गेष्ट हाउसले पैसा मागेपछि तर्साउन कोठामै ‘होक्स बम’

गेष्ट हाउसले पैसा मागेपछि तर्साउन कोठामै ‘होक्स बम’

भक्तपुरको ठिमीमा होक्स बम फेला परेको छ । स्थानीय दिव्यश्वरी गेस्ट हाउस एण्ड रेष्टुरेन्टमा होक्स बम राख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गेस्ट हाउसको पहिलो तलाको ४ नम्बर कोठामा हिजो उक्त बम फेला परेको हो । पुरानो कुकरमा नाङ्गो तार जडान गरी रुमालले ढाकेको अवस्थामा उक्त बम फेला पारिएको प्रहरीले बताएको छ ।

काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका २, डाडाँगाउँका नविन तामाङलाई होटलमा बम राखेको अभियोगमा प्रहरीले प्रक्राउ गरेको हो । उनले होटलमा सुतेको र खाएको पैसा मागेपछि तर्साउन बम राखेको बताएका छन् । तामाङको भनाई उद्धृत गर्दै स्रोत भन्छ, ‘पैसा थिएन, पैसा मागेपछि बम राखिदिएँ ।’

तामाङ बोधिचित्तको माला बेच्न काम गर्थे । व्यवसाय ठप्प भएको र आम्दानी सुकेपछि होटलको पैसा तिर्न नसकेको उनले बयान दिएका छन् । महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरका प्रहरी नायव उपरीक्षक नरहरी रेग्मीसहितको अनुसन्धान टोलीले शंकास्पद वस्तुबारे पत्ता लगाउन नसकेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीको सेनाले उक्त बम डिस्पोज गरेको थियो ।

शंकास्पद वस्तु निष्क्रिय भइसकेपछि मात्र होक्स बम रहेको पत्ता लागेको थियो । तामाङले अपराध स्वीकारेकाले आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बताइएको छ ।

टिप्पणीहरू