​यसपालि कुन प्रभू ?

प्रधानमन्त्री पुष्पकमल दाहालको प्रधानमन्त्रित्व पनि गजबको छ । प्रधानमन्त्री भएपछि उहाँको काम त गरिबी हटाउने, भ्रष्टाचार हटाउने, बेथिति हटाउने हुनुपर्ने थियो । तर उहाँ यी कुरा हटाउन छोडेर अर्कै कुरा हटाउन पुग्नुहुन्छ । र, अन्तमा उल्टो आफैँ हट्नुपर्ने अवस्था सिर्जना गर्नुहुन्छ । यो उहाँको अनौठो बानी हो । 

जस्तो, उहाँ पहिलोपटक प्रधानमन्त्री बन्नुभयो । प्रधानसेनापति हटाउनुभयो तर सक्नुभएन । प्रधानसेनापति हटाउन नसकेपछि आफैँ हट्नुपर्ने अवस्था आयो । र, हट्नुभयो । 

उहाँ दोस्रोपटक प्रधानमन्त्री बन्नुभयो । यसपटक प्रधानन्यायाधीश हटाउने प्रयास गर्नुभयो । त्यो पनि सक्नुभएन । र, अब आफैँ हट्नुपर्ने अवस्था आइदिएको छ । किनभने सत्तासाझेदार राप्रपाले सरकार छोडिसकेको छ । राप्रपाले सरकार छोडेपछि प्रधानमन्त्री दाहालले पनि स्वतः पद छोड्नुपर्ने अवस्था आएको छ । 

पहिलोपटक आफैँ हट्दा उहाँले विदेशी प्रभूलाई दोष दिनुभएको थियो । यो सबै प्रभूको खेल भन्नुभएको थियो । अब दोस्रोपटक हट्दै गर्दा कुन प्रभूलाई दोष दिने हो, त्यो अझै थाहा हुन सकेको छैन । उसो त नेपाल तेत्तीसकोटी प्रभूहरू भएको देश हो, जुन प्रभूलाई दोष दिए पनि भयो नि ! कि कसो ?

टिप्पणीहरू