नामको लफडामा कस्तो किचकिछ हो राम राम !

नामको लफडामा कस्तो किचकिछ हो राम राम !

नयाँ पार्टी गठनको तयारीमा रहेका राष्ट्रिय राजनीतिका दुई प्रमुख शक्ति दल दर्ताको प्रारम्भमै नामसम्बन्धी झमेलामा परेका छन् । एमालेबाट बिद्रोह गरी नयाँ पार्टी दर्ता प्रक्रियामा रहेको माधव नेपाल पक्ष र जसपाबाट निकालिएको महन्थ-राजेन्द्र खेमालाई शुरुवातमै नामको लफडा आइलागेको हो ।

माधव पक्षले शुरुमा नेकपा एमाले (समाजवादी) नामक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर,आयोगले नेकपा एमालेसँग मिल्दोजुल्दो नाम भएकाले दर्ता नहुने संकेत दिएपछि नाम फेरेर नेकपा (एकीकृत समाजवादी) प्रस्ताव गरिएको छ ।

“यसअघि काँग्रेसबाट विभाजित भएको समूहले नेपाली काँग्रेस (प्रजातान्त्रिक) दर्ता गरेको थियो । नेपाली काँग्रेस (विपी) नामको दल पनि आयोगमा दर्ता छ ।”

त्यस्तै,शुरुमा जसपा (लोकतान्त्रिक) नामको दल प्रस्ताव गरेको महन्थ खेमाले पनि सच्याएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाएको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले निर्वाचन आयोगलाई पत्र पठाएर आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नामको दल दर्ता नगर्न आग्रह गरेपछि महन्थ खेमाले लोसपा दर्ताका लागि अर्को निवेदन दिएको हो ।

हुन त विभाजित भएका पार्टीले मूल पार्टीकै नाममा अगाडि या पछाडि फुर्को झुन्ड्याएर नयाँ दल दर्ता गर्ने अभ्यास नेपालमा नयाँ होइन । विगतमा पनि दलहरु विभाजन हुँदा यस्तै प्रकृतिका नाम निर्वाचन आयोगले निर्वाध रुपमा दर्ता गर्ने गरेको थियो । तर, यसपटक भने मूल पार्टीको नाम जोडिएका नयाँ दल दर्ता गर्न अप्रत्यक्ष रुपमा अस्वीकार गरेको देखिन्छ ।

माधव नेपाललाई नेकपा एमाले (समाजवादी) नामको दल दर्ता गर्न नदिईए पनि अगाडि ‘नेकपा’ जोडिएका धेरै दल निर्वाचन आयोगमा यसअघि नै सूचिकृत छन् । ‘समाजवादी’को अगाडि एमाले भएकै कारण नाम मिल्दोजुल्दो भएको मान्ने हो भने ‘नेकपा माओवादी केन्द्र’,’नेकपा एमाले’,’नेकपा माले’, ‘नेकपा एकीकृत’,’नेकपा संयुक्त’ लगायतका दल किन दर्ता भए भन्ने प्रश्न स्वभाविक रुपमा उठ्छ । प्रत्येक दलको फरक पहिचान हुनुपर्ने हो भने दर्जनभन्दा बढी दलले आफ्नो नामको अगाडि ‘नेकपा’ कसरी जोडे र आयोगले किन दर्ता गर्यो ?

“नाम मिल्दोजुल्दो भएको मान्ने हो भने ‘नेकपा माओवादी केन्द्र’,’नेकपा एमाले’,’नेकपा माले’, ‘नेकपा एकीकृत’,’नेकपा संयुक्त’ लगायतका दल किन दर्ता भए भन्ने प्रश्न स्वभाविक रुपमा उठ्छ ।”

मूल पार्टीबाट विभाजित शक्तिले नयाँ दल दर्ता गर्दा फुर्को जोड्ने अभ्यास कम्युनिष्ट पार्टीमा मात्र होइन,काँग्रेसमा पनि छ । यसअघि काँग्रेसबाट विभाजित भएको समूहले नेपाली काँग्रेस (प्रजातान्त्रिक) दर्ता गरेको थियो । नेपाली काँग्रेस (विपी) नामको दल पनि आयोगमा दर्ता छ । यदि काँग्रेसलाई मूल पहिचान मानिएको हो भने,त्यसमा फुर्को जोडिएकाहरु मिल्दोजुल्दो भए कि भएनन् ?

खासगरी सर्वोच्च अदालतको फागुन २३ को फैसलाले निर्वाचन आयोग र सम्बन्धित पक्षलाई दल दर्ता गर्दा नयाँ पहिचान खोज्नुपर्ने बाध्यता आइलागेको हो । नेकपाको नामसम्बन्धी विवादमा परेको रिटमा सर्वोच्चले एमाले-माओवादीको एकता नै खारेज गरेपछि नयाँ दल दर्ता गर्दा थप संवेदनशील हुनुपर्ने अवस्था बनेको हो । अहिलेको एमाले र जसपाबाट बाहिरिएर नयाँ दल दर्ता गर्ने समूह नामकै कारण त्रसित बन्नुपर्नाको कारण पनि त्यहि हो ।

नयाँ दल दर्ताको शुरुवातमै नामको विवादमा पर्नुलाई प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेताहरुले गृहकार्य र तयारीको अभाव भनेका छन् । उनी भन्छन्, ‘नामका सन्दर्भमा हामीले छलफल नै नगरेको त होइन,तर जति छलफल गर्नुपर्थ्यो त्यति नभएको हुनसक्छ ।’

“अगाडि ‘नेकपा’ जोडिएका दर्जनौ पार्टी दर्ता गर्ने तर ‘एमाले’ र ‘जसपा’ जोडिएको दल दर्ता गर्न किन हिच्किचाउने ?”

त्यसो त, यसमा निर्वाचन आयोग पनि दोषी देखिन्छ । आयोगले फरक पहिचानको प्रष्ट मापदण्ड बनाउन नसक्दा अगाडि र पछाडि फुर्को थप्ने चलन शुरु भएको हो । अगाडि ‘नेकपा’ जोडिएका दर्जनौ पार्टी दर्ता गर्ने तर ‘एमाले’ र ‘जसपा’ जोडिएको दल दर्ता गर्न किन हिच्किचाउने ?

यसैपनि सरकारको प्रभावमा परेर आफ्नो स्वतन्त्र निर्णय क्षमता देखाउन नसकेको आरोप आयोगमाथि लाग्ने गरेको छ । खासगरी तत्कालिन नेकपाको आधिकारिकता विवादमा आयोगको निर्णयलाई लिएर आलोचना भएको थियो । नेकपाको विवादमा दुई तिहाइ भएको पक्षलाई आयोगले मान्यता नदिँदा मुलुकको राजनीतिक कोर्ष नै डाइभर्ट हुने अवस्थामा पुग्यो । तर,त्यहि निर्वाचन आयोगले जसपा विवादमा भने साधारण बहुमत भएको उपेन्द्र यादव पक्षलाई मान्यता दिएको छ ।

टिप्पणीहरू