बिरोध खतिवडालाई आफ्नै घरमा भ्याइ नभ्याइ

बिरोध खतिवडालाई आफ्नै घरमा भ्याइ नभ्याइ

केपी शर्मा ओलीले पटक पटक कारबाही गरे पनि त्यसैगरी फिर्ता लिइएका एमाले नेताहरुको हिट लिस्टमा पर्ने केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य बिरोध खतिवडा देउवा नेतृत्वको सरकार बनेपछि पहिलोपटक गृहजिल्ला तथा बाग्मती प्रदेश राजधानी हेटौँडा पुग्नुभएको छ ।

शुक्रबार साँझ हेटौँडास्थित घरमा उहाँ राजनीतिक भेटघाट, प्रशिक्षण र पार्टी निर्माणबारे निकै व्यस्त देखिनुहुन्थ्यो । काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गरी ओली सरकारलाई विस्थापित गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर २२ जना सांसदमध्ये उहाँ पनि एक हुनुहुन्छ । मतदानपछि उहाँ पहिलोपटक गृहजिल्ला पुग्नुभएको हो ।

पछिल्लो समय भीम रावल, घनश्याम भुसालसहितका नेताहरु अध्यक्ष ओलीप्रति नरम बनेको खबर आइरहँदा कडा रुपमा ओली प्रवृत्तिविरुद्ध डटेर लागेका खतिवडा आज राजधानी फर्कने सुरसार गर्दै हुनुहुन्छ । उहाँकी श्रीमती समेत रहनु भएकी नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलका अनुसार खतिवडाले छोटो अवधिको हेटौँडा बसाईका क्रममा १२ सय जनाभन्दा बढी नेता तथा कार्यकर्तासँग घरमै भेटघाट गर्नुभएको छ ।

पार्टी सचिवालय तहका सदस्य, जनप्रतिनिधि,जिल्ला सदस्य,युवा संघका कार्यकर्ता,अनेरास्ववियुका अगुवा,पत्रकार मोर्चा,महिला मोर्चालगायतसँग भेटघाटमा खतिवडा व्यस्त हुनुभएको हो । कोरोना महामारीका कारण प्रशासनले भीडभाड नगर्न र पार्टी प्यालेसहरुमा कार्यक्रम गर्न रोक लगाएका कारण घरमै समयतालिका मिलाएर उहाँले राजनीतिक भेटघाट र वैचारिक कार्यक्रमको व्यवस्थापन गर्नुभएको पारिवारिक स्रोतले बताएको छ ।

भेटघाटमा उहाँले एमाले अध्यक्ष ओलीका कारण पार्टी फुटेको, केही साथीहरु अझै पार्टी मिलाउने भन्दै हिँडिरहे पनि केपीले उनीहरुलाई समेत अलपत्र पार्ने तयारी गरेको उहाँले जानकारी गराउनुभएको थियो । खतिवडाले ढिलोमा भदौ १५ गतेसम्म नेकपा एकीकृत समाजवादी पार्टी गठन हुने र त्यसको १५ दिनभित्र राष्ट्रिय सम्मेलन गरी राजनीतिक र सांगठनिक प्रतिवेदन पारित हुने समेत बताउनुभएको छ ।

७७ वटै जिल्ला र ७ सय ५३ वटै स्थानीय तहका वडाहरुमा समेत पार्टी निर्माण गर्ने तयारीमा नेताहरु जुटेको भेटघाटमा सहभागी कैलाश गाउँपालिका अध्यक्ष एवम् नेकपा एकीकृत समाजवादीका नेता टंकबहादुर मोक्तानले बताउनुभयो ।

तत्कालीन नेकपा एमाले मकवानपुरमा मुनु सिग्देल १ मतले विजयी भएसँगै मकवानपुरमा माधवकुमार नेपाल नेतृत्वमा पार्टी सञ्चालन भएको हो । नेकपा माओवादी केन्द्र र एमाले मिलेर नेकपा बनेपछि पनि सिग्देल नै अध्यक्ष हुनुभएको थियो । तर, अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई अलग बनाइदिएपछि ओली पक्षले तत्कालीन सचिव एकलाल श्रेष्ठलाई एकतर्फी रुपमा अध्यक्ष तोकेर गतिविधि गर्दै आएको छ ।

त्यसपछि माधव नेपाल पक्षले पनि युवा,विद्यार्थी,महिला,मजदुर सबै मोर्चालाई पुनर्गठनको लागि तयारी हालतमा राखेको हो । सिग्देलकै अध्यक्षतामा यसअघि जिल्ला कमिटीको बैठक नियमित रुपमा भइरहेको छ ।

टिप्पणीहरू