झगडिया श्रीमान् बाटैमा झ्यानापुल्टुङ

बजारमा ‘झगडिया न्यायाधीश’ भनेर चिनिएका मात्र होइनन्, साँच्चै उमेर विवादमा यी दुई अदालतका झगडिया नै हुन् पनि ! तर, हिजो सर्वोच्च अदालतको दृश्य कस्तो रह्यो भने, दुई ‘झगडिया’ साथ–साथ, एउटै बेञ्चमा ! सुशीला कार्कीले नयाँ–नयाँ र पुरानो–पुरानोको अलग अलग बेञ्च बनाउने गरेकी थिइन् । तर, कामु प्रधानन्यायाधीश तोकिएर पहिलोपटक इजलास तोक्दा गोपाल पराजुलीले पहिलो दिनको बेन्च संरचनामा सुधार गरे । आफ्नै झगडिया आनन्दमोहन भट्टराईलाई आफूसँगै राखे । उनले एउटा फुल बेञ्चमा १० र अर्कोमा २३ गरी जम्मा ३३ वटा मुद्दाको पेसी चढेको फुल बेञ्चमा झगडियालाई साथ लिएका हुन् । 

हिजो ६१ वटा पेसी चढेको ४ नं. इजलासमा पुराना न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ र नयाँमध्येकी मीरा खड्कालाई राखिदिए । २७ वटा पेसी चढेको ५ नं. इजलासमा पुराना न्यायाधीश चेलेन्द्रसमशेर राणासँग नयाँ तेजबहादुर केसीलाई मिसाइदिए । पुराना न्यायाधीश जगदीश शर्मा पौडेल एउटा पेसी चढेको ६ नं. इजलासमा परेका थिए, जहाँ साथमा राखिदिए नयाँ सपना प्रधान मल्ललाई । न्यायाधीश दीपककुमार कार्की अदालतका क्याडर हुन् । उनी हिजो ४९ पेसी र दुई फैसला भएको ७ नं. इजलासमा परेका थिए, जहाँ नयाँ न्यायाधीश अनिलकुमार सिन्हालाई साथ लगाइएको थियो । त्यस्तै, २९ पेसी, ९ स्थगित र ७ वटा हेर्न नमिल्ने भनी तोकिएको ८ नं. बेञ्चमा अदालतबाट बढुवा भएका केदार चालिसेसँग नयाँ न्यायाधीश प्रकाशमानसिंह राउत पारिएका थिए । त्यस्तै, सिनियर न्यायाधीश दीपकराज जोशीसँग जुनियर न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई मिलाएर २ नं. इजलासमा ४० पेसी र ७ स्थगतको मुद्दा पारिएको थियो । 

उता, प्रहरीका डिआइजी नवराज सिलवाललाई बन्दी प्रत्यक्षीकरणका लागि अदालतमा उपस्थित गराउनु भन्ने आदेश भएपछि अदालतमा केही रमाइला दृश्य देखिए । साँझपख सिलवाललाई लिएर प्रहरी भ्यान अदालतमा छि¥यो । बिहान सिलवाललाई लिन जाँदा उनले ‘आफैँ आउँछु’ भनेर आफू अघि लागे । उनी सोझै शम्भु थापाकहाँ लम्किएँ । अर्का वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले ‘म पनि थिएँ’ भनेका छन् । साँझ प्रहरीले शम्भु थापाको जिम्मा लगाउन नवराजलाई पनि सँगै लग्यो । टीकारामले निकटस्थसँग भने, ‘मलाई घिस्याएर छाड्यो !’

वास्तवमा नवराजलाई लिन गएपछि डिएसपी चन्दले तानतुनसम्म गरेकै हुन् । बिहान शम्भुको घरबाट नवराज लगिएपछि उनको फर्मबाट अधिवक्ता पूर्ण राजवंशीले तत्कालै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरे । साँझ नवराजलाई अदालतमा ल्याएपछि टीकाराम भ्यानभित्र छिरे । कार्यालय समय सकिएको कारण प्रहरीले सिलवाललाई घरमै लगेर छाडिदिने भयो । टीकारामले रजिष्ट्रार नृपध्वज निरौलालाई फोन गरेर ‘मलाई समेत लिएर गयो’ भने । कोटेश्वर, बालकुमारी पुलमा पुगेपछि प्रहरीले टीकारामलाई झ्यानापुल्टुङको शैलीमा निकाले । नवराज त्यहीँको कोलोनीभित्र, भाडाको फ्ल्याटमा बस्छन् ।

त्यस्तै, सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता हुनु केही छिन पहिले निर्णय सुनाइएको प्रहरीको बहुचर्चित सुडान घोटाला प्रकरणमा शम्भु भारतीले एकजना वकिललाई मुद्दा मिलाइदिने शर्तसहित पाँच लाख पेश्की दिए । तर, फैसला हुँदा पूर्वआइजिपीउपर विशेष अदालतबाट भएको कैद र जरिवाना सर्वोच्चले घटाइदियो । तर, शम्भुको हकमा १४ करोड २० लाख आठ हजार तीन सय जरिवाना र एक वर्ष कैदको विशेषको निर्णयलाई सर्वोच्चले केही पनि तलमाथि नगरी सुनाइदियो । त्यसदिन शम्भुपक्षधर केही व्यक्ति सर्वोच्चमा गाइँगुइँ गर्दै थिए, ‘मिलाइदिन्छु भन्ने वकिल खोइ ?’

टिप्पणीहरू