मै हुँ भन्ने नेपालका नेता, न यता न उता

मै हुँ भन्ने नेपालका नेता, न यता न उता

राजनीतिका व्याख्याताहरू भन्छन्, ‘नगर्नु, पार्टी विभाजन गरिसकेपछि एउटा निश्कर्षमा पु¥याएर छाड्नु !’ तर, नेपालमा जति पनि पार्टी विभाजित भए, ती कसैले विभाजनकालका तर्क, अडान र दृष्टिकोणलाई स्थायी बनाएनन् । बरु, प्रकारान्तरमा एकता वा विलयमा गए ।

महाकाली सन्धिले उत्पन्न गरेको विग्रहपूर्ण वातावरणमा वामदेव गौतम–सीपी मैनालीहरूले ०५४ सालमा एमाले विभाजन गरेर नेकपा (माले) पुनर्गठन गर्नुभयो । तर, ०५६ को निर्वाचनमा व्यहोरेको पराजयपछि ०५८ मा एमालेतिर फर्किने काम भयो । यदि वामदेव एमाले फर्किनेतिर नलाग्नुभएको भए देशमा एउटा फरक परिस्थिति हुन्थ्यो । तर, पछि उहाँहरू आत्तिनुभयो । सरकारमा बसिरहेर माले चुनावमा गएको भए केही न केही सीट जित्थ्यो ।

तर, कम्युनिष्ट आन्दोलनको दुर्भाग्य कस्तो भैदियो भने, त्यसबेला वामदेव एकथान आईजीपीको पछि लाग्नुभयो, अनि प्रचण्डचाहिँ ०६४ मा प्रधानसेनापतिको चक्करले प्रचण्ड बहुमत हुँदाहुँदै ९ महिनामै ओरालो यात्रातिर जानुभयो । विभाजनको बाटो रोज्दै ०६८ सालतिर अशोक राईहरू अहिलेसम्म फरक दलका रुपमा क्रियाशील हुनुहुन्छ । राप्रपाको हालत पनि त्यही नै हो ।

अहिले केपी ओलीको हठ र दम्भका कारण एकताप्रतिको धैर्यतालाई तोड्ने ठाउँमा माधव नेपालहरू पुग्नुभएको छ । उहाँले ‘आत्मसमर्पण गर्न नजाने’ नै भनिसक्नुभएको छ । त्यसैले एमालेमा एकताको कुरा अब विलौनामात्रै हो । केपीलाई हुँदाखाँदाको दुईतिहाई निकट सरकार प्रचण्ड र माधवले सिध्याए भन्ने परेकै छ । दरबारजस्तो बालुवाटारबाट बालकोटको बार्दलीमा पुग्नुको पीडा पनि उस्तै छ । त्यसमाथि उहाँलाई फेरि एकपल्ट अध्यक्ष हुनुहुन्छ ।

पटक–पटक पार्टीका बैठक र छलफलहरूमा केपीले ‘अल्पमतमा पर्दिनँ’ भन्नु भएकै हो । त्यसैले उहाँ माधवहरूलाई फर्काएर महाधिवेशनमा निर्विरोध, निर्विकल्प, निश्कंटक अध्यक्ष बन्ने बाटो छेकाउन चाहनुहुन्न, यसैनिम्ति उहाँको ७० वर्षे उमेरहद अब हट्नेवाला छ ।

यसमा कुनै सन्देह छैन कि, ०७४ को निर्वाचनमा ओलीको एक किसिमको अडानयुक्त छविको कारण वामगठबन्धनले ऐतिहासिक परिणाम ल्याएकै हो । तर, परिस्थिति अब त्यस्तो रहेन । यद्यपि, ओली समूहका कतिपय दिग्गज मानिने नेतामा के भ्रम छ भने अब पनि त्यही आधारमा चुनाव जितिन्छ † अरु त अरु सुवास नेम्वाङजस्ता नेता पनि त्यही विश्वास पालेर बस्नुभएको छ । उहाँहरूलाई आफूहरूको प्रतिस्पर्धी कांग्रेसमात्रै हो भन्ने लागेको छ । त्यही सोचेर होला, भीम रावल, योगेश भट्टराई, सुरेन्द्र पाण्डेहरूलाई ‘आउने भए आओ, ठाउँ दिन्छु’ भन्ने गर्नुभएको छ ।

तर बुझिन्छ के भने, केपीले दिनचाहिँ केही चाहनुभएको छैन । उहाँले कार्यदलबाट प्रस्तावित एकताका १० बुँदे प्रस्तावलाई त विधान संशोधनबाट बन्द गरिसक्नुभएको छ । माधवको बहुमत रहेको पोलिटब्यूरो भंग गर्न लाग्नुभएको छ । विश्वका कम्युनिष्ट पार्टीमा पोलिटव्युरो भनेको नीति तय गर्ने मुटु हो ।

त्यसैले देशको राजनीतिले एमालेलाई औपचारिक रुपमा विभाजित गर्ने गम्भीर मोड पक्डिएको छ । अस्ति सोमबार मध्यरातबाट प्रतिनिधिसभाको चालु अधिवेशन समाप्त भएको छ । एमाले विभाजनका कानुनी प्रक्रिया शुरु भइसकेका छन् । विभाजनमा जान नहुने र एकतामै जोड गर्नुपर्छ भन्ने भीम रावल, गोकर्ण, योगेशहरूका कुरा माधवले सुन्न छाडिदिनुभयो । फलतः पार्टी विभाजन प्रक्रिया अगाडि बढिरहेको छ ।

घोचपेच आफैँतिर

केपी ओलीका निम्ति ‘प्रधान शत्रु’ झैँ हुनुभएका माधव नेपाल र उहाँको समूहका नेतामाथिका घोचपेच केही दिनयता मत्थर भएको छ । तर, आफैँलाई साथ दिनेमाथि घोचपेच शुरु गर्नुभएको छ । एकताका निम्ति ओलीका तर्फबाट कुनै न कुनै त्याग जरुरी भएको सुझाव दिने सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवालीहरू अहिले उहाँको तारो बनेका छन् । उहाँले एक छलफलका क्रममा सुवासलाई इंगित गर्दै भन्नुभयो, ‘तपाइँ यताको कि उताको ?’ प्रदीप ज्ञवाली त मन्त्री हुँदैमा दुई–दुईपटक क्याबिनेट बैठकमै अपमानित हुनुभएको थियो । उहाँले राजदूत सिफारिस र इपासपोर्टका फाइल बोकेर जाँदा मुख्यसचिव, सचिव र सहसचिवहरूकै अगाडि फाइल थुतेर भुइँमा फ्याँकिदिनु भएको हो । र, एकता कार्यदलमा सुवास नेम्वाङलाई प्रधानमन्त्री मानेर जाऔँ भन्ने प्रस्ताव गरिँदा ‘हुँदै हुँदैन’ भन्नुभएकै हो ।

टिक्ने अस्त्र

सत्तामा टिक्नका लागि बादल, महन्थहरूलाई बोक्नुभयो । तर, टिक्नुभएन । सरकार त ढल्यो नै, अब पार्टीभित्र आफ्नो विरासत कहिल्यै नढल्ने गरी संरचना बनाउँदै हुनुहुन्छ । निसन्देह उहाँले एकलौटी गर्नुभएको विधान संशोधनले बाटो छेक्ने त उनै सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु पौडेलहरूकै हो । फेरि पनि महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनका लागि ७० वर्षे उमेरहद संशोधन गर्दै हुनुहुन्छ । यसो गरेर ०७९ सालमा राष्ट्रपतिबाट फिर्ता भएपछि विद्या भण्डारीलाई पार्टी बुझाउने सम्भावना छ । त्यसबेला शंकर पोखरेललाई महासचिव बनाउने भनेर थामथुम पारिएको बुझिन्छ ।

टिप्पणीहरू