​कठै, सडक–सडक चहार्नुको कन्तबिजोग « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

​कठै, सडक–सडक चहार्नुको कन्तबिजोग

प्रकाशित मिति :  २३ बैशाख २०७४, शनिबार १२:४७


सिन्धुलीको एउटा गरिब परिवारमा जन्मेर हुर्किएको मान्छे । रहरै रहरमा प्रहरीको जागिर खाइयो । दशकभन्दा बढी भयो ट्राफिक प्रहरीको रूपमा सडकमा खटिएको । जागिरे जीवनमा यस्ता सानातिना आरोह–अवरोह त आइरहन्छन् । विनालाइसेन्स सवारीसाधन चलाउने, लाइसेन्स माग्दा कुटपिट गर्ने/धम्क्याउने, ड्युटीमा खटिएका महिला ट्राफिक छन् भने जिस्क्याउने, कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ।

तर, त्यो दिन जे भयो मैले कल्पनै नगरेको कुरा मेरो जीवनमा आइपुग्यो । सातदोबाटो प्रहरी चौकीले खटाएअनुसार बिहीबार ललितपुरको कुमारीपाटीमा ट्राफिक व्यवस्थापन गर्न खटिएको थिएँ । यस्तै त हो ट्राफिकको जिन्दगी न घाम भन्न पाउनु छ न पानी । खटिनै पर्छ अहोरात्र ड्युटीमा । दिउँसोको चर्काे घाम, धुलो सहँदै ड्युटीमा खटिएको थिएँ मेरो कार्यक्षेत्र थियो कुमारीपाटी ।
सवारीचालकको थोरै मात्र लापरबाहीका कारण यातायात ठप्प हुन्छ । त्यसमा जिम्मेवार चालककै हुन्छ । उनीहरू थोरै मात्र सचेत भएर सवारीसाधन चलाएको खण्डमा अरूले सास्ती पाउँदैनथे । तर, सडकमै आएपछि हतार हुन्छ हामी सबैलाई । 

दिउँसो मेरो कार्यक्षेत्र तोकिएको क्षेत्रमा सवारी आवागमन ठप्प भयो । त्यहाँ पार्किङ निषेध लेखिएको ठाउँमा कार पार्किङ गरिएको थियो । त्यही कारण त्यहाँका सडक अवरुद्ध भइरहेको थियो । त्यही कारण त्यहाँ कोलाहल मच्चियो । जथाभावी हर्न बज्न थाल्यो । मोटरसाइकल, माइक्रोको हर्नका कारण अनावश्यक ध्वनि प्रदूषण भइरहेको थियो । रोकिराखेको कारमा कोही देखिएन । मेरो जिम्मेवारी थियो जसरी भए पनि उक्त कारलाई त्यहाँबाट हटाएर सवारी सुचारु गर्नु । मैले सिठी बजाउँदै कार चालक खोजे, भेटिन । त्यतिकैमा नजिकैको एउटा फेन्सी पसलबाट चालक आइरहेको देखे । मैले नम्र भएर भने ‘पार्किङ निषेधित क्षेत्रमा किन पार्किङ गर्नुभएको ? 

हेर्नुहोस् त तपार्इंले जथाभावी गाडी पार्किङ गर्दा कस्तो सवारी जाम भएको, साराले दुःख पाएको । उनी केही बोलेनन् । आफ्नो गल्ती स्विकार्नुको उल्टो ती त मलाई घुरेर पो हेर्न थाले । मान्छेहरू ठान्दा हुन मौनताले अपराध ढाकछोप गर्न सकिन्छ । मेरो ड्युटी थियो सवारी आवागनमा बाधा पु¥याएको कारण उनको सवारी साधनको कागजपत्र छ÷छैन जान्नु । मागे । उल्टै जो चोर उसकै ठूलो स्वर भनेझंै उनी प्रस्तुत भए । भने नयाँ गाडी हो÷नयाँ । देख्नुभएन छुँदैमा दाग लाग्लाजस्तो छ ? उनले गाडीको बिलबुक नआएको सुनाए । गाडी किनेको रसिद पो देखाए । ट्राफिक नियमानुसार यस्तो रसिदले काम गर्दैन र ट्राफिकले रसिद हेरेको भरमा तिनलाई उन्मुक्ति दिन पनि मिल्दैन । तर्क तेस्र्याउँदै, ऐन कानुन सम्झाउँदै मैले यस्तो रसिद लिन नमिल्ने बताएँ, तिनी मौन बसे । बिलबुक नभए लाइसेन्स देखाउनुहोस् । मैले लाइसेन्स खोजे । उनीसँग त लाइसेन्स पनि रै न छ ।

विनालाइसेन्स सवारीसाधन चलाउन मिल्दै मिल्दैन । तर, उनी निर्धक्क गाडी चलाइरहेका थिए । उल्टै पार्किङ गर्न नमिल्ने ठाउँमा गाडी पार्किङ गरी ट्राफिक प्रहरीलाई हकारिरहेका थिए । मैले उनलाई ट्राफिक प्रहरी कार्यालय हिँड्न आग्रह गरे । नियमानुसार मैले तपाईंलाई अब छाड्न मल्दैन । मैले उनलाई भनेको यति नै हो । हामीबीच गलफत्ति चलिरहँदा एक जना महिला र उनकी छोरीजस्ती देखिने युवती कारमा आएर बसिसकेका थिए । चालक भने ट्राफिक प्रहरी कार्यालय जान मानिरहेका थिएनन् । मसँग अर्काे विकल्प थिएन । सोही कारको अगाडि गएर उभिएँ । 

पछि उनी जावालाखेल प्रहरी चौकी जान राजी भए । हामी कुमारीपाटीबाट जावलाखेलतिर अगाडि बढ्यौं । म आफैं सो गाडीमा चढेको थिए । उनले एनसेलको कार्यालय अगाडिबाट लगनखेलतिर घुमाए । र, मलाई गाडीबाट ओर्लन पो निर्देशन दिएँ । तपाईंहरूलाई ट्राफिक कार्यालय नलगी छाड्न मिल्दैन, झगडा नगर्नुस्’ मैले नम्रता प्रकट गरिरहँे । मैले नम्रपूर्वक बोलेको थिएँ । पछाडिपट्टि सिटमा बसेको महिलाले गाडीबाट ओर्लेर मेरो कठालो समाइन् । उल्टै मलाई हातपात गर्दै फुटपाथमा लगेर पछारिन् । उनको ज्यान भीमकाय थियो । म लिखुरे, उत्तानो परिहालें । मलाई भुइँमा लडाएर ती महिला कारमा चढिन् । चालकले कार अघि बढाउन खोज्दै थिए । कोही नहुनेको भगवान भनेझैं त्यतिखेर मेरा लागि भगवान बनेर उदाए एकजना मोटरसाइकल चालक । 

उनले देखिरहेका रहेछन् म माथि ती महिलाले गरेको दुव्र्यवहार । कारबाहीबाट बच्न मलाई बीच सडकमै लडाएर भाग्न खोजेपछि मलाई सहयोग गर्न ती मोटरसाइकल चालक अघि सरे । उनले आफ्नो मोटरसाइकल गाडी अगाडि तेस्र्याए । ताकि उनीहरू भाग्न पाएनन् । चालकले अर्काे चलाखी ग¥यो । कार पछाडि ब्याक गर्न खोज्यो तर पछाडि टेम्पो थियो । त्यो कार टेम्पोमा ठोकियो । त्यहाँ ममाथि भएको दुव्र्यवहार र कार चालकको रौरव प्रवृत्ति हेर्न एकै क्षणमा भीड लाग्यो । त्यहाँ भेला भएका मान्छे ऊ त्यही हो कारमा बस्ने आइमाई बर्दीको पुलिसलाई कुट्ने भन्दै कराउन थाले । त्यतिन्जेलसम्म म उठिसकेको थिएँ । भन्छन् भीडको बुद्धि हुँदैन । उनीहरूलाई कुटपिट गर्ने र गाडी जलाइदिनेसम्मको धम्की दिन थाले । मैले उनीहरूलाई सम्झाएर शान्त पार्ने प्रयास गरें । त्यहाँका भीडमध्येबाट कोहीले प्रहरीकहाँ खबर पु¥याइसकेका रहेछन् । मैले आफ्नो वृत्तको असई सापलाई फोन गरेँ । 

एकैछिनमा प्रहरी आएर हामीलाई जावलाखेल ल्यायो । मलाई कुट्ने महिला अमेरिका बस्दै आएकी शोभा कार्की रहिछन् । अमेरिकी नागरिकतासमेत लिइसकेकी उनी आफन्त भेट्न नेपाल आएको भन्ने थाहा पाएँ । कार चालक रहेछन् नुवाकोटका प्रकाश राई । पछि सुनें ममाथि हातपात गर्ने महिला तथा गाडीचालकलाई प्रहरीले त्यत्तिकै छाडिदियो । उनीहरूलाई छुटाउन नुवाकोटतिरकै कांग्रेस नेता (जगदीशनरसिंह केसी) प्रहरी कार्यालय पुगे भन्ने पनि सुनियो । बहाना बनाइयो चालक राई मानसिक रोगी भएको र औषधि सेवन गरिरहेको । मान्छेहरू करोडौं पर्ने कारमा हुइँकिन्छन् तर तिनका इमान, इज्जत र सोमत भने पाँच रुपैयाँको पनि हुँदैन । यस्तै स्वभावकी रहिछन् शोभा कार्की । सायद नेताको आडभरोसा पाएर होला, चालक पनि यतिविध्न मैमत्त भएको । प्रहरी प्रशासन कतिसम्म निरीह छ भने एक जना ड्राइभर जोसँग चालक अनुमतिपत्र छैन । ट्राफिक प्रहरीमाथि हातपात गर्छ । त्यस्तालाई एक जना नेताको दबाबमा छाडिदिनुपर्छ । फेरि पनि सर्वसाधारण प्रहरीमाथि नै आरोप लगाउँछन् । प्रहरीले केही नगरेको भन्दै । ममाथि यो दुव्र्यवहार भयो । तर, परिवारका कुनै पनि सदस्यलाई यसबारे थाहा दिएको छैन । कारण ड्युटीमा खटिँदा यस्ता खालका घटना भइहन्छन् । 

– कमलप्रसाद घिमिरे, प्रहरी जवान


प्रतिक्रिया दिनुहोस !