महन्थले नाम फेरे, महिलाको संख्या बढाइयो

महन्थले नाम फेरे, महिलाको संख्या बढाइयो

निर्वाचन आयोगमा दर्ता प्रक्रियामै रहेको महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम फेरिने भएको छ । ठाकुर समूहको आजको वैठकले नाम फेर्ने निर्णय गरेको हो ।

जसपाबाट बाहिरिएको ठाकुर समूहले यसअघि जसपा (लोकतान्त्रिक)नामको पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएको थियो। तर, उक्त नाम आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो भएकाले दर्ता नगर्न जसपाका नेताहरुले निर्वाचन आयोगलाई भनेपछि ठाकुर पक्षले आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को नाममा दर्ताका लागि अर्को निवेदन दिएको हो ।

नेताहरु केशव झा र डा. सुरेन्द्र कुमार झा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन लिएर आयोग कार्यालय पुगेका थिए । ठाकुर समूहको बैठकले कार्यकारिणी समितिको संख्या बढाउने निर्णय पनि गरेको छ ।

यसअघि प्रस्ताव गरिएको २४ सदस्सीय कार्यकारिणी समितिलाई ३१ सदस्सीय बनाउने निर्णय गरिएको छ । संविधानले नै ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य गरेको भए पनि लोसपामा उक्त प्रतिनिधित्व थिएन। आजको बैठकले ७ जना महिलालाई कार्यकारिणी समितिमा थपेर ३३ प्रतिशत पुर्याइएको हो।

त्यस्तै, नयाँ पार्टीमा एक जना वरिष्ठ नेता पनि थपिएको छ । यसअघि राजेन्द्र महतो मात्रै वरिष्ठ नेता रहेकोमा शरतसिंह भण्डारीको नाम पनि थप गरिएको छ ।

टिप्पणीहरू