क्वाटी खाने दिन पनि खोप लाउनेको भीड

क्वाटी खाने दिन पनि खोप लाउनेको भीड

आज जनैपूर्णिमा अर्थात सार्वजनिक विदाको दिनसमेत काठमाडौंका खोप केन्द्रहरुमा कोभिडविरुद्ध खोप लगाउनेको लर्को देखिएको छ । सरकारले शुक्रबारदेखि ४० वर्षमाथिका र कक्षा ११ तथा १२ का विध्यार्थीलाई लक्ष्यित गरी खोप सञ्चालन गरेसँगै तिनले प्रवेशपत्रका आधारमा कोरोनाविरुध्दको खोप लगाइरहेका छन् । खोप केन्द्रहरुमा यस्ता विद्यार्थीहरुको उत्तिकै लर्काे देखिन्छ ।

खोप लगाउनको लागि शुक्रबारदेखि काठमाडौं महानगरपालिकाको ३२ वडामै केन्द्र तोकिएको छ । साथै राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल,वीर अस्पताल,त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल,नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र सञ्चालन गरिएको छ ।

खोप लगाएर मात्रै परिक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई दबाब बढेसँगै शुक्रबारदेखि विद्यार्थीहरुका लागि खोपको व्यवस्था गरिएको हो । हाल कोरोना भाइरसविरुध्दको खोप लगाउने कार्य सञ्चालन भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकडाअनुसार,पछिल्लो पाँच सातामा ४९ लाख ३५ हजार ५६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । त्यसअघि झन्डै ३६ लाखले मात्रै यस्तो खोप लगाएका थिए । यो संगै खोप लगाउनेको सङ्ख्या ८७ लाख ७० हजार ७५४ पुगेको छ ।

जसमध्ये दुबै डोज खोप लगाउनेको संख्या ३८ लाख ३५ हजार ६०८ पुगेको छ भने ३९ लाख ३५ हजार ५६ जनाले पहिलो मात्रा लगाएको स्वास्थ्य मन्त्रालयको आँकडा छ ।

सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने घोषणा गरेको छ । आगामी चैत मसान्तसम्म सबै जनताले खोप पाउने बताइएको छ ।

टिप्पणीहरू