अफगानिस्तान : सतहमा मूर्दाशान्ति,भित्र चर्को अशान्ति

अफगानिस्तान : सतहमा मूर्दाशान्ति,भित्र चर्को अशान्ति

विद्रोही तालिवानले दुई दशकको अन्तरालमा राज्यसत्ता सजिलैसँग हातमा लिएपछि अफगानिस्तान पुनः हिंसात्मक बन्दैछ । सरकारी कर्मचारी,प्रहरी र सेना अधिकांश परिचय लुकाउँदै भूमिगत हुन बाध्य छन् ।

तालिवानको यसअघिको कहालीलाग्दो सत्ता सञ्चालन भोगेका लाखौं जनता डराउँदै देश छाड्ने मेसो खोजिरहेका छन् । कतिपय पाकिस्तान लगायतका छिमेकी मुलुकको सीमानामा पुगेका छन् । कतिपयले आफ्ना बालबच्चा जोगाउन काबुल विमानस्थलमा रहेको अमेरिकी सेनालाई जिम्मा लगाएको भिडियो समेत बाहिर आएको छ ।

यी सबैका बाबजुद पनि तालिवान शासनको बिरोध गर्दै विभिन्न ठाउँमा प्रदर्शनकारीहरुले सांकेतिक विरोध गरेका छन् । उनीहरुले राष्ट्रपति भवन अगाडि समेत प्रदर्शन गरेका छन् । जहाँ झण्डै दुई सय जनाको सहभागिता थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले स्थानीयलाई उद्धृत गर्दै प्रेषित गरेको समाचारमा भनिएको छ,‘अफगानिस्तानको वार्षिक स्वतन्त्रता दिवसको अवसरमा पूर्वी शहर असदावादमा भएको प्रदर्शनमा तालिवान लडाकुहरुले राष्ट्रिय झण्डा फहराउनेमाथि चलाएको गोलीबाट धेरै जनाको हताहती भएको छ ।’

त्यसैगरी तालिवान लडाकूहरुले अन्य दुई शहरमा पनि प्रदर्शनकारीहरुमाथि गोली बर्साएका छन् । प्रदर्शनकारीहरुले तालिवानको नयाँ झण्डा हटाएर अफगानिस्तानको राष्ट्रिय झण्डा ठड्याउने प्रयास गरेपछि अवस्था हिंसात्मक बनेको बताइन्छ ।

तालिवानले आफूहरुले दुई दशकअघिको क्रुर शासनको सट्टा अब शान्तिपूर्वक शासन सञ्चालन गर्ने बताए पनि सर्वसाधारणले विश्वास गर्न सकेका छैनन् । यसबीच सरकार र विदेशी सेनासँग नजिक रहेको आरोप लगाउँदै बदला लिनसक्ने सम्भावनालाई मध्यनजर गरी अधिकांश नागरिक घरभित्र लुक्न बाध्य भएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार तालिवान लडाकूहरुले काबुल विमानस्थल बाहिर अफगानहरुको भीडमा अमेरिका र नाटो सेनासँग मिलेर काम गरिरहेका नागरिकको खोजीलाई तीब्र पारेका छन् । ती नागरिक फेला नपरे तिनका परिवारका अन्य सदस्यहरुलाई समेत पक्रने वा मार्नेसम्मको धम्की दिएका छन् ।

त्यस्तै तालिवानले जर्मनीको समाचार संस्था डचेवेलेसँग आवद्ध एक जना पत्रकारका आफन्तको हत्या गरेको छ भने अर्का एक जनालाई घाइते बनाएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

टिप्पणीहरू