मर्नेका नाममा मालामाल

कोही नेता दिवंगत भए भने तिनको नाम भजाएर आसेपासेले कसरीसम्म आफ्नो रोजीरोटी चलाउँछन भन्ने बुझ्न टाढा गइरहनै पर्दैन सिंहदरबार छिरे पुग्छ । दक्षिण र उग्रवामपन्थीले वर्ष दिनमा मात्र अर्वांै रकम दिवंगत नेताका नाममा लगेर आफ्नो भातभान्छा चलाएको उराठलाग्दो दृश्य देख्न पाइन्छ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयतिर ।  

आफ्ना कार्यकर्तालाई पोस्न यी दुई पार्टीले अन्धाधुन्ध प्रतिष्ठान खडा गरेर राज्यकोषको अर्वांै सम्पत्तिमा ‘तर’ मारेको विरक्तलाग्दो दृश्य देख्न सकिन्छ ।

माओवादीले निर्मल लामादेखि पोष्टबहादुर बोगटी, नरबहादुर कर्माचार्य, सुरेश वाग्ले, कृष्ण सेन ‘इच्छुक’सम्मका नाममा प्रतिष्ठान खडा गरी कार्यकर्ता पोसेको छ । निर्मल थापा प्रतिष्ठानका नाममा ६० लाख, सुरेश वाग्ले सहिद प्रष्ठिानको नाममा ९७ लाख, पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानलाई ८० लाख, गौरीशंकर खड्का स्मृति प्रतिष्ठानको नाममा ७ लाख, इच्छुक सांस्कृतिक प्रतिष्ठानलाई ७० लाख रुपैयाँ दिइएको छ । त्यस्तै नरबहादुर कर्माचार्य प्रतिष्ठानले समेत ७० लाख रुपैयाँ उछिट्याएको छ । माओवादीको जनयुद्ध संरक्षण केन्द्रको पोल्टामा ७० लाख रुपैयाँ परेको छ । त्यस्तै, माओवादी कार्यकर्ता बासु शाक्य परिषद्ले ५ लाख र माओवादीको जनसांस्कृतिक प्रतिष्ठानले ५ लाख रुपैयाँ पाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको विवरणअनुसार चालु आर्थिक वर्षमा मात्रै माओवादी नेता–कार्यकर्ताको नाममा स्थापना भएका प्रतिष्ठानले ५ करोड ४६ लाख रुपैयाँ लगेका छन् । माओवादीसँग जोडिएका प्रतिष्ठानको संख्या २२  भेटिएको छ । 

उस्तै छ कांग्रेसको पनि यो वर्ष मात्रै बिपी र जिपीको नाममा खुलेका प्रतिष्ठानले ५ करोड २५ लाख रुपैयाँ राज्यकोषबाट लगेको भेटिन्छ । बिपीको नाममा खुलेका संस्थाले २ करोड ८० लाख रुपैयाँ र जिपीको नाममा खुलेको प्रतिष्ठानले २ करोड ४५ लाख रुपैयाँ त्यहाँबाट लगेका हुन् ।

काठमाडौंमा बिपी कोइराला मेमोरियल ट्रस्टलाई २ करोड, सुन्दरीजलस्थित बिपी संग्रहालयलाई ४५ लाख, जननायक बिपी कोइराला स्मृति ट्रस्टको पोल्टामा ५ लाख, बिपी विचार राष्ट्रिय समाजलाई २० लाख, बिपी चिन्तन प्रतिष्ठानलाई १० लाख, जिपी कोइराला फाउन्डेसनको नाममा २ करोड ४५ गएको देखिन्छ । दक्षिणपन्थ र उग्रवामपन्थको सरकारले वर्ष दिनमा एउटै मन्त्रालयमा मच्चाएको लुटको फेहरिस्त हो यो । यस्तो लुटको कहानी हरेक मन्त्रालयमा भेटिन्छ । 

टिप्पणीहरू