सडक दुर्घटनामा एम्बुलेन्सको ढिलाई, उद्धार र उपचारमा प्रत्यक्ष असर

सडक दुर्घटनामा एम्बुलेन्सको ढिलाई, उद्धार र उपचारमा प्रत्यक्ष असर

पछिल्लो समयमा सडक दुर्घटनामा धेरैको ज्यान जाने गरेको छ । त्यसमा सर्वसाधारणलगायत सवारी साधन चालक समेत पर्ने गरेका छन् । दुर्घटनामा कतिपयको घटनास्थलमै ज्यान जाने गरेको छ भने कतिपयको अंगभंग भएर अपांग जिन्दगी बिताउनु पर्ने अवस्था सिर्जना हुने गरेको छ ।

प्रहरीबाट प्राप्त आर्थिक वर्ष २०७७/०७८ को विवरणअनुसार सवारी दुर्घटनामा परि २ हजार ५ सय ११ जनाको मृत्यु भएको छ । त्यसै गरि ६ हजार ४ सय ५३ जना गम्भीर घाइते भएका छन् । यस्तै सडक दुर्घटनामा सवारी साधनको संख्या ३३ हजार १ सय २५ वटा पुगेको छ ।

तथ्याङ्कअनुसार सडक दुर्घटनामा धेरै ज्यान गुमाउनेमा पुरुषको संख्या बढी देखिन्छ । त्यस्ता दुर्घटनामा ३ सय ४६ जना महिलाको मृत्यु हुँदा १ हजार ९ सय ७५ जना पुरुषको मृत्यु भएको छ । सडक दुर्घटनाको मुख्य कारण सवारी साधन चालकले सडक नियमको पालना नगर्नु, मादक पदार्थ सेवन गरेर साधन चलाउनु रहेको छ ।

तर कतिपय सन्दर्भमा सडकको दुरावस्था पनि त्यत्तिकै जिम्मेवार पाइएको छ । चालकको लापरवाहीको नकारात्मक परिणाम सडकमा हिँड्ने पैदल यात्रुहरुले समेत भोग्नु पर्ने हुन्छ । त्यसैगरी चौपायाको कारण मानिसको र चालकको कारण चौपायाले समेत अकालमा मृत्यु वरण गरेको धेरै वटा घटना सार्वजनिक भइसकेका छन् । गत आर्थिक वर्षमा १ सय २४ चौपायाको सडक दुर्घटनामा मृत्यु भएको छ ।

त्यसैगरी सडक दुर्घटनामा तत्काल एम्बुलेन्स नपुग्दा पनि धेरैले ज्यान गुमाएको बताइन्छ । एम्बुलेन्स सञ्चालक तथा चालक दुबैले एम्बुलेन्स सेवाको महत्वलाई ध्यान नदिँदा नकारात्मक परिणाम देखिएको हो ।

केही दिनअघि लेखक स्वयम् राजधानीको सडकमा दुईवटा स्कुटर आपसमा ठोक्किँदा भएको सडक दुर्घटनाको साक्षी थिएँ । दुर्घटनालगत्तै केही युवा र लेखकले घाइते युवतीलाई अस्पताल लैजान प्रहरीको १०० नम्बरमा घटना बारे बताएर एम्बुलेन्सको निम्ति आग्रह गरे पनि त्यसको कुनै अर्थ देखिएन । दुर्घटनाबारे जानकारी गराइसकेपछि प्रहरीको संयन्त्रले घटनास्थलमा उद्धारको निम्ति आवश्यक पहल हुनुुपर्नेमा त्यो पनि महशुस भएन ।

घटनास्थल नजिकै रोकिराखेको एउटा निजी कारलाई अनुरोध गरेर घाइतेलाई नजिकैको अस्पताल पुर्याइयो । दुर्घटना गराउने अर्को स्कुटरका चालक त्यहि मौकामा भाग्न सफल भए । तर, दुर्घटनामा पहिलो भूमिका उद्धारसँगै एम्बुलेन्सको हुने हुँदा त्यसको लागि मुलुकमा खासै संयन्त्र बनेको पाइएन । राजधानीको सडकमा हुने दुर्घटनामा त्यो अवस्था देखिन्छ भने दुर्गम र टाढाका राजमार्गमा हुने दुर्घटनामा एम्बुलेन्स बेलैमा नपुग्दा धेरैले अकालमा ज्यान गुमाइरहेका छन् भन्न सकिन्छ ।

टिप्पणीहरू