‘गरिब’का नाममा ग्वामग्वामी

श्रम समितिका सभापति प्रभु साह म्यानपावर कम्पनीका दलालको चंगुलमा कसरी फसेका छन् भने सात पुस्तालाई पुग्ने एकैचोटि स्वाम्म !
रोजगारीका लागि मलेसिया जाँदा पाँच वर्षअगाडि प्रतिकामदारले भिसा प्रोसेसिङको नाममा जम्मा सात सय तिरे पुग्थ्यो । प्रभु साह अन्तर्राष्ट्रिय श्रम समितिको सभापति बनेर आएयता यो शुल्क बढेर साढे १७ हजार पुगेको छ । वैदेशिक रोजगार व्यवसायी संघका अनुसार अहिले पनि दैनिक ५ सय नेपाली कामदार रोजगारीको खोजीमा मलेसिया पुग्ने गरेका छन् । 

पहिले सात सय मात्र तिरे पुग्नेमा मलेसियाको भिएलएन नामक कम्पनीले भिसा प्रक्रियाका नाममा प्रतिकामदार ३ हजार २ सय रुपैयाँ थप गरी ३ हजार ९ सय पु¥याइयो । पछि सोही कम्पनीको नाम भिएलएनबाट परिवर्तन गरी अर्काे कम्पनी खडा गरी वान स्टेप सेन्टर (ओएससी) को नाममा राहदानी संकलनका लागि भन्दै २ हजार ८ सय रुपैयाँ थपेर ६ हजार ७ सय रुपैयाँ पुग्यो । त्यस्तै, केही समयअघि मलेसियामा जाने कामदारलाई मलेसियामा कुनै आपराधिक मुद्दाको छ कि छैन भन्ने परीक्षण गर्न जिएससी भन्ने संस्था खडा गरेर (आइएससी) का नाममा प्रतिकामदार थप ३ हजार २ सय रुपैयाँ त्यसैमा शुल्क थप गरियो । बायोमेट्रिक मेडिकलका नाममा मलेसिया जाने कामदारले अर्को ४ हजार ५ सय रुपैयाँ थपियो । 

 यसरी विदेश जाने कामदारको यो वा त्यो नाममा झण्डै साढे १७ हजार रुपैयाँ मलेसियाको कम्पनीलाई बुझाउँदै आएका छन् । दैनिक पाँच सय कामदार त्यसरी मलेसिया उड्दा दैनिक १६ लाख रुपैयाँभन्दा बढी, मासिक मलेसियाको माइग्राम नामक कम्पनीको पोल्टामा अवैध बाटोबाट सवा ४ करोड रुपैयाँ नेपाली हुण्डीमार्फत मलेसिया पुग्ने गरेको वैदेशिक रोजगार व्यवसायी बताउँछन् । 

एकातिर, मलेसिया सरकारले भने उक्त कम्पनीमाथि आफ्नो स्वामित्व नरहेको बताइरहेको छ अर्कातिर प्रभु साहहरूकै सक्रियतामा उक्त मलेसियन कम्पनीले नौ महिनादेखि स्वास्थ्य परीक्षणको नाममा दैनिक लाखौं रकम उठाएर हुण्डीमार्फत पैसा आफ्नो मुलुकमा पठाइरहेको छ । उनै प्रभुहरूको सेटिङमा नेपालका ३९ वटा संस्थाले वैदेशिक रोजगारमा मलेसिया जाने कामदारको स्वास्थ परीक्षण गर्न अनुमति पाएका छन् ।

टिप्पणीहरू