​समलैंगिक सम्बन्ध र साहित्यिक संसार

  • राजेन्द्र स्थापित

भिक्टोरिया (भिटा) मेरी सेकभिल्ले वेष्ट कवि, उपन्यासकार र पत्रकार हुन् । ‘जमिन’, ‘नाच्ने प्रेत’, ‘शून्यता’, ‘बगैंचा’, ‘राजाकी पुत्री’, ‘पूर्व र पश्चिमका कविताहरु’ जस्ता गद्य र पद्य संग्रह तथा पेवा, हकवाला, चुनौती, खैरो आख्ता भेंडा, अँध्यारो टापु, इष्टर पार्टी, छिपछिपे पानीमा ड्रागनजस्ता उपन्यासकी रचयिता जसले कल्पनाशील साहित्यमा दिइने ‘हेथोन्र्डेन’ पुरस्कार दुईपटक जितिन् । उनीद्वारा लिखित उपन्यास ‘अल प्यासन स्पेन्ट’ मा चलचित्र निर्माण भयो । त्यतिमात्र होइन, बीसौं शताब्दीको एक प्रतिभाशाली साहित्यकार तथा निबन्धकार भर्जिनिया वुल्फको सबैभन्दा चर्चित उपन्यास ‘ओर्लान्डो ः अ बायोग्राफी’ को प्रमुख नपुंशक पात्र उनै थिइन् । 
भिटाको जन्म इंग्ल्याण्ड, केन्टको काँठमा भयो । बाबुआमाकी एक्ली सन्तान । तर, बाबुको मृत्युपछि पनि सम्पत्तिको हकदार बनिनन् । वंश परम्पराअनुसार लियोनेल एडवार्डको श्रीसम्पत्ति भतिज चाल्र्सले पाए । सन् १८९९ मा भिटा ७ वर्षकी थिइन् । १३ वर्षकी रोजामण्ड ग्रासभेनरसित गहिरो मित्रता बन्यो । पछि दुवै एकै ठाउँमा ट्युसन पढ्न गए । सँगै खेल्ने, पढ्ने गर्दै जाँदा प्रेम भयो । भिटा रोजामण्डलाई मायाले ‘रोडी’, ‘रोजी’ भनेर बोलाउन थालिन् । रोजामण्ड पनि भिटाको प्रेमले विह्वल हुन्थिन् । उनी पनि भिटालाई प्रेम गर्न थालिन् । यसबीच भिटाकी आमाले रोजामण्डलाई घरमा बोलाइन् । रोजामण्ड त्यहाँ धेरै समय रहिन् । रोजामण्ड र भिटा सँगै सुत्थे । प्रेमीसरह एक–अर्काको शरीरमा खेल्थे । भिटाले आफ्नो डायरीमा लेखिन्, ‘म उनलाई औधी माया गर्छु ।’ तथापि धेरैपछि उनले प्रतिक्रिया दिइन्, ‘यथार्थमा त्यो बेला म अबोध नै थिएँ ।’

मोन्टे कार्लो, ¥यु लाफिते र स्लुइमा पनि सँगै बसेपछि रोजामण्ड घर फर्किइन् । सन् १९१३ मा रोजामण्डको बिहे भएपछि बल्ल ‘सम्बन्ध’ टुट्यो अर्थात् १४ वर्षसम्म उनीहरुले समलिंगी सम्बन्ध कायम राखे । रोजामण्डको मृत्यु सन् १९४४ मा जर्मनीले लण्डनमा प्रहार गरेको रकेटबाट भयो । रेजामण्डबाट अलग्गिएपछि भिटाले राजा एडवार्ड (सप्तम) की रखौटी एलिस केपेलकी छोरी भ्वाइलेट ट्रेफुसिससित सम्बन्ध गाँसिन् । त्यसबेला भिटा २० र ट्रेफुसिस १८ की थिइन् । त्यसो त दुवै सँगै पढेका थिए । भिटा १२ वर्षको हुँदै मित्र बनेकी थिइन् तर पछिल्लो भेटघाटपछि दुवैको ‘सम्बन्ध’ घनिष्ठ बन्यो । भिटा अचानक २७ वर्षीय लेखक तथा राजनीतिज्ञ ह्यारोल्ड जर्ज निकोल्सनसँग बिहे गर्न पुगिन् । यद्यपि दुवैको उक्त विवाह ‘हात्तीको देखाउने दाँत’ जस्तो मात्र थियो । दुवै समलिंगी र विपरीत लिंगी दुवैसँग यौनसम्बन्ध राख्नमा माहिर थिए । पतिपत्नीबाहेक बाहिर समलिंगी सम्बन्ध थियो । दुवै एक–अर्काको यौनसम्बन्धबारे पूर्णतः जानकार थिए । उनीहरु अंग्रेज लेखक, बुद्धिजीवी, दार्शनिक र कलाकारहरुको समूह ‘ब्लुम्सबुरी समूह’ का सदस्य थिए । भर्जिनिया वुल्फ, जोन मेनार्ड केयनेस, इ.एम. फोष्टर आदि सो समूहका सदस्य हुन् । त्यसमा सम्मिलित प्रायः सदस्य ‘उभयलिंगी’ थिए । यसको बाबजुद ह्यारोल्ड र भिटाका दुई सन्तान भए– निगेल र बेनेडिक्ट । 

भिटा र ट्रेफुसिसको सम्बन्ध फ्रान्समा विकसित भयो । सन् १९१८ मा भिटा केटा बनेर पेरिसको सडकमा घुम्थिन् । ट्रेफुसिस पनि सँगै हुन्थिन् । उनीहरुबीचको अप्राकृतिक सम्बन्धका कारण परिवार बद्नाम हुनुसम्म भयो । लण्डनमा रहेकी ह्यारोल्डले पत्नीलाई पत्रमार्फत सोधे, ‘ट्रेफुसिससितको सम्बन्ध किन अन्त्य गर्दैनौ ?’ भिटाले जवाफ लेखिन्, ‘म तिमीसँग मात्र होइन, कसैसँग पनि बिहे गर्न चाहन्न थिएँ । बिहेअघि र पछि पनि पुरुष जसरी स्वतन्त्र हुन्छन्, महिलाले पनि त्यो अधिकार पाउनुपर्छ भन्ने सोच राख्छु । तसर्थ हामी एकअर्काको निजी मामिलामा हस्तक्षेप नगरौं ।’ यसबीच ट्रेफुसिसको पनि बिहे भयो । उनी पनि प्रतिभाशाली साहित्यकारको रुपमा चर्चित बनिन् । यसको बाबजुद दुवैले समलिंगी सम्बन्ध र आ–आफ्नो लोग्नेसँग पनि यौनसम्बन्ध राख्दै गए । दुवै उत्तिकै खुशी थिए तर एकदिन आफ्नै लोग्ने ह्यारोल्डसित पनि ट्रेफुसिसले शारीरिक सम्बन्ध राख्ने गरेको भिटाले थाहा पाइन् । खबर सुनेपछि ट्रेफुसिससितको सम्बन्ध अन्त्य मात्र गरिनन्, आत्महत्या गर्ने कोसिससमेत गरिन् । भिटा र ट्रेफुसिसको सम्बन्ध यति गहिरो बनिसकेको थियो कि सम्बन्धको अन्त्यपछि पनि दुवैले एक–अर्कालाई प्रेम गर्न भने छाडेनन् । समय–समयमा भेट्दै गए तर शारीरिक सम्बन्ध भने राखेनन् । सन् १९७३ मा प्रकाशित पुस्तक ‘पोर्टे«ट अफ म्यारिज’ मा भिटाले यी सबैको बाबजुद ह्यारोल्डसितको सम्बन्ध किन टुटेन र ट्रेफुसिससँगको अन्तरंग प्रेम कसरी शुरु भयो भन्ने उल्लेख गरेकी छन् । 

भिटा समाजमा खरोपन हुनुपर्ने, समलिंगी र उभयलिंगी नारी–पुरुषलाई सहने क्षमता समाजमा हुनुपर्ने वकालत गर्थिन् । यौन समाजशास्त्रीहरु सिग्मण्ड फ्रायड, म्याग्नस हश्र्चफिल्ड, एडवर्ड कार्पेन्टर, रिचर्ड भोन क्राप्ट इबिङ र हेभलक इलिसबाट प्रभावित थिइन् । आफ्नो यौनेच्छा असाधारण प्रकारको भएको र आफू विपरीत लिंगीकामीको रुपमा जन्मिएको स्वीकार्छिन् । युवावस्थामा महिला र पुरुष दुवैसित राखिएको यौनसम्बन्ध आनन्ददायक बनेको र त्यसलाई आफूले जीवनको अर्धस्वतन्त्रता प्राप्तिको रुपमा लिएको व्याख्या गर्छिन् । भिटा र ह्यारोल्ड सन् १९२५ मा इरान पुगे । ‘अ पेसेन्जर टु तेहरान’ यात्रा संस्मरण लेखिन् । तेहरानमा आयोजित रेजा साहको राज्याभिषेक समारोहमा उपस्थित भए । रेजालाई भिटाले ६ फुट अग्लो, अँध्यारो मुख, ठूलो नाक, फुलेको कपाल र जंगली मानिसको जस्तो च्यापु भएको व्यक्तिको रुपमा व्याख्या गरेकी छन् । पछि भिटा रेजा साहका छोरा मोहमद रेजा पहल्बीको राज्याभिषेकमा समेत सामेल भइन् । भिटाले प्रेमिका ट्रेफुसिससँग मिलेर एउटा उपन्यास लेखेकी छन्, ‘चुनौती’ । उक्त उपन्यासका पुरुष पात्र जुलियन जो विस्तारै स्त्रीबाट पुरुषमा परिणत हुँदै जान्छन्, यथार्थमा उक्त पात्र उनी आफैं थिइन् ।

भर्जिनिया वुल्फ अंग्रेजी साहित्यका उज्यालो नक्षत्र हुन् । प्रशिद्ध नारीवादी लेखिका जसले साहित्यमा समलिंगी सम्बन्धलाई खुलेर समर्थन गरिन् । जीवनमा चारपटक आत्महत्याको कोसिस गरिन् र हरेकपटकको असफलतापछि गतिलो उपन्यास सिर्जना गरिन् । ‘दि बोयज आउट’, ‘नाइट एण्ड डे’, ‘जैकब्स रुम’, ‘मिस डिलावे’, ‘दि वेभ्स’, ‘बिटविन दि एक्ट्रेस’ जस्ता चर्चित उपन्यास र ‘मण्डे एण्ड ट्युज्डे’, ‘दि न्यु ड्रेस’, ‘मिसेज डिलावेज पार्टी’ जस्ता लघुकथा संग्रहकी लेखिका । जन्म लण्डनको किंग्सटनमा । बाबु सर लेस्ली स्टेफन सम्पादक, समालोचक र साहित्यकारको घरमा बाक्लो उपस्थिति हुन्थ्यो । त्यसैले वुल्फको बाल्यकालमै साहित्यले प्रवेश पायो ।

बाबु लेस्ली र आमा जुलिया दुवैको दोस्रो बिहे थियो । जुलियाका पहिलो लोग्नेबाट र लेस्लीका पहिलो पत्नीबाट पनि छोराछोरी थिए । गेराल्ड र जर्ज डकवर्थ तीमध्येका हुन् । वुल्फ ६ वर्षको हुँदै गेराल्ड २० को भइसकेका थिए । उनी हरेक दिनजसो सानी बहिनी वुल्फको कोठामा पस्थे र योनिमा खेलेर बस्थे । वुल्फ किशोरावस्थामा प्रवेश गरिसकेपछि गेराल्ड होइन, जर्ज राति–राति उनको शयनकक्षमा लुसुक्क पस्न थाले । म्वाइ खाने, अँगालोमा कस्ने र संवेदनशील अंगमा चलेर फर्कन्थे । वुल्फले यो घरेलु यौन प्रताडना २२ वर्षको हुञ्जेलसम्म सहेर बसिन् । कसैलाई बताइनन् । यस्तो यौन प्रताडना उनले मात्र होइन, बहिनी भेनेसाले समेत झेलिन् । यसैको नतिजा, १३ वर्षको उमेरमा आमालाई गुमाउन पुगिन् । वुल्फ आफैंले पनि आफ्नो जीवन समाप्त पार्ने कोसिस गरिन् । गेराल्ड र जर्जद्वारा गरिने यौन शोषणबारे ‘अ स्केच अफ दि पास्ट’ र ‘२२ हाइड पार्क गेट’ मा सविस्तार वर्णन गरेकी छन् । 

वुल्फ पनि भिटाजस्तै पुरुषप्रति हैन, महिलाप्रति विशेष लगाव राख्थिन् । १६ वर्षकै उमेरमा सन् १८९८ मा पहिलोपटक माड्जे भौगनदेखि आकर्षित भइन् । भौगन वुल्फसँग साहित्यबारे छलफल गर्थिन् तर माड्जेको बिहेपछि सम्बन्ध टुट्यो । वुल्फ त्यसपछि घरमा आइराख्ने ३७ वर्षीया भ्वाइलेट डिकिन्सनसित लहसिइन् । दुवैले दर्जनौं कामुक पत्रहरु एकार्कालाई लेखे । वुल्फ भ्वाइलेटलाई ‘मेरी भ्वाइलेट’, ‘मेरी स्त्री’ भनेर संबोधन गर्थिन् । पत्रको अन्त्यमा लेख्थिन्, ‘तिम्रो प्रेमी ।’ दुवैको प्रेम लामो समयसम्म चल्यो । भतिजी क्वेन्टिन वेलसँग पनि वुल्फले अन्तरंग सम्बन्ध गाँसिन् । वुल्फका अनुसार समलिंगी सम्बन्धको चस्का बेलले नै लगाएकी थिइन् । वुल्फले ३० वर्षको उमेरमा लेखक, प्रकाशक तथा राजनीतिक दार्शनिक लियोनार्ड सिड्नी वुल्फसँग बिहे गरिन् तर बिहे गरे पनि पतिसँग सामान्य महिलाले प्राप्त गर्ने शारीरिक आनन्द लिन सकिनन् । तर, सम्बन्ध भने तोडेनन् । २८ वर्षसम्म उनैसित दाम्पत्य जीवन निर्वाह गरिन् । यौनको मामिलामा स्वतन्त्र विचार राख्ने वुल्फले जीवनमा एकपटक भए पनि आमा बन्ने चाहना राखेको प्रतिक्रिया दिने गरेकी छन् । तर, व्यवहारमा पति–पत्नीबीच त्यस्तो सम्बन्ध नै बनेन । 

यसैबीच सन् १९२२ मा एउटा किराना पसलमा वुल्फको भेट भिटासित भयो । त्यसबेला वुल्फ ४० र भिटा ३० की थिइन् । भिटाको सपाट छाती, पुरुषको पहिरनबाट वुल्फ चाँडै प्रभावित बनिन् । पहिलो भेटको चार दिनपछि वुल्फले भिटालाई रात्रिभोजको निमन्त्रणा दिइन्, आफ्नै घरमा । दुवै लेखिका, विवाहित तर लोग्नेसँग होइन अन्य महिलासँग समलिंगी सम्बन्ध बनाएकाहरु, हप्ता दिनभित्रै हित्तचित्त मिल्ने साथी बने । पहिलो महिनामै दर्जनौंपटक सँगै होटलमा गएर खाना खाए, पौडी खेले । दुवैबीच लज्जाबोध र संशय मेटेपछि सम्बन्ध बिछ्यौनासम्म पुग्यो । अनि शारीरिक सम्बन्ध कायम भयो । त्यसो त सन् १९२६ अगस्त १७ मा पति ह्यारोल्डलाई लेखेको पत्रमा भिटाले जम्माजम्मी दुईपटक वुल्फ र आफूबीच ‘पूर्ण मैथुन क्रिया’ भएको उल्लेख गरेकी छन् । भिटा र वुल्फको जीवनीमा दर्जनौं महिला र पुरुष साथीले प्रवेश पाए पनि वुल्फका लागि भिटा र भिटाको निम्ति वुल्फजस्ती ‘साथी’ अरु कोही भएनन् । दुवै प्रेम र वासनामा डुब्दै गए । एकअर्कालाई दर्जनौं प्रेमपत्र लेखे । प्रायः पत्र प्रेम र कामुक शब्दले भरिपूर्ण हुन्थ्यो । यहाँसम्म कि वुल्फले सन् १९२७ मा भिटाको चरित्रबाट प्रभावित भई ‘ओर्लान्डो’ उपन्यास नै लेखिन् । वुल्फ र भिटाको अन्तरंग सम्बन्ध वुल्फको जीवनको अन्त्यकालसम्म चल्यो । 

लियोनार्ड यहुदी थिए, त्यसैले नाजीहरुले दुःख दिए । र, दोस्रो विश्वयुद्धको क्रममा सन् १९४१ मा लण्डनमा गरिएको हवाई आक्रमणमा उनीहरुको होगार्थ प्रेस नै ध्वस्त पारिदिए । यो घटनाबाट वुल्फ निकै दुःखी बनिन् । डिप्रेसनमा गइन् र ५९ वर्षको उमेरमा सन् १९४१ को मार्च २८ मा ओभरकोटको खल्तीमा ढुंगा भरेर नदीमा हामफाली आत्महत्या गरिन् । लोग्ने लियोनार्डको निधन सन् १९६९ को अगस्तमा भयो । भिटाको मृत्यु ७० वर्षको उमेरमा सन् १९६२ मा भयो भने उनका पति ह्यारोल्डको निधन १९६८ मा । भिटाले जीवनमा हेनरी लास्केल्स, बिबिसीका पत्रकार हिल्डा माथिसन, पत्रकार इभ्लिन आइरन्स, आइरन्सकै प्रेमी ओलिभ रिन्डरसित पनि ‘सम्बन्ध’ राखिन् । अधिक बिक्री भएको उपन्यास ‘दि एडवार्डियन्स’ प्रकाशित भएपछि अन्तर्वार्ता लिन आएकी पत्रकार थिइन्– हिल्डा । जोसँग भिटाको पछि ‘कामुक सम्बन्ध’ बन्यो ।

टिप्पणीहरू