त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा, गुल्सन झा पहिलोपटक टाेलीमा

त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा, गुल्सन झा पहिलोपटक टाेलीमा

आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी पिएनजीसँग हुने एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आज १७ सदस्यीय क्रिकेट टोलीको घोषणा गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीब्र गतिका बलर गुल्सन झा पहिलोपटक परेका छन् ।

मेयर्स कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका तीब्र गतिका बलर गुल्शन पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि प्रारम्भिक टोलीमा सामेल भएका थिए । सिरिजका लागि घोषणा भएको टोलीमा स्थान बनाएका गुल्शनले पहिलो पटक राष्ट्रिय जर्सी पहिरिने मौका पाएका हुन् । गुलशनसँगै अर्का तीव्र गतिका बलर विक्रम शोब, शरद भेषावाकर र रोहित कुमार पौडेल पुनः राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग २/२ खेल खेल्ने छ भने सिरिज अगाडि पिएनजीसँग दुई एकदिवसीय खेल खेल्ने छ । त्यसका लागि नेपाली टोली मंगलबार विहान ८ बजे सलाम एयरबाट ओमान जाने तालिका रहेको छ । नेपालले सिरिज र पिएनजीसँग ओमानमा नै प्रतिस्पर्धा गर्ने छ । त्रिकोणत्मक सिरिज अगाडि पिएनजीसँग नेपालले भदौ २० मा पहिलो र २३ मा दोस्रो खेल खेल्नेछ । ओमानमा नै रहने टोलीलेत्यसको चार दिनपछि त्रिकोणात्मक सिरिज खेल्नेछ । यद्यपि खेल तालिका भने सार्वजनिक भएको छैन ।

लिग टु मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । जसमा दुई जित निकाल्दा दुई खेलमा नजित सुम्पिएको छ । घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले ४ खेल खेलेको हो । छैटौं स्थानमा रहेको नेपालले ४ खेलमा ४ अंक जोडेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । पिएनजीले ८ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन् ।

टिप्पणीहरू