​‘एई चूप ! बढ्ता बोल्ने होइन !’

यसरी मध्यरात संसद् भवनमा एक जना मन्त्री यसरी कराए कि सुनेर संसद्भरिका मान्छे उनीतिर हेर्दै हाँसिरहेका थिए । १५ गते राति १० भन्दा बढी बजेको छ । संसद्मा सरकारले दर्ता गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथि ५० वटा संशोधन प्रस्ताव दर्ता गर्ने क्रममा संशोधनका लागि दिइएको ७२ घण्टे म्याद टुंगिन १५ मिनेट बाँकी छँदा मन्त्री र सांसदबीच गलपत्ति चल्यो । 

त्यसै क्रममा हो, सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालमाथि त्यस्तो शब्द प्रयोग गरेको । त्यसदिन सत्तारुढ दलको तर्फबाट मधेसकेन्द्रित दलको सहमतिमा संशोधन प्रस्ताव ल्याउन साँझ ६ बजेदेखि बैठक बसेको थियो । त्यसअघि ९ गतेको सहमतिअनुसार दुई चरणमा निर्वाचन र संविधान संशोधन प्रस्ताव परिमार्जन गर्ने सहमति भएको थियो । त्यही सहमतिअनुसार १५ गते राति ५० वटा संशोधनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्नका लागि कोरमको लफडा चल्दा स्थिति भनाभनमा परिणत भएको हो । त्यसै त मध्यरात † सबै सांसद घर–घरमात्र लागेका थिएनन्, कतिपय भुसुभुसु निदाइरहेका थिए । अरू  त अरू, स्वयं मन्त्री बुढाथोकी पनि क्वार्टरमा सुतिसकेका रहेछन् । तर, विचार गरियोस् भन्ने प्रस्ताव त्यतिबेलै पारित भएन भने संशोधन अपूरो हुने र सबै कुरा चौपट हुने कारण घर–घरबाट सांसद उठाइएर त्यहाँ पु¥याइएका थिए । केशवकुमार मात्र हैन, प्रेम सुवाल पनि आँखा मिच्दै संसद्भित्र छिरेका थिए । 

वास्तवमै गणपूरक संख्या (कोरम) को त्यहाँ अभाव थियो । त्यसैले प्रेमले शुरुमै ‘कोरम पुगेन’ भनेर नियमापत्ति गरे । त्यसरात दुई चरणमा बैकठ बस्यो । पहिलो बैठकमा प्रेमले दुई–तीनपटक नियमापत्ति गरेपछि केही बेर बैठक स्थगन भई फेरि शुरु भयो । तर, फेरि प्रेम त्यसरी नै कराउन थाले । प्रेम नियमापत्ति गर्न जुरुक्क उठे । केशवकुमार पनि सँगसँगै उठेर कराए, ‘खुरुक्क बस् ! कराउँछस् † केको कोरम, सोरम !’ प्रेम हातले इशारा गर्दै एकछिन–एकछिन भन्दै थिए, केशवले उठेका प्रेमलाई थेचारेर बसाइदिए । सत्तापक्षका सांसद गलल हाँसे । तर, सदनको कारबाही सकिएपछि केशव बुढाथोकीसँग प्रेम पड्किँदै थिए, ‘सत्तापक्ष भएर यस्तो गुण्डागर्दी गर्न सुहाउँछ ?’ तर, केशवले ‘आऽऽऽ, छाड्देउ यार, गुण्डागर्दी, सुण्डागर्दी उही जामानामा छाडियो’ कुरा टारे । भोलिपल्ट उनीसँग यसबारे जिज्ञासा राख्दा भने, ‘राति सुतेको मान्छे उठेर गा’छ, त्यसमा पनि नियमापत्ति गरेर के लफडा झिकेको त ?’

टिप्पणीहरू