नेकपा एकीकृत समाजवादीको खास संख्या

नेकपा एकीकृत समाजवादीको खास संख्या

नेकपा एमालेबाट विभाजित नयाँ पार्टी नेकपा एकीकृत समाजवादीको दर्ता प्रक्रिया अघि बढ्ने भएको छ । हिजो शनिबार, आज र भोलि जनैपूर्णिमा र गाईजात्राको सार्वजनिक बिदा परेकाले मंगलबारदेखि प्रक्रिया अघि बढ्ने भएको छ ।

आयोगले कागजात सनाखत गरेर औपचारिक रुपमा पार्टी विभाजन प्रक्रिया शुरु गर्न भन्दै शुक्रबार आन्तरिक छलफल गरेको थियो । एमाले विभाजन रोक्ने उद्देश्यले त्यसलाई अल्झाउन र अध्यादेशले भनेबमोजिमको संख्या पुग्न नदिन अहिले पनि अनेकौं उपाय हुँदै गरेको बताइन्छ ।

एमालेको संस्थापन पक्षले माधवकुमार नेपाल निकट नेता तथा सांसदलाई फोन,म्यासेज, व्यक्तिगत संवादबाट रोक्ने प्रयासको थालनी भएको छ । स्रोत भन्छ,‘सकिए जति र भेटिए जतिलाई त्यता नजानु है भनिएको छ । छेक्ने र रोक्ने काम हदैसम्म भएको छ । कतिपयलाई अनेकौं अफरसमेत गरिएको छ ।’

त्यही उपायअनुसार गत साता निर्वाचन आयोगमा एमालेको केन्द्रीय समिति संख्या २ सय ६० भन्दै अध्यावधिक गरिदिन निवेदन पेश गरिएको छ । नवौं महाधिवशेनबाट निर्वाचित र पछि मनोनीतसहित अद्यावधिक गरिएका २ सय ३ जना नै एमालेको आधिकारिक केन्द्रीय समिति संख्या हो । जुन सूची आयोगमा पनि छ । तर,अध्यक्ष केपी शर्मा ओलीले २ सय ६० जनाको नाम दिएर अद्यावधिक गर्न भनिएको सूची भने हालसम्म कार्यान्वयनमा आइसकेको छैन ।

यसअघि उहाँले नै एक पटक एमालेको केन्द्रीय समिति सदस्य संख्या १५ सय १ जनाको रहेको जानकारी गराउनुभएको थियो । त्यसपछि फेरि छ सय जनाको भन्नुभयो । ती दुबै सूची हालसम्म बेवारिस अवस्थामा छ । जबकि आधिकारिक भनेको २ सय ३ जना नै भएको सबैले मान्दै आएका छन् ।

केन्द्रीय समितिका २ सय ३ जनामध्ये नेता माधव नेपालसँग निकटस्थ भएर अलग पार्टीको निम्ति हस्ताक्षर गर्ने ५७ जना हुनुुहुन्छ । त्यहि ५७ जनामा अरु ३८ जना थपेर ९५ जनाको केन्द्रीय समिति गठन गरिएको हो । जसमा मधेशी,युवा,महिला सबै पक्षलाई समेटेर समावेशीयुक्त बनाइएको छ ।

अध्यादेशबमोजिम नयाँ दल दर्ताको निम्ति २० प्रतिशत सांसद र केन्द्रीय समिति सदस्य अनिवार्य गरिएको छ । जसअनुसार २ सय ३ जनाको २० प्रतिशत भनेको ४१ जना मात्र हो । जबकि पुरानो कमिटीका ५७ जना नेपालनिकट छन् । अहिले त्यही ५७ जनालाई घटाएर ४१ जना बनाउन अध्यक्ष ओली समूहका सबैजसो नेता ज्यान फालेर लागेका हुन् ।

अहिलेको अवस्थामा ओली पक्षको आग्रहमा नेपाल पक्षका १० जनालाई तटस्थ राख्न खोज्नु असम्भवप्रायः देखिन्छ । संस्थापन पक्षले जति प्रयास गरे पनि त्यो सम्भव देखिँदैन । त्यसैले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी दर्ताको प्रक्रिया स्वतः अघि बढेको हो ।

९५ जना केन्द्रीय सदस्यमध्ये पुराना वामपन्थी नेता नरेश खरेल झापा आन्दोलनका सबैभन्दा आदरणीय व्यक्तित्व हुनुहुन्छ । एमाले अध्यक्षले जेल नेलका कुरा गरे पनि खरेलले ओलीले भन्दा झण्डै चार वर्ष बढी जेल जीवन व्यतित गर्नुभएको छ । उहाँ १७ वर्ष जेलमा बस्नुभएको थियो । पछि नख्खु जेल ब्रेक गर्नेमध्येको उहाँ पनि एक जना हुनुहुन्छ ।

खरेलकी श्रीमती पवित्रा निरौला खरेल प्रतिनिधिसभामा झापाबाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँ अलि अघिसम्म माधव खेमातर्फ नै हुनहुन्थ्यो । तर, पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रममा उहाँले अहिलेसम्म मुख खोल्नुभएको सुनिएको छैन ।

गत साता नरेशले समेत आफूलाई जानकारी नगराई केन्द्रीय समितिमा राखिएकोमा आपत्ति जनाउनुभएको भन्ने खबर बाहिरिएको थियो । तर हिजो शनिबार झापामा यसअघि गठित समानान्तर कमिटी अर्थात् माधव नेपाल खेमाको भेला गराइएको छ । त्यहि भेलाले यसअघि गठन भएको बेद रेग्मीवाला समानान्तर कमिटीलाई नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटीमा रुपान्तरण गरिएको छ । उक्त भेलामा खरेल प्रमुख अतिथि हुनुहुन्थ्यो ।

त्यसैगरी नेता प्रदीप नेपाल जो आफैँ झापा आन्दोलनलगत्तै सामेल हुनुभएको थियो । उहाँ भूमिगतकालमा पार्टीको मेची इञ्चार्ज हुनुहुन्थ्यो । उहाँले समेत आफू नेपालतर्फै रहेको बताइसक्नुभएको छ ।

अर्का जुझारु नेता केदार न्यौपानेले पनि ऐक्यवद्धता जनाउनुभएको छ । नेता वामदेव गौतम निकट हरि पराजुलीहरूले पनि पार्टी विभाजनमा कित्ताकाट गरेर देखाइसक्नुभएको छ ।
Aa

टिप्पणीहरू