माटोको माया नछाड, लडाइँ नछाड « Jana Aastha News Online
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022

माटोको माया नछाड, लडाइँ नछाड

प्रकाशित मिति :  ७ जेष्ठ २०७४, आईतवार १७:००


  • नारायण नेपाल 

पहिलो चरणको चुनावी रणसंग्राम सकिएको छ । आफैंले बहिष्कार गरेको २० वर्षपछि प्रचण्ड उही निर्वाचन गराउने ठाउँमा बसेका छन् । संसद्वादको हावाहुरी बेजोडले चलेको छ । यस्तो बेला दृढतापूर्वक त्यसको प्रतिरोध र विरुद्धमा एउटा सशक्त हिस्सा उभिएको छ । संसद्वादीहरू जीवन–मरणको युद्ध लड्दै छन् । तर, नेपाल कम्युनिस्ट पार्टीले विस्फोट र गिरफ्तारीको श्रृंखलामाझ आफ्नो मिसन अघि बढाएको छ ।

सरकारको पहिला निशानामा धेरै सञ्चारमाध्यम र पत्रकार परेका थिए । गुनासो गर्न जानेलाई गृहमन्त्रीले निर्वाचनविरोधीहरू देशद्रोही हुन् भन्दै  उपदेश दिए । राजनीति आस्था र निष्ठाले गरिन्छ । फाइदाका लागि त व्यापार गरे भइगो नि ! सिद्धान्त र दर्शनको बहस नेपालका संसद्वादी राजावादी कोहीसँग बाँकी रहेन भन्ने कुरा दिनको घामझंै छर्लंग छ । सत्यको जित होइन, जित्नेहरू सत्य ठानिनेछन् । केहीले जितेका छन् । धेरैले हारेका छन् । तर, जसले जिते पनि देशले हारेको छ । जनताले हारेका छन् । दलालहरूको एजेण्डाले जितेको छ । विचारविहीन झुण्डमा संसद्वादी दल रूपान्तरण भएका छन् । स्थानीय निर्वाचनमा अचम्मैसँग प्रचण्डले रूखमा भोट हालेका छन् । केपी ओलीले गाईलाई, कमल थापाले सूर्यमा भोट हाल्न लगाएका छन् । राजनीतिमा वर्गदुस्मन ठानिएका कांग्रेसीजनले हँसिया–हथौडालाई भोट मागेका छन् । 

मोदी सरकारले छत्तिसगढको बस्तर गाउँमा गरेको अत्याचार तथा नेपालमा नेकपा र विप्लव समर्थकमाथि प्रचण्ड सरकारको दमन उस्तै छ । जसरी मकडम हिडमेलाई बलात्कारपछि हत्या गरेर कम्ब्याक्ट लगाई जंगलमा फालियो र भिडन्तको हल्ला मच्चाइयो, त्यस्तै यता नेपालमा पनि निःशस्त्र कार्यकर्ता समात्यो, गोली–गठ्ठा भिरायो र पत्रकार सम्मेलन गर्दै हतियारसमेत बरामद भएको प्रचारबाजी गरियो । रातो खबर पत्रिका र साहित्यिक पुस्तकलाई समेत आतंककारी दस्ताबेजको रूपमा चित्रित गर्दै छापा मार्ने घेरा हाल्ने लुकामारी चलिरह्यो । 

सत्ताधारी दलका कार्यकर्ता–कार्यकर्ताले गोली हानाहान र पैसा फालाफाल गर्दै एकअर्काको ज्यानै लिनेसम्म हर्कत गर्न भ्याए । दोलखा, काभ्रे, भोजपुरलगायत धेरै स्थानमा त्यस्तै देखियो । सरकारभन्दा विरोधीहरू निकै अनुशासित र व्यवस्थित देखिन्थे, निरन्तर गतिमा थिए । कुनै मानवीय क्षति गरेनन् । निरन्तर विद्रोह गरिरहे, विद्युतीय गतिमा धमाकाहरू दिइरहे । मूलधारको भनिएका कर्पोरेट मिडियाले सत्ताको दलाली गर्दै जति ढाकछोप गरे पनि जनप्रतिरोधको घटना सामाजिक सञ्जालको प्रयोगले एकाएक भाइरल बने । विप्लवका कार्यकर्तालाई ताकेको प्रचण्ड सरकारको गोलीले राप्रपा कार्यकर्ता मारिए । आजको सरकारी हिंसाको प्रत्युत्तर दिने दिन क–कसको होश हराउला के थाहा ? विपरीत प्रतिक्रिया विज्ञानकै नियम हो । 
पहिलो चरणमा ३४ जिल्लामा निर्वाचन भयो र नयाँ संविधान लागू भएको देखियो– ४१ जिल्ला बाँकी छ । आधा काँचो, आधाचाहिँ पाक्यो भनेझंै रोगी संविधान ०७२ ले देशलाई द्वन्द्व र अराजकताको भुमरीमा हालेको छ । संविधान आधा लागू भएको देखाइएको छ । संसद्वादी दलले स्थानीय निर्वाचनले देशमा स्थिरता र विकास ल्याउने दाबी गरिरहेका छन् । संविधान र संघीयता कार्यान्वयनको नारा उरालिरहेका छन् । देश रोज्ने कि संसदीय व्यवस्था भन्ने अवस्था छ । हामीलाई यो संसदीय व्यवस्था बचाउन के खाँचो ?

स्थानीय तहमा संख्या निर्धारणको बहस शुरु भएको छ । के आधारमा थपिन्छ फेरि स्थानीय तह पहाडमा लागू नहुने र तराईलाई मात्र ! निर्वाचन भएका स्थानमा पनि फेरबदल गरिहेरे हुन्छ । त्यसोभए फेरि मेयर र अध्यक्षहरूको पद धरापमा पर्नेछ । 

हिजो तीनकुनेमा हरहर मोदीको नारा लगाउने र बानेश्वरमा ताली ठटाउनेहरू आज भारतबाट आयातित बिजुलीमा राजधानी शहर लोडसेडिङ मुक्तको नारा उरालेर पुरुषार्थ देखाउन खोज्दै छन् । प्रतियुनिट दुई रुपैयाँमा बिजुली बेच्ने र आठ रुपैयाँमा किन्नेहरूको नाटकै धेरै । द्रुतमार्ग सेनालाई दिएपछिको भारतीय सन्तुलन प्राधिकारको एलइडी बल्व काण्ड हो कि ! बल्वकाण्डको चेपुवामा कुलमानको त रुवाबासी मात्र भयो, इतिहासमा प्रधानमन्त्री भीमसेन थापाले अपमानित भएर बाग्मतीको तीरमा आत्महत्या गरेको र सेनापति अम्बर सिंहले गोसाइँथानमा गएर आत्महत्या गरेको देश पनि यही नेपाल होइन र ! 

अब नेकपाको यात्रा समानान्तर सत्तातिर लाग्ने देखिन्छ । निर्वाचनका बुथ उच्च जोखिममा छ भन्दै धेरैलाई उच्च निगरानीमा राखिएको छ । भेट्नेबित्तिकै समात्नू, रोक्न खोजे सिधै गोली हान्न आदेश दिएर सरकारले आतंक सिर्जना गर्दै छ । सात सालमा प्रजातन्त्र आउँदाको उल्लास र सत्र सालमा प्रजातन्त्र जाँदाको दीपावलीलाई देखेर होला कुनै समय गणेशमानले भनेका थिए, काठमाडांैका जनता प्रजातन्त्र आउँदा पनि हर्षाेल्लास गर्छ, जाँदा पनि हर्षबढाइँ गर्छ । 


प्रतिक्रिया दिनुहोस !