उखर्माउलो खाडीबाट लेबीको रकमले नेतालाई टिभी उपहार

उखर्माउलो खाडीबाट लेबीको रकमले नेतालाई टिभी उपहार

नेपाली राजनीतिमा मौलाएको भ्रष्टचार,कमिशन र घुसखोरीका कुरा खासै नौला होइनन् । तर, संसदीय व्यवस्थाले भ्रष्टाचार बढाएको दाबी गर्दै क्रान्तिमा होमिएको पार्टीमा कार्यकर्ताले तिरेको लेबीको रकमले नेतालाई टिभी उपहार दिएको आरोप भने उदेकलाग्दो छ ।

कुरा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हो । सो पार्टीको अन्तर्राष्ट्रिय बिभागअन्तर्गत नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्वको संगठनभित्र विवाद छताछुल्ल हुँदै जाँदा लेबीको रकमले नेतालाई टिभी किनेर पठाएको घटना बाहिरिएको हो ।

नेपाली जनप्रगतिशील मोर्चा कतारका सल्लाहकार संयोजक रमेश गिरी र मोर्चाका मध्यपूर्व संयोजक बेद बोहोराबीच आन्तरिक विवाद चुलिएसंगै अहिले सामाजिक सञ्जालमा दोहोरी चलिरहेको छ । उक्त विवादमा पार्टीका विदेश विभाग ईञ्चार्ज धर्मेन्द्र बाँस्तोला ‘कन्चन’ समेत मुछिएका छन् ।

केही दिन पहिला बोहोराले गिरीमाथि सुन तस्करलाई संरक्षण गरेको आरोप लगाएका थिए । बोहोराको विज्ञप्तिले हलचल मच्चिएपछि विप्लवको हेडक्वार्टरले जवाफी वक्तव्य निकाल्यो । गिरीको बचाउ गर्दै ईञ्चार्ज कन्चनको हस्ताक्षरसहितको विज्ञप्ति सार्वजनिक भएपछि बोहोराले ‘विप्लवलाई खुला पत्र’ लेखेर मिडियामा छ्यापछ्याप्ती पारे ।

त्यहि खुला पत्रमा लेबीको रकमले नेतालाई टिभी उपहार दिएको खुलासा भएको हो । सल्लाहकार संयोजक गिरीले मनोमानी ढंगले संगठनको लेबीमार्फत संकलित रकमले नेता आजादलाई नेपाली रुपैयाँ ४५ हजारको टिभी उपहार पठाएपछि अर्का नेता कन्चनले पनि टिभी पठाउन आग्रह गरेको बोहोराले बताएका छन् ।

गिरीले निर्देशनात्मक शैलीमा लेखेको एउटा म्यासेजको स्क्रिनसट सार्वजनिक भएको छ, जहाँ टिभी पठाउनुपर्नाको कारण प्रष्ट पारिएको छ । नेतालाई टिभी पठाउनु आवश्यकता भएको बताएका गिरीले अहिलेको जमानामा नेताहरुले लजिस्टिक सामान प्रयोग नगरी गरिने क्रान्ति दुश्मनका अगाडि गफ मात्र हुने दाबी गरेका छन् ।

‘क. आजादलाई पठाएको टिभी नेपालमा ४५ हजार पर्ने र कतारबाट करिब १७ हजारमा गएको हुँदा लेबी रिसिभ गरेको प्रमाण दिने गरी कन्चनजीलाई पनि एउटा टिभी पठाउनुपर्ने आदेश छ। अहिलेको जमानामा नेताहरुले लजिस्टिक सामान प्रयोग नगरी गरिने क्रान्ति दुश्मनका अगाडि गफ मात्र हुन जान्छ । त्यसैले हिसाब पारदर्शी हुन जरुरी छ । तर नेताले किन मीठो खायो,किन राम्रो लगायो भन्ने हिसावाले सोचियो भने भोलि जनतालाई दिने सुखको योजना पनि गरिव मानसिकता बोकेर आउने खतराबारे सजग हुन जरुरी छ’,उक्त स्क्रिनसटमा भनिएको छ ।

टिप्पणीहरू