राजकाजमाथि पिरतीको बन्धन « Jana Aastha News Online
Logo
१३ जेष्ठ २०७९, शुक्रबार
|  Fri May 27 2022
Logo
१३ जेष्ठ २०७९, शुक्रबार
|  Fri May 27 2022

राजकाजमाथि पिरतीको बन्धन

प्रकाशित मिति :  २३ बैशाख २०७४, शनिबार १२:२७


राजेन्द्र स्थापित

अल्फोंसो (प्रथम) पोर्चुगलका प्रथम राजा हुन् । त्यसैले उनलाई ‘एकीकरणकर्ता’, ‘संस्थापक’ र ‘महान् राजा’ भन्ने गरिन्छ । पहिला दक्षिणी काउन्टी ग्यालिसिया जितेर राजा बने । पछि सन् ११३९ देखि सम्पूर्ण पोर्चुगल ।

सन् १२७९ मा डेनिस राजा भए । कवि र किसान राजाको रूपमा लोकप्रियता कमाएका उनले ४६ वर्ष शासन गरे । सन् १३२५ मा निधन भयो । उनी चाहन्थे ब्रिटिस पत्नी अल्डोन्का रोड्रिगेज ताल्हातर्फका छोरा अल्फोंसो सान्चेज गद्दीमा बसुन् । तर, सान्चेजभन्दा दुई वर्षले कान्छो अल्फोंसो (चतुर्थ) ले पनि दाबी गरे । अल्फोंसो महारानीको दर्जाप्राप्त एलिजाबेथका छोरा थिए । नतिजा गृहयुद्ध मच्चियो । सान्चेज युरोपको दक्षिणपश्चिम कुना क्यास्टिलोतर्फ गइरहेको मौका पारेर अल्फोंसोले सत्ता हातमा लिए । बिहे सन् १३०९ मै क्यास्टिलोकी राजकुमारी बेट्रिससँग गरिसकेका थिए । राजा बनिसकेपछि अल्फोंसो (चतुर्थ) ले छोरी मारियाको बिहे क्यास्टिलो, लियों र ग्यालिसियाका राजा अल्फोंसो (एघारौं) सित गरिदिए । अल्फोंसो (एघारौं) को बिहे यसअघि बाल्यकालमै सन् १३२५ मा कोन्स्टान्जा म्यानुयलसँग भइसकेको थियो । तर, दुई वर्षपछि नै सो बिहेलाई अवैध ठह¥याइयो । त्यसपछि सन् १३२८ मा उनको बिहे मारियासँग भयो ।

पहिलो पत्नी कोन्स्टान्जालाई टोरोमा बन्दी बनाएर राखेपछि ससुरा (भिलेनाका राजकुमार) जुआन म्यानुयलले ज्वाइँविरुद्ध युद्ध घोषणा गरे । पछि उनीहरूबीच शान्ति सम्झौता भयो । उता, अल्फोंसो (एघारौं) ले दोस्री पत्नी मारियामाथि पनि सद्व्यवहार गरेनन् । कारण थियो– इलेनोर डे गुजम्यानसँगको अफेयर । इलेनोर २० वर्षकै उमेरमा विधवा बनेकी थिइन् । लगत्तै अल्फोंसो (एघारौं) सित भेट भयो । अल्फोंसो इलेनोरको सौन्दर्यबाट मन्त्रमुग्ध बने । र, पत्नी मारिया र छोरा पिटरलाई दरबारमै छाडेर इलेनोरसँग बस्न गए । लोग्नेबाट ठगिएकी मारियाले कम्तीमा सार्वजनिक कार्यक्रममा आफूलाई सहभागी गराउन आग्रह गरिन् । अल्फोंसोले उक्त आग्रहलाई पनि मानेनन्, उल्टो इलेनोरलाई ह्वेल्भालगायत तीन–चारवटा काउन्टी उपहार दिइदिए । इलेनोरको बासस्थान सेभिल्लेबाटै राजकाज चलाउन थाले । राजा अल्फोंसोको व्यवहारले सीमा नाघ्न थालेपछि पोपले हस्तक्षेप गरे । पोर्चुगलबाट क्यास्टिलोमाथि सैन्य हस्तक्षेप गर्न लगाए । 

सन् १३५० मा अल्फोंसो (एघारौं) को निधन भयो । पिटर राजा र राजमाता मारिया नायबी बनेर शासन चलाउन थालिन् । रखौटीकै कारण लोग्नेले आफूमाथि दुव्र्यवहार गर्ने गरेकोलाई मारियाले भुलेको थिइनन् । तसर्थ, शक्तिशाली बन्नेबित्तिकै इलेनोरलाई पक्रेर जेल हाल्न लगाइन् । र, मृत्युदण्ड दिन लगाइन् । मारियाको यो ‘बदला’ बाट शासकहरू विभाजित बने । मारियाको छोरा पिटर र इलेनोरका छोरा हेनरीबीच लामो समयसम्म सत्ता–संघर्ष चल्यो । 

उता पोर्चुगलका राजा अल्फोंसो (चतुर्थ) ले जब छोरी मारियालाई ज्वाईं अल्फोंसो (एघारौं) ले सद्व्यवहार नगरेको थाहा पाए, ज्वाईंलाई ‘पाठ’ सिकाउन अल्फोंसो (एघारौंं) का ससुरा जुआन म्यानुयलसँग हात मिलाए । अल्फोंसो (एघारौं) ले परित्याग गरेकी कोन्स्टान्जासँग आफ्नो छोरा पेड्रोको बिहे गराइदिए । बिहेपछि कोन्स्टान्जा सन् १३४० मा पोर्चुगलको राजधानी लिस्बोन पुगिन् । उनीसँगै प्रमुख सेविकाको रूपमा इनेस थिइन् । भर्खर १५ वर्षकी उनी ग्यालिसियाकी थिइन् । शक्तिशाली रइस पेड्रो फर्नान्डेज र उनकी रखौटी अल्डोन्जा लोरेन्जोकी छोरी ।

इनेस बिछट्टै राम्री थिइन् । २० वर्षीय युवराज पेड्रो (पिटर) को मन नवविवाहित पत्नीप्रति होइन, पत्नीकी सेविका इनेसप्रति लठ्ठ भयो । इनेसलाई देखेपछि नै पत्नी कोन्स्टान्जासितको प्रेममा कमी आयो । पेड्रोले प्रेमिका इनेसको कुरो सुनेर क्यास्टिलोका निर्वासित राजनीतिज्ञलाई प्रमुख पद दिए । इनेसका दाजुहरू अनन्य मित्र बने । विश्वासिला सल्लाहकार बने । राजा अल्फोंसो (चतुर्थ) ले युवराजमाथि इनेसको प्रभावलाई अलिकति पनि मन पराएनन् । अनेक प्रयत्न गरे तर इनेसप्रतिको छोराको आशक्तिमा कमी ल्याउन सकेनन् । पेड्रो इनेसलाई पानी तान्न प्रयोगमा ल्याउने गरेको फलामे पाइपमार्फत पत्र पठाउँथे । जुन पाइप इनेस बस्ने गरेको आधा मिल टाढाको कोइम्बरास्थित शान्ता क्लारा ए भेल्हा मठमा टुंगिन्थ्यो । यसबीच युवराज्ञी कोन्स्टान्जाले भर्खर जन्मेको छोरो लुइसको हेरचाहका लागि दरबार बोलाइन् । मौकाको सदुपयोग गर्न पेड्रो र इनेस दुवै चुकेनन् । 

प्रेमकाण्डले चर्को विवाद सिर्जना गरेपछि राजाले इनेसलाई दरबारको सेवाबाट बर्खास्त गरिदिए । धपाएर क्यास्टिलो पठाइदिए । यसका बाबजुद पेड्रो र इनेसको सम्बन्ध टुटेन । गोप्य तवरबाट भेटघाट गर्दै गए । आफ्नो लोग्ने र इनेसको सम्बन्ध झन् घनिष्ठ बन्दै गएको थाहा पाएपछि युवराज्ञी कोन्स्टान्जा बिरामी परिन् । बिरामी भएकै समयमा छोरा (फर्डिनान्ड) लाई जन्म दिइन् । सुत्केरी भएको १३ औं दिनमा सन् १३४५ को नोभेम्बरमा निधन भयो । फर्डिनान्डबाहेक पेड्रो र कोन्स्टान्जाका छोरी मारिया र छोरा लुइस पनि थिए । तर लुइसको निधन सानैमा भइसकेको थियो । 

राजा अल्फोंसो (चतुर्थ) ले छोरा पेड्रोमाथि दोस्रो बिहेको लागि थुप्रैपटक दबाब दिए तर पेड्रो इनेसबाहे अरु कोहीसँग पनि बिहे गर्न राजी भएनन् । राजा पनि छोराको बिहे इनेससित कुनै हालतमा गरिदिन तयार भएनन् । बाबुछोराको विवाद र इनेस प्रकरणले मुलुकमा गृहयुद्ध निम्तिने खतरा अल्फोंसोले देखे । राज्यसत्ता जसरी भए पनि क्यास्टिलोहरूको हातमा जाने निश्चित भयो । किनभने छोरी कोन्स्टान्जाको समर्थनमा बाबु जुआन म्यानुयल र इनेसको समर्थनमा उनका दाजुहरू युद्ध लड्न तम्तयार बनिसकेका थिए । यसबीच, पेड्रोले इनेसलाई पुनः लिस्बोन ल्याए ।
अब उनीहरू खुल्लमखुला भेट्न र रातसँगै बिताउन थाले । त्यतिञ्जेलमा इनेस चार सन्तानकी आमा बनिसकेकी थिइन् । पेड्रोले बाबुको इच्छाविपरीत बिहे गरी इनेसलाई भावी महारानी र तिनीबाट जन्मेका छोरालाई उत्तराधिकारी बनाउने घोषणा गरे ।

राजा अल्फोंसो कुनै हालतमा इनेसका परिवार (क्यास्त्रो वंश) लाई सत्ता सुम्पन चाहँदैनथे । त्यसैले राज्यपरिषद्को बैठक डाकेर सल्लाह गरे । इनेसको हत्या नै एक मात्र विकल्प भएको निष्कर्ष निकाले । लगत्तै पेड्रो राजधानी लिस्बोनमा नभएको मौका पारी पेरो कोइल्हो, अल्भारो गोन्काल्भस र डियगो लोपेस पाचेकोलाई खटाए । तीनैजना सन् १३५५ को जनवरी ७ मा इनेस बस्ने गरेको शान्ता क्लारा–ए–भेल्हा मठ पुगे । एकछिनमा अल्फोंसो पनि पुगे । उनैका सामु इनेसलाई जबर्जस्ती तान्न शुरु गरे । ससाना बच्चा रुँदै आमालाई समाउन पुगे । ८, ६ र २ वर्षका नातिनातिनी बेट्रिज, जोन र डेनिसले बाजे अल्फोंसोको खुट्टा समातेर आमालाई क्षमादान दिन अनुनयविनय गरे तर अल्फोंसोको मन पग्लेन । अन्त्यमा ‘तिमीहरू जे गर, गर’ भन्दै बाहिर निस्के । लगत्तै त्यहाँ पुगेका तीन सैनिकले इनेसलाई बच्चाहरूबाट छुटाए । र, स–साना बच्चाहरूकै अगाडि भालाले रोपेर इनेसलाई मारे । स्मरणीय छ, कान्छा छोरा अल्फोंसो त्यसबेला इनेसको काखमै थिए । 

खबर पाउनेबित्तिकै पेड्रोले बावुविरुद्ध हतियार उठाए । सेनाको नेतृत्व गरी लिस्बोनमाथि धावा बोले । करिब एक वर्षसम्म बावु–छोराका सैनिकबीच युद्ध चल्यो । अन्त्यमा रानीले सम्झौता गराइदिइन् । तर, लगत्तै सन् १३५७ मा अल्फोंसोको निधन भयो । पेड्रो राजा बने । इनेससँग गोप्य तवरमा बिहे गरिसकेको भन्दै इनेस वैध रानी भएको घोषणा गरे । इनेसको लास निकाल्न लगाए । राजशी पोसाक र हिरा–जवाहरातजडित गहना लगाउन दिएर गद्दीमा बसाले । मृत शरीरको हात चुमे । कैयौं दिनसम्म रानीको गद्दीमै राखिराखे । पछि आल्कोबास्थित मठनजिक राजकीय सम्मानका साथ गाड्न लगाए । र, आदेश दिए कि निधनपछि आफ्नो लास पनि इनेसको चिहानको ठीक सामुन्ने गाड्नू ताकि मृत्युपछि पनि दुवैले एक–अर्कालाई हेरिरहन सकुँ ।

पेड्रोलपछि इनेसको हत्यारा तीनैजनालाई खोज्न लगाए । बल्ल चार वर्षपछि सन् १३६१ मा तीमध्येका दुईजनालाई क्यास्टिलोबाट पक्रन सफल भए । डियगो लोपेस पाचेको भने देश छाडेर भाग्न सफल भए । पक्राउ परेका दुई जनालाई बिना न्यायिक सुनुवाई मृत्युदण्ड दिने आदेश सुनाए । मृत्युदण्ड राजदरबारअगाडिको ठूलो चौरमा दिइने घोषणा गरे । जुलाई ७ को दिन चौरमा ठूलो जनसमूह उपस्थित भयो । राजा पेड्रो आफैं पनि उपस्थित भए । आफ्नी प्रियसीलाई बर्बरतापूर्वक मारेको भन्दै पेरो कोइल्हो र अल्भारो गोन्काल्भसको आँखा निकाल्न लगाए । त्यतिले पनि मन शान्त भएन । आफैं अघि सरेर कोइल्होको ढाड चिरे र त्यहाँबाट मुटु झिके । फेरि अल्भारोको छाती चिरेर उनको पनि मुटु झिके । अनि दुवै मुटु पिनेर चुर्ण पारे । 

राजा पेड्रोको निधन ४७ वर्षको उमेरमा सन् १३६७ मा भयो । उनी पछि फर्डिनान्ड (प्रथम) राजा बने । फर्डिनाण्ड पेड्रोका प्रथम रानी कोन्स्टान्जाका पुत्र थिए । ‘ह्याण्डसम राजा’ को नाउँले चर्चित उनको निधन सन् १३८३ मा भएपछि संकट पैदा भयो । किनकि उनको कुनै सन्तान थिएनन् । विवाद र राजनीतिक रस्साकस्सी दुई वर्षसम्म चल्यो अर्थात् दुई वर्ष पोर्चुगल राजाविहीन बन्यो । अन्त्यमा सन् १३८५ मा पेड्रोकै अर्की प्रेमिका तेरेसा लाउरेन्कोतर्फबाट सन्तान जोन राजा बन्न सफल बने । ४८ वर्ष शासन गरे । पोर्चुगल १९१० मा गणतन्त्र बन्यो ।


प्रतिक्रिया दिनुहोस !