हिमालपारि पर्व मनाउनेको हुल

हिमालपारि पर्व मनाउनेको हुल

हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेकका बासिन्दाको मौलिक पर्व यार्तुङ आइतबारदेखि लोमन्थाङमा सकिएको छ । विश्व कोभिड–१९ को महामारीले आक्रान्त भइरहेको बेला सामाजिक अनुशासनलाई चुस्त राखेका मुस्ताङीले आफ्नो पुरानो पर्व यार्तुङ शुक्रबारदेखि शुरु गरेका हुन् ।

यार्तुङ मेलामा मुस्ताङी राजा सहभागी हुने र उहाँबाट आशीर्वाद थाप्न उपल्लो भेकका मुखियाहरू सहभागी हुने चलन थियो । नेपालबाट राजतन्त्र हटेर गणतन्त्र स्थापना भएपनि उपल्लो मुस्ताङीले राजारानीलाई सम्मान र आदर गर्छन् । राजा जिग्मे पलवर विष्टको निधनपछि छोरा झिग्मे सिङ्गे पलबर बिष्ट राजाको भूमिकामा हुनुहुन्छ । कोरोनाका कारण लगातार दुई वर्ष यार्तुङ पर्वमा मुस्ताङी राजारानीको सहभागिता छैन ।

कोरोनाका कारण मुस्ताङी राजा काठमाडौंमा बस्दै आएकाले राजारानीको उपस्थित नभए पनि पर्वलाई जोगाउने दायित्व भएको आफूहरूले पर्व आयोजना गरेको युवाहरूको भनाइ छ ।

बर्खायामको खेतीपाती सकेर यार्तुङअघि गाउँका सबै स्थानीयले अन्नबाली थन्क्याइसकेका हुन्छन् । यार्तुङ सकिएलगत्तै बर्खा सकिएर हिउँदयामको झल्को दिन्छ । यसपटक निरन्तता दिनकै लागि मात्र पर्व शुरु गरिएको लोघेकर दामोदरकुण्डका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो ।

मुस्ताङका बासिन्दाहरू वर्षा सकिएपछि हिउँदको चिसो छल्नका लागि बेँसी झर्ने परम्परा छ । जाडो छल्नका लागि बेँसी झर्नु पहिला तीन दिनसम्म रमाइलो गर्ने समय पनि हो यार्तुङ । यार अनि तुङ शब्दको समिश्रण हो यार्तुङ । उपल्लो मुस्ताङमा यार भनेको बर्खा र तुङको अर्थ हिउँदको आगमन भन्ने बुझिन्छ ।

लोमन्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्टका अनुसार यार्तुङको तीन दिनको अवधिमा पहिलो दिन गाउँका ज्येष्ठ नागरिकले घोडा कुदाउँछन्, दोस्रो दिन महिलालाई बढी प्राथमिकतासहित दिन्छन् र तेस्रो दिन गुम्बाका लामाहरूले घोडा कुदाउँछन् ।

– अमृत बास्कुनेबाट

टिप्पणीहरू