आज गाईजात्रा तर औपचारिक र बिरोध कार्यक्रमहरु पनि जारी

आज गाईजात्रा तर औपचारिक र बिरोध कार्यक्रमहरु पनि जारी

आज काठमाडौंमा गाईजात्रा पर्वको सार्वजनिक विदा दिइएको छ । मुलुकभरका नेवार समुदायलाई पनि यो वर्ष बिदा दिने सरकारले निर्णय गरेको छ । तर, आज पनि विभिन्न राजनीतिक दल र संघ संस्थाले बिरोधका कार्यक्रम राखेका छन् ।

नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध हुँदै आएको धर्ना कार्यक्रम आज पनि जारी छ । बारा र धनुषामा क्रियशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध झण्डै डेढ महिनादेखि पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा हुँदै आएको धर्ना आज पनि बिहान ९ बजेदेखि सुरु भएको हो ।

गाईजात्रा २०७८ को अवसरमा आज मुलुकका चर्चित हाँस्यकलाकारहरुसँग गाईजात्रा विशेष साक्षात्कार कार्यक्रम राखिएको छ । रिपोर्टर्स क्लब नेपालमा बिहान १० बजे उक्त कार्यक्रम राखिएको बताइएको छ ।

उता, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोक, सुनकोशी, काठमाडौं सम्पर्क समन्वय समितिले आज भेला तथा दोस्रो सम्मेलन कार्यक्रम राखेको छ । पार्टी कार्यालय पेरिस डाँडा, कोटेश्वरमा बिहान ११ बजे उक्त कार्यक्रम राखिएको हो ।

नेपाली काँग्रेस तरुण विभागले साढे ११ बजे छलफल तथा गोष्ठी कार्यक्रम राखेको छ । पार्टीको १४ औं महाधिवेशनको सफलताका लागि अनुपम फुडल्याण्ड, बत्तिसपुतलीमा परिचयात्मक र छलफल कार्यक्रम राखिएको बताइएको छ ।

नेशनल प्याब्सनले मोती जयन्तीको अवसरमा दुई दिने कविता लेखन तथा वाचन प्रतियोगिता गर्ने भएको छ । रिपोर्टस क्लब नेपालमा आज दिउँसो १२ बजे सोबारे जानकारी दिइने बताइएको छ ।

आजै नेपाली काँग्रेस निकट नेपाल सांस्कृतिक कलाकर्मी संघले तयार पारेको म्युजिक भिडियो सार्वजनिक कार्यक्रम राखिएको छ । उक्त कार्यक्रम पनि रिपोर्टर्स क्लब नेपालमा पौने १ बजे राखिएको हो ।

आज पूर्वसुरक्षाकर्मीहरूका समस्या, सरोकारबारे पूर्वसुरक्षाकर्मी परिषद् नेपालले अन्तरक्रिया तथा पत्रकार सम्मेलन पनि रिपोर्टर्स क्लब नेपालमा दिउँसो १ बजे राखेको बताइएको छ ।

टिप्पणीहरू