कीर्तिपुर एमालेमा ओली समूहभित्रै दुई फ्याक,संघीयता चाहिँदैन भन्नेलाई बेलैमा चिन्न आग्रह « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

कीर्तिपुर एमालेमा ओली समूहभित्रै दुई फ्याक,संघीयता चाहिँदैन भन्नेलाई बेलैमा चिन्न आग्रह

प्रकाशित मिति :  ५ भाद्र २०७८, शनिबार १२:००


आज कीर्तिपुर नगर कमिटीको आयोजनामा ९ नम्बर वडाको नयाँबजारस्थित पुरानै एमाले कार्यालयमा साइनबोर्ड झुण्ड्याइएपछि अध्यक्ष केपी शर्मा ओली निकट भनिएकाहरुबीच नै दुई फ्याक देखिएको छ ।

कीर्तिपुर नगर कमिटीका अध्यक्ष विकास महर्जन,वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर,पूर्वमेयर हिराकाजी महर्जनलगायत हिजोका दिनमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह निकट भनेर चिनिएका थिए । आज सोही समूहले एमालेको पुरानै पार्टी कार्यालयमा साइनबोर्ड झुण्ड्याएको हो ।

तर,विगतमा ओली समूहको रुपमा परिचित कीर्तिपुर नगरकमिटी अध्यक्ष राधाकृष्ण बस्नेतको नेतृत्वमा गठित ४२ सदस्यीय नगर कमिटीलाई जिल्ला कमिटीले अनुमोदन गरेपछि नजिकैको अर्को घरमा यसअघि नै पार्टी कार्यालय स्थापना गरिएको थियो । आज अर्को कार्यालय समेत स्थापना भएपछि कीर्तिपुर नगरपालिकामा स्पष्टत: एमालेमा दुई खेमा भएको हो ।

आज साइनबोर्ड झुण्ड्याउने क्रममा बोल्दै कीर्तिपुरका पूर्वमेयर हिराकाजी महर्जनले ओली सरकारको चर्को आलोचना गर्नुभएको छ । उहाँले ८ खर्ब रुपैयाँ मात्र भएको राष्ट्रिय ऋण पछिल्लो तीन वर्षमा १७ खर्ब पुगेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘केपी र उहाँको सरकारले व्यक्तिवादी चरित्रलाई महत्व दिएका कारण पार्टीभित्र पछिल्लो समस्या आएको हो । राजनीतिमा वैचारिक द्वन्द हुन्छ तर पार्टी क्रान्तिकारीपनलाई कहिले छोडेर धनको पछि लाग्यो ।’

उहाँले एमाले अध्यक्षको गलत कार्यको भण्डाफोर गर्दै आफूले सँधै गलतलाई गलत भनेको स्मरण गराउनुभयो । उहाँको भनाइ छ, ‘पार्टी नेतृत्वको गलत रवैया विरुध्द मशाल समेत बालेँ । त्यसैले अहिले पनि पार्टी कब्जा गर्ने दुस्वप्न नदेखे हुन्छ ।’

कार्यक्रममा बोल्दै कीर्तिपुर नगर कमिटीका अध्यक्ष विकास महर्जन र वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले पनि पार्टीभित्र अनावश्यक गुटबन्दी सिर्जना नगर्न संस्थापन पक्षलाई आग्रह गरेका छन् । सुरेन्द्रको भनाई थियो, ‘केपी ओली,विद्या भण्डारी,खगराज अधिकारीलगायतले हिजोका दिनमा संघीयता मुलुकलाई आवश्यक छैन भनेर सही धस्काएको क्षणलाई बिर्सन भएन ।’


प्रतिक्रिया दिनुहोस !