काँग्रेस कार्यालयमा धर्ना र अनशन, जनैपूर्णिमाको कारण डेढ घण्टा ढिलो

काँग्रेस कार्यालयमा धर्ना र अनशन, जनैपूर्णिमाको कारण डेढ घण्टा ढिलो

नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरणमा भएको धाँधली विरुद्ध पार्टी केन्द्रीय कार्यालयमा अघिल्लो महिनादेखि हुँदै आएको धर्ना र अनशन आज पनि भएको छ । पछिल्लो ४२ दिनदेखि प्रायः बिहान ९ बजे हुने गरेको विरोध कार्यक्रम आज जनै पूर्णिमाको कारण डेढ घण्टा ढिलो भएको बताइएको छ ।

आज बारा जिल्लाका पूर्वसांसद रामअयोध्या प्रसाद यादवको नेतृत्वमा झण्डै एक दर्जन नेता तथा कार्यकर्ताले धर्ना दिएका छन् ।

केन्द्रीय नेतृत्वले माग पूरा गर्ने वचन दिएर पनि हालसम्म कार्यान्वयन नगरेको भन्दै कैलाली क्षेत्र नम्बर १ का सभापति भुवनेश्वर अधिकारीको नेतृत्वमा अरु एक दर्जनले पनि आज धर्ना दिएका छ्न् ।

रौतहटका काँग्रेसीहरुले भने रिले अनशन गरेका छन् । रौतहट क्षेत्र नम्बर १ मा पार्टी विधान, नियमावली र केन्द्रीय परिपत्रविपरित नवीकरण र क्रियाशील सदस्यता वितरण गरिएको भन्दै उनीहरुले अनशन गरेका हुन् ।

त्यसैगरी लोकतान्त्रिक फोरमबाट समायोजन हुँदाको बखतको संख्याभन्दा बढी सदस्यता वितरण गरिएको उनीहरुको आरोप छ । अनशनमा पूर्वमन्त्री बज्रकिशोर सिंहको नेतृत्वमा डा.देवचन्द्र मिश्र, महासमिति सदस्य उदयकान्त यादव र अन्य केही महाधिवेशन प्रतिनिधिहरुको उपस्थितिमा अनशन सुरु गरिएको हो ।

टिप्पणीहरू