४१ वर्षपछि भारतीय जेलमुक्त दुर्गाप्रसादलाई न बाँच्नु,न मर्नु

४१ वर्षपछि भारतीय जेलमुक्त दुर्गाप्रसादलाई न बाँच्नु,न मर्नु

-आशिका लम्साल

आफनो सरसफाई आफैँ नगर्ने र अरुलाई पनि गर्न नदिने । जे पायो त्यही खाइदिने । केही भनेमा हेरचाह गर्ने परिवारका सदस्यलाई नै आक्रमण गर्ने । अनि जतिबेला पनि घर छाडेर अलपत्र अवस्थामा जताततै हिँडिदिने । कसैसँग रिस उठ्यो भने थप्पड हान्नेलगायतका अमर्यादित व्यवहार गर्न थालेपछि भारतीय जेलबाट मुक्त गराएर नेपाल ल्याइएका इलाम माईनगरपालिका–१०,लुम्बाकका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिनालाई अन्ततः संरक्षणका लागि मानव सेवा आश्रमको जिम्मा लगाइएको छ ।

उनलाई हेरचाह गर्दै आएका भतिज १९ वर्षीय गोपाल तिम्सिना,मानव अधिकार संरक्षण मञ्च इलाम र नगरपालिकाका प्रतिनिधिहरुले बुधबार दुर्गाप्रसादलाई विराटनगर–२, पोखरियास्थित मानवसेवा आश्रमको पुरुष शाखामा छाडेर गएका छन् । अब दुर्गाप्रसाद आफूहरु जस्तै अन्य ६० जना भन्दा बढी साथीहरुसँग घेराबन्दीमा बस्न बाध्य हुनेछन् । मनोचिकित्सकबाट नियमित चेकजाँच र निरन्तर औषधी सेवन गरेर थेरापी गरिएमा दुर्गाप्रसादको अवस्थामा सुधार हुन सक्नेछ । तर,आश्रममा सामान्य उपचार मात्र हुनेभएकाले उनको स्वास्थ्य अवस्थामा सुधार आउन गाह्रो देखिन्छ ।

दुर्गाप्रसादकी आमा ८४ वर्षीया बृध्द र अपाङ्गतासमेत भएकीले केही गर्न सक्दिनन् । माहिली बहिनी ५४ वर्षीया पवित्रा पनि मनोरोगी छन् । उनको पनि हालसम्म कुनै उपचार भएको छैन ।

२० वर्षको लक्का जवान उमेरमा कमाउन भारत गएका दुर्गाप्रसादलाई दार्जिलिङ जिल्लाको एउटा गाउँमा व्यक्ति हत्याको झुठो आरोपमा ४१ वर्ष भारतीय जेलमा सडाइएको थियो । गत फागुन ८ गते २०७७ मा उनलाई भारतका लागि नेपाली महावाणिज्यदूत इश्वर पौडेल,स्थानीय एमेच्योर रेडियो क्लब र अधिकारकर्मीहरुको पहलमा पश्चिम बंगालको कलकत्तास्थित दमदम जेलबाट मुक्त गराएर इलामस्थित घर ल्याइएको थियो ।

शुरुमा हराएका दुर्गाप्रसाद घर आएकोमा खुशी भएको परिवारले हिजोआज बोझ मानेको छ । त्यसमाथि फेरि हराउने वा कतै भीरबाट लड्ने भयले परिवार चिन्तित भएको बताइन्छ । एकातिर कमजोर आर्थिक अवस्थाको परिवार,अर्कोतिर परिवारमा दीर्घ रोगी भएको अवस्था ।

४१ वर्षपछि घर फर्कंदा हर्षित परिवारका सदस्यहरुले दुर्गाप्रसादलाई हेरचाह गर्न र उनलाई सम्हाल्न गाह्रो भएपछि उपचारसहितको संरक्षणका लागि सरकार र सामाजिक संघ सँस्थाहरुसँग गुहार मागेका हुन् । उनीहरुले दुर्गाप्रसादलाई उपचारसहित कुनै अस्पताल वा पुनर्स्थापना केन्द्रमा राखिदिन जनप्रतिनिधि र अधिकारकर्मीहरुलाई आग्रह गरेका हुन् ।

भतिज गोपालका अनुसार जस्तोसुकै अवस्थामा घर छाडेर हिँड्न थालेका दुर्गाप्रसाद साउन ३१ गतेका दिन झण्डै एक दिनको बाटो हिँडेर गोदक पुगेका थिए । राती प्रहरीले चिनेर उनको उद्धार गरी परिवारलाई जिम्मा लगाएको थियो ।

थोरै चेत भएका दुर्गाप्रसाद आजकल पूरै भ्रममा बाँचिरहेका छन्

लामो समय भारतको जेलमा बसेर मानसिक सन्तुलन गुमाएका ६१ वर्षका दुर्गाप्रसाद इलामको माइनगरपालिका १० लुम्बाकस्थित घर फर्कंदा निक्कै हर्षित देखिन्थे । बेला बेलामा थोरै बोल्ने उनले त्यो बेला आमालाई भेट्दा हर्ष लागेको र जेलकोभन्दा घरको भात मीठो भन्दै केही गीतसमेत गुनगुनाएका थिए ।

त्यो बेला थोरै भए पनि चेत भएका दुर्गाप्रसाद हिजोआज पूरै भ्रममा बाँच्न थालेका छन् । उनले ओछ्यानमै पिसाब फेर्न,जे भेट्यो त्यही खान थालेका छन् । त्यसो नगर्न सुझाउनेलाई आक्रमणको प्रयास समेत गर्ने गरेका छन् । बुधबार विराटनगरस्थित मानव सेवा आश्रममा पुर्याइएका दुर्गाप्रसादले आश्रमका सहयोगीहरुलाई केही गीत सुनाएका थिए । केहीबेर अन्य कुरा गरेर समेत हँसाएका थिए । उनले अरुले लेख्दै गरेको हाजिरी पुस्तिका खोसेर ठूला अक्षरमा आफनो बुबाको नाम र ठेगाना लेखिदिए ।

सम्पूर्ण उपचार खर्च व्यहोर्ने प्रदेश १ सरकारको घोषणा,तर सोधपुछ नै गर्न छाडिएको गुनासो

घर फर्किएपछि मानसिक अवस्था ठीक नभएका दुर्गाप्रसादको सम्पूर्ण उपचार खर्च व्यहोर्ने प्रदेश १ सरकारले घोषणा गरेको थियो । त्यो बेला प्रदेश सरकारले विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरेर १५ दिन उपचारसमेत गराएको हो । भतिज गोपालका अनुसार चिकित्सकहरुले दुर्गाप्रसादलाई मानसिक रोगी भनेर कुनै औषधी लेखिदिएनन् । बरु पूर्ण स्वस्थ रहेकाले तत्काल घर लैजान भनेका थिए ।

प्रदेश सरकारले उक्त खर्चबाहेक अरु कुनै सहयोग नगरेको र उपचार फलोअपका लागि कसैले सोधपुछसमेत नगरेको भतिज गोपालले बताए । भने,‘खै प्रदेश सरकारले सबै उपचार खर्च व्यहोर्ने भनेको थियो,तर अस्पतालबाट पठाएपछि कुनै सोधखोज भएको छैन ।’

नातामा भाइ पर्ने प्रदेश १ सांसद तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धिरेन शर्मा उपचारको अभावमा दुर्गाप्रसादको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको बताउँछन् । समस्यालाई नजिकबाट सांसद शर्माले कुनै पुनर्स्थापना केन्द्र वा अस्पतालमा राखेर दुर्गाप्रसादलाई उपचार गराउन आफूले पहल गरे पनि सफल नभएकोले अधिकारकर्मीलाई गुहारेका थिए ।

सांसद शर्माकै आग्रहमा मानवअधिकार रक्षक परिषद् प्रदेश १ का सल्लाहकार कोषराज न्यौपानेसहितका अधिकारकर्मीहरुले दुर्गाप्रसादको उपचारसहित संरक्षण गर्नेगरी तत्काल मानव सेवा आश्रममा राख्ने पहल गरिदिएका हुन् । ‘पहल गर्दा पनि कुनै उपाय फेला नपरेपछि परिवारमा थप समस्या नआओस् र दुर्गाप्रसादको सुरक्षा जोखिम टरोस् भनेर मानवसेवा आश्रमलाई संरक्षणमा लिन आग्रह गरेका हौं,’अधिकारकर्मी न्यौपानेले भने ।

यद्यपि अधिकारकर्मीहरुले दुर्गाप्रसादको उपचारसहित संरक्षण गर्ने जिम्मा नेपाल सरकारको भएकोले दायित्व पूरा गर्नुपर्नेमा जोड दिइरहेका छन् । न्यौपाने भन्छन्,‘दुर्गाप्रसादलाई अल्पकालीन रुपमा आश्रममा राखेर हुँदैन । दीर्घकालीन संरक्षणका लागि सरकारले नै जिम्मा लिनुपर्छ ।’

मनोचिकित्सक भन्छन् ,‘निको हुन सक्छन्’

कोशी अस्पताल विराटनगरका मनोचिकित्सक डा.प्रभात चालिसे दुर्गाप्रसादको उमेर बढि भएकोले उनी पूर्णरुपमा स्वस्थ हुन नसके पनि लामो समय उचित हेरचाहसहित उपचार हुनसकेमा उनको अवस्थामा धेरै परिवर्तन आउने र आफ्नो सरसफाई र सुरक्षा आफैँ गर्न सक्षम हुनसक्ने बताउँछन् । भन्छन्,‘उपचारसहित उचित हेरचाह नहुँदा दुर्गाप्रसादको रोग बढेको हुनसक्छ,यसैले उनलाई संरक्षणसहित उपचारको खाँचो छ ।’

टिप्पणीहरू