काँग्रेस,माओवादी, एमाले र समाजवादीसँग कोरोना कायल

काँग्रेस,माओवादी, एमाले र समाजवादीसँग कोरोना कायल

कोभिड १९ को दोस्रो लहर नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरी भेला, गोष्ठी र भीडभाड हुने कार्यक्रमहरुमा रोक लगाएको छ । तर,कसैलाई सत्ता छाड्नुपरेको र कसैलाई पार्टी फुटेको पीडाका कारण अस्थिर अवस्थामा पार्टी ठूलो बनाउने लक्ष्यका साथ मकवानपुरमा राजनीतिक गतिविधि तीब्र हुन थालेका छन् ।

त्यसको पछिल्लो उदाहरण केपी शर्मा ओलीपक्षीय मुख्यमन्त्री डोरमणि पौडेलको बहिर्गमनको भीड,काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको उपस्थितिमा २ सय ८७ जना काँग्रेस पार्टीमा प्रवेश कार्यक्रम,माओवादी केन्द्रको १ सय २ वटै वडामा वडा कमिटी निर्माण र माधव नेपाल पक्षको मनहरी गाउँपालिकास्तरीय भेला मुख्य छन् ।

भदौ ५ गते निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल र एमाले केन्द्रीय सदस्य रामेश्वर रानाको उपस्थितिमा हेटौँडामा दर्जनौँ युवाको सहभागितामा जिल्ला कमिटी,स्थानीय तह कमिटी घोषणा गरेर सपथसमेत गराइएको छ । केही दिनअघि राक्सिराङ गाउँपालिकामा काँग्रेसका बागमती प्रदेश संसदीय दलका नेता एवम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँसहितको उपस्थितिमा एमालेका वडा सदस्यसहित २ सय ८७ जनालाई पार्टी प्रवेश गराइएको थियो ।

माओवादी केन्द्रले जिल्लाका १ सय २ वटै वडामा पार्टीको वडा कमिटी पुनर्गठन गरी वाइसीएललगायत भ्रातृ संगठनको भेला गरिरहेको छ । माधव नेपाल पक्षले पनि मनहरी गाउँपालिकामा २ सयभन्दा बढीको उपस्थितिमा भेला आयोजना गरेर नारायण श्रेष्ठको अध्यक्षतामा नयाँ पार्टी कमिटी निर्माण गरेको छ ।

एकातिर कोरोना कहर टार्न स्थानीय तह र प्रदेश तथा संघीय सरकारहरुले अन्धाधुन्द खर्च गरिरहेका छन् । अर्काेतिर स्वयम् मुख्यमन्त्री,पूर्व राज्यमन्त्री, गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, वडाध्यक्षकै उपस्थितिमा कोरोनालाई ‘काउन्टर’ दिने गरी भीड जम्मा गरिरहेको दृष्य मकवानपुरमा दिनहुँ देख्न थालिएको छ ।

पोशाक नलगाई विद्यालय कम्पाउन्डभित्र सुरक्षित स्थानमा राखेर परीक्षा र कोर्षका सामान्य छलफल गराइँदा मकवानपुरका केही निजी विद्यालयले १० हजार रुपैयाँ जरिवाना व्यहोर्नु परेको छ । तर राजनीतिक क्रियाकलापहरु खुल्लमखुल्ला आयोजना गरी भीडभाड गर्दा जिल्ला प्रशासनले समेत केही भन्न सकेको छैन । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले भने ‘निषेधाज्ञाको कार्यान्वयन भइरहेको’ दाबी गर्नुभएको छ ।

यसैबीच मकवानपुरमा हिजो शनिबार १७ जनाले मास्क नलगाएको आरोपमा जिल्ला प्रहरी कार्यालयले प्रतिव्यक्ति १ सय रुपैयाँका दरले १७ सय रुपैयाँ राजश्व संकलन गरेको छ भने ७५ जनालाई मास्क वितरण गरेको जानकारी दिएको छ ।

टिप्पणीहरू