कति सम्भव छ कमरेडहरुवीच कुरा मिल्न ?

कति सम्भव छ कमरेडहरुवीच कुरा मिल्न ?

माधव नेपालको बिद्रोहलाई साथ नदिएका एमाले तेस्रो धारका नेताहरु अध्यक्ष केपी ओलीसँग छलफलमा जुटेका छन् । यसअघि माधव नेपाल समूहमा रहेका तर नयाँ पार्टीमा सहभागी नभएका स्थायी कमिटीका नेताहरु छलफलका लागि ओली निवास बालकोट पुगेका हुन् ।

अध्यक्ष ओली र माधव नेपाल दुवैतिर नलागेका तेस्रो धारका नेताहरु पार्टी एकता जोगाउन १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने अडानमा छन् । त्यहि विषयमा छलफल गर्न उनीहरु बालकोट पुगेका हुन् । ओलीसँगको छलफलमा भीम रावल,युवराज ज्ञवाली,सुरेन्द्र पाण्डे,गोकर्ण बिष्ट, भीम आचार्य ,रघु पन्तलगायतका नेताहरु सहभागी रहेको बताइएको छ । उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य भने भर्खरै बालकोटबाट बाहिरिनु भएको छ । माधव नेपाललाई भेट्न शाक्य बैठकबाट बाहिरिएको हुनसक्ने अनुमान गरिएको छ ।

माधव नेपालले एमालेबाट बिद्रोह गरेर नयाँ दल दर्ताका लागि निवेदन दिएपछि सो समूहबाट पनि अलग भएका र ओलीतिर पनि नफ़र्किएका नेताहरु अझै पनि पार्टी एकताका लागि भन्दै छुट्टै छलफलमा छन् । तेस्रो धार निर्माण गरेका नेताहरुको अस्तिको बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष अ‍ोलीलाई बुधबारसम्मको अल्टिमेटम दिएको थियो । उनीहरुले १० बुँदे कार्यान्वयन नगरे ठूलो बिद्रोह हुने चेतावनी पनि दिएका थिए ।

“बाग्मती प्रदेशमा बादललाई ईञ्चार्ज बनाइएको छ,जबकि जेठ २ मा फर्कंदा अष्टलक्ष्मी शाक्यलाई ईञ्चार्ज बनाउनुपर्ने हुन्छ । १ नम्बर प्रदेशमा सुवास नेम्वाङलाई ईञ्चार्ज बनाइएकोमा भीम आचार्य स्वत: ईञ्चार्ज हुने अवस्था बन्छ । सबैभन्दा किचलो सुदूरपश्चिम प्रदेशमा हुने देखिन्छ । एकता अगाडि र नेकपा हुँदा पनि भीम रावल त्यहाँको ईञ्चार्ज हुनुहुन्थ्यो । ओलीले लेखराज भट्टलाई उक्त जिम्मेवारी दिनुभएको छ । “

यता,बुधबार नै निर्वाचन आयोगमा दल दर्ताका लागि माधव नेपालले दिएको निवेदनको हस्ताक्षर सनाखत हुँदैछ । त्यसअघि नै पार्टी मिलाउन भन्दै तेस्रो धारको दौडधुप बढेको हो । तर,ओली र नेपालले भने उनीहरुको अल्टिमेटमको बेवास्ता गर्नुभएको छ । अध्यक्ष ओलीले पार्टीमा बार्गेनिङ्ग नचल्ने जवाफ फ़र्काइसक्नु भएको छ । १० बुँदे कार्यान्वयनमा गैसकेकाले पार्टीमै आएर छलफल गर्न सकिने ओलीको भनाइ छ । नेता नेपालले पनि आफूले नयाँ पार्टी दर्ता प्रक्रिया शुरु गरिसकेकाले फेरि एमालेमा फर्किने सम्भावना नरहेको प्रष्ट पार्नुभएको छ ।

तेस्रो धारका नेताहरुले ठूलो विद्रोहको चेतावनी दिएपछि ओलीको अनिच्छाका बाबजुद उहाँ निकट केही नेताहरुको तारतम्यमा आजको छलफल आयोजना गरिएको बताइएको छ । बताइएअनुसार अध्यक्ष ओली १० बुँदे कार्यान्वयनका लागि तयार भएपनि माओवादीबाट आएका रामबहादुर थापा बादलसहितका नेताहरुलाई अहिलेको जिम्मेवारीबाट बाहिर राख्न सहमत हुनुहुन्न । तर,१० बुँदे कार्यान्वयन हुँदा एमालेका सबै सांगठनिक संरचना २०७५ जेठ २ अर्थात् माओवादीसँग एकता हुनुपूर्वको अवस्थाअनुसार क्रियाशील हुन्छ । त्यस्तो अवस्थामा ओलीले फागुन २३ पछि गरेका सबै निर्णय स्वत: निस्क्रिय हुने स्थिति आउँछ ।

जस्तो बाग्मती प्रदेशमा बादललाई ईञ्चार्ज बनाइएको छ,जबकि जेठ २ मा फर्कंदा अष्टलक्ष्मी शाक्यलाई ईञ्चार्ज बनाउनुपर्ने हुन्छ । १ नम्बर प्रदेशमा सुवास नेम्वाङलाई ईञ्चार्ज बनाइएकोमा भीम आचार्य स्वत: ईञ्चार्ज हुने अवस्था बन्छ । सबैभन्दा किचलो सुदूरपश्चिम प्रदेशमा हुने देखिन्छ । एकता अगाडि र नेकपा हुँदा पनि भीम रावल त्यहाँको ईञ्चार्ज हुनुहुन्थ्यो । ओलीले लेखराज भट्टलाई उक्त जिम्मेवारी दिनुभएको छ । आफूलाई अप्ठेरो अवस्थामा साथ दिएको भन्दै ओली बादल र भट्टलाई हटाउन चाहनुहुन्न ।

कर्णालीमा इञ्चार्ज बनाइएका मणि थापा पनि पूर्व माओवादीका नेता हुन् । १० बुँदे कार्यान्वयन हुँदा युवराज ज्ञवाली त्यहाँको ईञ्चार्ज हुनुपर्छ । त्यस्तै,१० बुँदे कार्यान्वयन हुँदा गण्डकीमा पनि विवाद आउने देखिन्छ । त्यहाँ एमालेका पुराना नेता किरण गुरुङ ईञ्चार्ज हुँदाहुँदै उहाँलाई हटाएर पृथ्वीसुब्बालाई इञ्चार्ज बनाइएको थियो । मुख्यमन्त्री र पार्टीको ईञ्चार्ज दुवै जिम्मेवारी सुब्बालाई दिएपछि त्यतिबेलै असन्तुष्टि बढेकोमा अहिले थप चर्किएको बताइन्छ ।

ओली पक्षका एक नेताले १० बुंदेका नाममा बादलहरुलाई बाहिर राखेर जाने कुरा कल्पना पनि गर्न नसकिने प्रष्ट पारे । ओलीसमेत त्यहि अडानमा रहेकाले तेस्रो धारका नेताहरु त्यसमा सहमत भए अन्य कुरा मिलाउँदै जान सकिने उनको भनाइ छ ।

तेस्रो धारका नेताहरु भने १० बुँदे अक्षरश: पालना हुनुपर्ने अडानमा छन् । ‘पार्टी जेठ २ मा फर्किनुपर्छ, माधव नेपालसहित १४ जनामाथि गरिएको कारवाही निशर्त फिर्ता लिनुपर्छ र पार्टी एकता कायम राख्नुपर्छ,यो हाम्रो बटमलाइन हो। हामी अन्तिमसम्म यसमा प्रयत्न गर्छौँ’, एक नेताले भने ।

टिप्पणीहरू