गृहद्वारा नामै नकिटी सबै मिडियालाई गाली

गृहद्वारा नामै नकिटी सबै मिडियालाई गाली

आमसञ्चारमा प्रकाशित/प्रशारित समाचारलाई लिएर गृह मन्त्रालयले गम्भीर असन्तुष्टि जनाएको छ । केही सञ्चारमाध्यमले आम सुरक्षा व्यवस्था र राज्यको सुरक्षा प्रणालीमा नकारात्मक असर पार्ने गरी तथ्यहीन र भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै मन्त्रालयले सिङ्गो पत्रकारिता जगतको भूमिकालाई लिएर असन्तुष्टि जनाएको हो।

हिजो एक विज्ञप्ति सार्वजनिक गर्दै गृहले केही सञ्चार माध्यमले गृह मन्त्रालय र मातहतका विभाग तथा सुरक्षा निकायलाई जोडेर कपोलकल्पित,भ्रामक र तथ्यहीन समाचार प्रकाशन/प्रशारण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै त्यस्ता समाचार प्रकाशन/प्रशारण नगर्ने अनुरोध पनि मन्त्रालयको अनुरोध छ ।मन्त्रालयले भनेको छ, ‘राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता जगतको भूमिका पारदर्शिता र जवाफदेहिता प्रवर्धन गर्दै सुशासन कायम गर्नमा महत्वपूर्ण रहने विदितै छ ।उल्लेखित भूमिका प्रभावकारी ढंगले निर्वाह गर्न आमसञ्चार आफैँमा निष्पक्ष, मर्यादित र व्यावसायिक हुनु पर्नेमा केही सञ्चार माध्यमले गृह मन्त्रालय र मातहतका विभाग तथा सुरक्षा निकायलाई जोडेर कपोलकल्पित, भ्रामक र तथ्यहीन समाचार प्रकाशन/प्रशारण गरेको पाइएकाले गम्भीर ध्यानाकर्षण भएको छ ।’

गृहले नियोजित रुपमा तथ्यहीन र भ्रामक समाचार प्रकाशन/प्रशारण गर्नुलाई लज्जास्पद र खेदजनक भनेको छ। विज्ञप्तिमा भनिएको छ , ‘तथ्यहीन र भ्रामक समाचार आमसञ्चार जगतको आचरण र व्यावसायिकताको दृष्टिले आफैमा लज्जास्पद र खेदजनक विषय हो । रचनात्मक पत्रकारिता शासन र सुशासनका लागि ऐना हो । त्यस्ता समाचार र टिप्पणी मन्त्रालयका लागि पृष्ठपोषणका रुपमा रहन्छ ।’

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा सिंगो सञ्चार क्षेत्रको आलोचना गरिए पनि समाचारबारे प्रष्ट पारिएको छैन । कुन समाचार, कहिले र कुन सञ्चार माध्यमले सम्प्रेषण गरेको भन्ने नखुलाई गृहले समग्र पत्रकारिता क्षेत्रमाथि गम्भीर प्रश्न उठाएको छ ।

टिप्पणीहरू