ठग विदेशतिर ठमठम

ठग्नेले अब विदेश बस्नेलाई पनि बाँकी नराख्ने भए ! यस्तै गरेका छन्, गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए युके) का युवा संयोजक हरि आचार्यले । उनले वर्क परमिट निकालिदिने लोभ देखाएर बेलायतमा रहेका कैयौं नेपाली विद्यार्थीका झण्डै ५० हजार पाउण्ड (करिब ६५ लाख रुपैयाँ) ठगेको उजुरी एनआरएनए युकेसम्म पुगेको छ ।

एनआरएनए युकेका यी युवा संयोजकविरुद्ध दिनप्रतिदिन सर्वसाधारणको उजुरी परेपछि नेतृत्वले उनलाई पटक–पटक सचेत गराउँदा पनि गुमनाम छन् । युवा संयोजकको जिम्मेवारीलगत्तै आर्थिक शोषणतिर लागेका उनी ठगीबाट उम्कन अहिले समुदायबाटै गायब छन् । अचेल संघ र अन्य नेपाली समुदायका कुनै पनि कार्यक्रममा उनको सहभागिता देखिन्न । लण्डन उलबीच रहेको क्याप्स कन्सल्टेन्सीमार्फत उनले वर्क परमिट निकालिदिने प्रलोभन देखाएर विद्यार्थीसँग शुरुमै पाँच देखि १० हजार पाउण्ड लिने गर्थे । प्रमाण रहने भएर रकम पनि आफ्नो खाताको सट्टा अर्काको खातामा हाल्न लगाउने र पैसा पाएपछि मोबाइल र सामाजिक सञ्जालबाट क्लाइन्टलाई ब्लक गरी सम्पर्कबाटै टाढिने उनको चलाखी थियो । काम गरेको देखाउन केहीलाई उनले नक्कली सर्टिफिकेट अफ स्पोन्सरसीप (सिओएस) राखिदिएर विद्यार्थी झन् घर न घाटका भएका छन् । उनले राखिदिएको नक्कली सर्टिफिकेटका कारण कैयौँ विद्यार्थी समातिएर नेपाल फर्किए भने कतिपय अहिले पनि अदालतमा मुद्दा खेपिरहेका छन् । 

‘विद्यार्थी भिसा सकिने बेला भएपछि वर्क परमिट लिन आचार्यलाई पाँच हजार पाउण्ड एड्भान्स दिएको थिएँ । डेढ वर्ष भइसक्यो, न वर्क परमिट, न पैसा फिर्ता दिन्छ, न सम्पर्कमा नै छ’, एक पीडितको गुनासो छ । ती पीडितले बेलायतमा पत्रकार हुँ भन्नेहरू पनि एजेन्टकै पक्षमा लागेर आफूलाई सहयोग नगरेको आक्रोश व्यक्त गरे । बेलायतको कानुनले बन्देज लगाए पनि उनले दुई एजेन्ट नेपाल फर्किएका बेला भौतिक कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।  

आचार्यले विद्यार्थीबाट पैसा लिएपछि आवेदन प्रक्रिया बेलायतको वकिङस्थित स्पेश इन्टरनेशनल लिमिटेडका विष्णुप्रसाद खरेलसँग गर्थे । खरेल सतहमा नदेखिई आचार्यलाई दलालको भूमिकामा अघि सारेर दुई जनाले विद्यार्थीका हजारौं पाउण्ड रकम असुलेको आरोप छ । आचार्यले धोका दिएपछि विद्यार्थी खरेललाई खोज्न घरैसम्म पुगेका उदाहरणसमेत छन् । उनको ठगीधन्दा चाल पाएपछि क्याप्स कन्सल्टेन्सीले एजेन्टबाट निकालिसकेको छ । 

टिप्पणीहरू