एक नम्बर प्रदेश सरकारको के हुन्छ हिसाबकिताब ?

एक नम्बर प्रदेश सरकारको के हुन्छ हिसाबकिताब ?

-आशिका लम्साल

प्रदेश १ मा विपक्षी गठबन्धन सरकार बनाउन कडा चुनौती देखिएको छ । उता एमालेको ओली समूह मुख्यमन्त्री परिवर्तन गरेर भए पनि आफनै नेतृत्वमा सरकार बनाउने रणनीतिमा लागेको छ । अझैसम्म माधव नेपाल समूहका भनिएका सबै सांसद खुलेर नयाँ पार्टीको पक्षमा देखिएका छैनन् । उनीहरु गठबन्धनको नयाँ सरकार बनाउने भन्दा पनि एमाले विभाजनको चिन्ता लिँदै अलमलमा बसेका छन् ।

यसबाट पनि प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईको सरकार ढालेर गठबन्धनको सरकार निर्माण गर्न कडा चुनौती देखिएको हो । एमाले माधव समूहमा रहेका धेरै सांसदले पर्ख र हेरको रणनीति लिएका छन् । त्यसैले उनीहरुलाई एमाले संस्थापन पक्षले प्रलोभनमा पारेर आफनो पक्षमा लैजाने संभावना पनि उत्तिकै बलियो छ ।

उता माधव समूहका भरपर्दा सांसद भीम आचार्यले आफ्नो कित्ता परिवर्तन गरिसकेका छन् । त्यसैगरी अर्का सांसद जीवन घिमिरेले पनि आफूलाई पार्टी एकताको पक्षमा भन्दै आचार्यले झैँ तटस्थ राखेका छन् । यसैले आगामी २० दिनभित्र ओली समूहले माधव समूहका धेरै सांसदलाई पहिले फकाएर आफ्नो पक्षमा बहुमत पुर्याउने चलखेल तीब्र बनाएको छ ।

मुख्मन्त्री शेरधन राईले पनि पदबाट राजीनामा दिएर अर्कैलाई नेतृत्व दिन तयार भएको कार्ड फालिसकेका छन् । यसका लागि ओली समूहले पहिलेदेखि नै तयारी थालेको बताइन्छ । हालै जारी अध्यादेशपछि एमाले विभाजन हुने र त्यसले सरकारलाई संकटमा पार्ने आँकलन गरेर नै साउन ३१ गते सरकारले हठात् सभामुखसँग कुनै परामर्श नै नगरी चालु बजेट अधिवेशन अन्त गराएको थियो ।

भन्नका लागि दर्ता भएको बिधेयकमा भाग लिने सांसदहरुको चासो कम भएको बहाना बनाए पनि भित्रिकुरा अध्यादेश आउने र त्यसले सरकारमा संकट उत्पन्न गराउने भन्ने नै थियो ।

२०७७ पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने कूल ३७ जनामा २४ जना माधव समूहका थिए । तीमध्ये ६ जनालाई त्यतिबेलै ओलीपक्षले आफनो पक्षमा ल्याउन सफल भएको थियो । त्यसवापत उषाकला राईलाई समाजिक विकास मन्त्री र कला घलेलाई कृषि राज्यमन्त्री बनाइएको थियो । पछिल्लो समय सांसद तुलसी न्यौपाने पनि ओली समूहमा खुलेका छन् ।

प्रदेश १ सभामा हाल राजेन्द्र राई, सावित्रीकुमारी रेग्मी,यशोदा तिम्सिना,लीलाबल्लभ अधिकारी, उपेन्दप्रसाद घिमिरे,सावित्री जोशी, लक्ष्मण तिवारी,सरिता थापा, पदमकुमारी गुरुङ नेपाल समूहमा छन् । त्यसैगरी होमकुमारी साँवा, गणेशकुमार काङबाङ, सुनिताकुमारी चौधरी,राजन राई, बलबहादुर साम्सुहाङ,कृष्णकुमारी राई,गुलेफन खातुन,खिनुलंग्ङ्वा लिम्बु र सभामुख प्रदिपकुमार भण्डारी पनि माधव समूहका हुन् ।

तीमध्ये धेरै जना ‘पर्ख र हेर’ को रणनीतिमा देखिएका छन् । केही सांसद भन्छन्, ‘हामीलाई कता जाने भन्ने मौलिकअधिकार छ, त्यसैले अहिले नै हतार गर्दैनौं,केही दिन अध्ययन गर्छौं । अझै २० दिन बाँकी छ ।’

बाग्मती कार्ड प्रदेश १ मा पनि लागू गराउँदै ओली समूह

हालसम्म प्रदेश १ मा नेकपा एमालेको बहुमतको सरकारले सत्ता चलाइरहेको छ । यहाँ ओली समूहका शेरधन राई सरकारको नेतृत्वमा छन् । तर आफ्नो पक्षको बहुमत कायम राख्न उनले बाग्मतीमा झैँ राजिनामा दिएर भीम आचार्यलाई मुख्यमन्त्री र अरुलाई मन्त्री बनाउन तयार भएको बताइसकेका छन् ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की पनि आफूहरु नयाँ मुख्यमन्त्री बनाएर बहुमत कायम राख्न सफल हुने दाबी गर्छन् । यद्यपि नयाँ मुख्यमन्त्रीका रुपमा अघि सारिएका भीम आचार्यले भने प्रस्ट रुपले रुचि व्यक्त गरेका छैनन् । किनभने उनमा पनि पार्टी विभाजनपछि सरकार ढल्ने आशंका धेरै छ ।

उता भीम आचार्य मुख्यमन्त्री नबनेमा माधव पक्षका खम्बा मानिएका राजेन्द्र राईलाई मुख्यमन्त्रीको प्रस्ताव गर्ने ओलीपक्षको योजना छ । तर राईले ओली समूहमा गएर मुख्यमन्त्री बन्न अस्वीकार गरेका छन् । उता पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे पनि शुरुदेखि नै ठगिएका छन् । भीम आचार्यको ठाउँमा उठाइएको भए उनी पहिले नै सँसदीय दलको नेता बनिसक्ने थिए । वीचमा राजीनामा दिएर ओली समूहको चर्को बिरोध गर्दै हिँडेकाले उनलाई ओली समूहले विश्वास गरिहाल्ने अवस्था भने छैन ।

पहिले माधव समूहमा रहेका घिमिरेले सरकार गठन हुँदा संसदीय दलको नेतामा भीम आचार्यलाई मत नदिएर शेरधन राईलाई मतदान गरेको समेत चर्चा छ । त्यसैले मुख्यमन्त्रीमा घिमिरेले आफ्नो सम्भावना रहेको चर्चा चलाउनुमा पनि अन्यथा नरहेको बताइन्छ ।

यस्तो छ सांसदको अंक गणित

१ नम्बर प्रदेशसभामा कूल ९३ जना सांसदमध्ये माओवादी केन्द्रबाट टंक आङबुहाङ् कारबाहीमा परेर पदमुक्त भएकाले सभामुख र उपसभामुखसहित जम्मा संख्या ९२ मात्र कायम छ । जसमा एमालेको ५१,काँग्रेसको २१,माओवादी केन्द्रको १५, जसपाको ३ र लोकतान्त्रिक मञ्चको १ र राप्रपाको १ सांसद छन् ।

सरकार बनाउन बहुमतका लागि जम्मा ४७ सांसद चाहिन्छ । हाल गठबन्धनमा राप्रपाबाहेक ४० सांसद छन् । यसैले माधव समूहले दर्ता गराएको नयाँ पार्टीबाट ७ जना सांसद मात्र आएमा मुख्यमन्त्री शेरधन राईको सरकार ढलेर नयाँ सरकार बन्न सक्नेछ । तर त्यसका लागि माधव समूहले आफनो समूहका सांसदहरुलाई जोगाएर राख्न भने सक्नुपर्छ । त्यो कार्य अहिले निक्कै चुनौतीपूर्ण देखिन्छ ।

यद्यपि माधव समूहले आफनो पक्षमा अझै १८ जना सांसद रहेको र प्रलोभनमा पारे पनि १५ जना सहजै कायम रहने दाबी गरेको छ । यसैले माधव पक्षका राजेन्द्र राई पार्टीले अधिकारिकता पाइसकेपछि नयाँ गठबन्धनको सरकार बन्नेमा आफूहरु ढुक्क रहेको बताउँछन् ।

मुख्य प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमु्ख सचेतक केदार कार्की पनि दशैंअगाडि नै प्रदेश १ ले संयुक्त गठबन्धनको नयाँ सरकार पाउने दाबी गर्छन् । उनी भन्छन्, ‘एमाले विभाजन अब टर्ने सम्भावना छैन । त्यसैले मुख्यमन्त्री शेरधन राईको सरकार स्वतः अल्पमतमा पर्नेछ । विशेष अधिवेशनमार्फत् नयाँ गठबन्धन सरकारको गठन हुनेछ ।’

गठबन्धनको सरकार बनेमा मुख्यमन्त्री को ?

प्रदेश १ मा एमालेको बहुमतको सरकार ढलेर गठबन्धनको सरकार बनेमा मुख्यमन्त्री को बन्ने भन्ने चर्चा पनि शुरु भएको छ । धेरैले गठबन्धनमा सबैभन्दा ठूलो पार्टी भएकोले मुख्य विपक्षी दल काँग्रेस संसदीय दलका नेता राजिव कोइराला मुख्यमन्त्री बन्ने अड्कल गरेका छन् ।

तर गठबन्धनमा निर्णयक भूमिका एमाले समाजवादीको हुने भएकोले त्यसबेला माधव समूहका राजेन्द्र राई मुख्यमन्त्री बन्ने संभावना बलियो रहेको बताइन्छ । यस्तो अवस्थामा माओवादी केन्द्र, काँग्रेस,जसपा र माधव समूहको गठबन्धन कायम रहने भएकाले कोइराला र राईमध्ये एक जना मुख्यमन्त्री हुने सम्भावना बलियो रहेको बताइन्छ ।

ओली समूहमा को को छन् ?

एमाले ओली समूहमा हालसम्म मुख्यमन्त्री शेरधन राईलगायत हिक्मतकुमार कार्की,उषाकला राई,जसमाया गजमेर,रामकुमार राना,कला घले,जगदिश कुसियत, राजकुमार ओझा,अम्बिरबाबु गुरुङ रहेका छन् ।

त्यसैगरी बुध्दिकुमार राजभण्डारी, उत्तम बस्नेत,ज्ञानेश्वर राजवंशी, तुलसी न्यौपाने,गोपालचन्द्र बुढाथोकी,श्रीप्रसाद मैनाली, वसन्त बानियाँ,नीलम बस्नेत, इन्द्रमणि पराजुली र अम्बिका थापा पनि ओली समूहमा रहेका छन् ।

एमाले संस्थापन पक्षमा रहेका अन्य सांसदमा विमल कार्की, वसन्तीदेवी यादव,सर्वध्वज साँवा, एकराज कार्की,हिराकुमार थापा, अर्जुन राई,आशारत्न जवेगु, काजीमान कागते,तेजमान कन्दङ्वा,निरण राई,विनादेवी राई, पूर्णप्रसाद राई,बृखबहादुर प्रधान, आशारत्न जबेगु, पूर्णप्रसाद राई र तेजमान कन्दङ्वा हुन् ।

टिप्पणीहरू