​अर्को चरणमा अर्कै आपत

पहिलो चरणको निर्वाचन हुने पक्का भए पनि दोस्रो चरणका लागि निर्धारित जेठ ३१ गतेको निर्वाचन मिति सार्न प्रमुख प्रतिपक्षी एमालेले माग गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा एमाले नेता र प्रधानमन्त्री प्रचण्डबीच भएको वार्तामा एमालेले सो माग अघि सारेको हो । यसको जानकारी दिँदै बालुवाटार स्रोतले भन्यो केपी ओली स्वयंले नै दोस्रो चरणका लागि तोकिएको मिति सार्न प्रस्ताव गर्नुभएको हो ।

सत्ताधारी दल सत्ताका लागि ज्यादै अन्ध भएका कारण प्रतिपक्षीले निर्वाचन मिति सार्न दबाव दिनुपरेको हो । मुस्लिमको रमजान धार्मिक पर्व १५ जेठदेखि सुरु हुँदै छ । एक महिनासम्म चल्ने यो पर्वमा मुस्लिम धर्मावलम्बीले घाम लागुन्जेल पानी पनि लिँदैनन् । बिहान साढे ४ बजे ‘सेहरी’ (रमजानमा लिइने खाना) लिएपछि उनीहरू साँझ नपरुन्जेल हावाबाहेक केही ग्रहण गर्दैनन् । यस्तो कठोर व्रत लिएर धार्मिक उत्सव मनाउने नेपाली मुस्लिम धर्मावलम्बी १५ लाखभन्दा बढी छन् । बाह्र वर्षमाथिका सबैले बिहान ४ बजे सेहरी लिएर साँझसम्म भोकै बस्नुपर्ने धार्मिक नियमलाई निकै आस्थापूर्वक पालना गर्ने यो समुदायका लागि जेठ ३१ गतेको निर्वाचन नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छाबाबुको अनुहार भएको छ । अझ यो अवधिमै चुनाव गर्नु भनेको १५ लाख मुस्लिम समुदायलाई भाग नलेऊ भनेजस्तै हो ।

यस अवधिमै निर्वाचन भएमा मुस्लिम समुदायले उम्मेदवारी दिने, प्रचार प्रसारमा घरदैलो गर्नेजस्ता काम गर्न पक्कै पनि सहज हुने छैन । समावेशी र संघीयताका नाममा अधिकारको विकेन्द्रीकरण र सबैलाई समान अवसर राज्यको प्रमुख कार्य भएका बेला यसरी लाखौं जनतालाई निर्वाचनबाट वञ्चित गराउनु नहुने भन्दै एमालेका नेताले प्रमलाई सचेत गराएका हुन् ।

स्मरण रहोस्, यसअघि गिरिजाप्रसाद कोइरालाले मध्यावधि निर्वाचनको घोषणा गर्दा पनि ठूलो एकादशीको दिन परेको थियो । हिन्दु धर्मावलम्बी नेपालीले स्वेच्छाले व्रत बसी तुलसीको पूजापाठ गर्ने तथा जात्राका रूपमा मनाइने दिन परेकाले निर्वाचन मिति सार्नुपर्ने कुरा उठ्यो । त्यतिबेला सर्वोच्च अदालतको समेत राय सुझाव लिएर निर्वाचन मिति सारिएको थियो । भोकै बसेका धर्मावलम्बीको संवेदनशीलता यो सरकारले बुझ्छ वा जबर्जस्ती जेठ ३१ मै चुनाव गराउँछ हेर्न बाँकी नै छ । 

टिप्पणीहरू