्वेन्द्र पासवान, प्रेमबहादुर सिंह, मधेसी दलहरूले समानुपातिक मत पाएका थिए ।

मधेशमै कूल ११६ सिटमध्ये प्रत्यक्षतर्फ ११ बाहेक नजित्दा पनि ५४ सिट मधेसी दलले पाएका थिए । त्यसैले के भन्न सकिन्छ भने इस्यु जतिसुकै स्पष्ट र राम्रा भए पनि साना दललाई अहिले नै पत्याइहाल्ने अवस्थामा मतदाता देखिएनन् । भारतमा नै नेशलन कँग्रेस बनाएका नारायणदत्त तिवारी, शरद पवारले काँग्रेस आईको विकल्प खोजेको होइन र ? तर भविष्य बनाउन सकेनन् । यस्ता कुरामा नयाँ दल खोल्ने सबैले लहडी नबनी सचेत हुनुपर्ने रहेछ । 

टिप्पणीहरू