एमालेले बोर्ड झुण्ड्याउने, काँग्रेसले रिसोर्टमा प्रशिक्षण दिने

एमालेले बोर्ड झुण्ड्याउने, काँग्रेसले रिसोर्टमा प्रशिक्षण दिने

आज काठमाडौंमा विभिन्न राजनीतिक दल तथा संघ संस्थाका कार्यक्रम तय भएका छन् । जसमा एमालेको कीर्तिपुर नगर कमिटीले बोर्ड झुण्ड्याउने कार्यक्रमलाई पनि धुमधामसँग मनाउँदै छ । काँग्रेसले महँगो रिसोर्टमा प्रशिक्षण कार्यक्रम राखेको छ ।

सोहीअन्तर्गत राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय खेलकुद विभागले महिलालाई आत्मरक्षा तालिम दिने कार्यक्रम शुरु गरेको छ ।
उता नेपाल कम्युनिष्ट पार्टी (एमाले) कीर्तिपुर नगर कमिटीले पार्टी कार्यालयमा नयाँ बोर्ड झुण्डाउने कार्यक्रम राखेको छ । नयाँबजारमा बोर्ड झुण्ड्याउन लागिएको हो ।

त्यसैगरी नयाँ नेपाल निर्माण अभियानले नेपालको विगत, वर्तमान र भविष्य विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रम साझा चुलो किचेन,बसुन्धारामा हुनेछ ।

जनता समाजवादी पार्टी, पालुङटार–काठमाडौँ सम्पर्क समितिले जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ । कार्यक्रम मदर्स पार्टी प्यालेस, वनस्थली खरिबोटमा राखिएको हो ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपा,ललितपुरमा आज पनि नेता तथा कार्यकर्ताले बिहान ९ बजेदेखि धर्ना कार्यक्रम सुरु गर्दैछन् ।

उता,अष्टलक्ष्मी शाक्य पहिलो महिला मुख्यमन्त्री बन्नुभएकोमा बधाई कार्यक्रम राखिएको छ । धुम्बाराहीको मुनलाइट क्याफे तथा ब्याङ्क्वेटमा बिहान ११ बजे कार्यक्रम राखिएको हो ।

नेपाली काँग्रेसले चन्द्रागिरीको टुप्पोमा रहेको चन्द्रागिरी हिल्समा प्रशिक्षण कार्यक्रम राखेको छ । काँग्रेसको चन्द्रागिरी नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता प्रकाशमान सिंह प्रमुख अतिथि हुने बताइएको छ । प्रशिक्षण दिउँसो साढे १ बजे राखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो २ बजे ललितपुरको ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवनको उद्घाटन गर्नुहुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले झेलिएका विभिन्न समस्या र तिनको समाधानबारे आज दिउँसा ३ बजे छलफल गर्दैछन् । उनीहरुले विश्वविद्यालयको घडी भवनमा छलफल कार्यक्रम राखेका हुन् ।

उता,माओवादी निकट वाइसिएल नेपालले आज दिउँसो ४ बजे यो यो ब्याङ्क्वेट भक्तपुरमा कार्यक्रम राखेको छ । वाईसिएल सूर्यविनायक नगर कमिटीले नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनको प्रमुख आतिथ्यमा नगर भेला तथा पार्टी प्रवेश कार्यक्रम गर्ने ।

सामाजिक सुरक्षा योजना कार्यान्वयनको माग राख्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आज सातवटै प्रदेशमा एकैपटक नारा जुलुससहित श्रमिक सचेतना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

नेपाल विद्यार्थी संघ,त्रिभुवन विश्वविद्यालय समितिले स्नातकोत्तर तह सामाजिक कार्य विभागका संयोजक शुक्रराज अधिकारीको कार्यकक्ष र प्रशासन शाखामा,कालिमाटीको काठमाडौं इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीले लेखा शाखामा लगाएको तालाबन्दी आज पनि जारी राखेका छन् ।

त्रिभुवन विश्वविद्यालयका नेपाल विद्यार्थी संघ,अनेरास्ववियु, अखिल (क्रान्तिकारी) ले स्कुल अफ म्यानेजमेण्टका निर्देशक प्राध्यापक डाक्टर पुष्कर शर्माको कार्यकक्षमा लगाएको तालाबन्दीलाई आज पनि निरन्तरता दिएका छन् ।

त्यसैगरी,क्याथपोर्ड कलेज ललितपुर र पशुपति बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले लगाएको तालबन्दी आज पनि जारी रहने बताइएको छ ।

टिप्पणीहरू