कुहिएको पिठोले पूरै गाउँपालिका गन्हायो

कुहिएको पिठोले पूरै गाउँपालिका गन्हायो

म्याद गुज्रिएको र बेवारिसे पाेषिलाे पिठोका कारण मकवानपुरको मनहरी गाउँपालिका कार्यालय पूरै गन्हाएको छ । पिठोको दुर्गन्धबाट जनप्रतिनिधि र कर्मचारीसमेत हैरान भएको बताइन्छ ।

साउन ३२ गतेको कार्यपालिका बैठकमा अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष मनिला बिष्टलगायत कार्यपालिकाका सबै सदस्यले पिठोबारे कुनै जानकारी नभएको बताएपछि कर्मचारीहरु रातोपिरो भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ असोज ६ गते गाउँपालिकालाई पिठो हस्तान्तरण गरेको थियो । केही दिनअघि वाइसीएलले ११ क्विण्टल ७० किलोग्राम पाेषिलाे पिठो गाउँपालिकाको भण्डारमा म्याद गुज्रेको अवस्थामा रहेको भन्दै यथार्थ सार्वजनिक गरेको छ ।

त्यसैगरी अस्ति बुधबार पनि ९ नं वडा कार्यालयमा रहेको अर्काे बोरा पिठो बेवारिस अवस्थामा रहेको भन्दै वाइसिएल,तरुण दल र माधव नेपालपक्षीय युवा संघले सप्रमाण भण्डाफोर गरेका हुन् ।

जनप्रतिनिधिले थाहा नपाउने गरी पिठो कुहाएर फालेको विषयबारे यतिखेर मकवानपुरमा निकै ठूलो चर्चा हुन थालेको छ । तर, कोरोनाकालमा परेको अनिकालमा समेत पिठो नबाँड्ने कर्मचारी र जनप्रतिनिधिप्रति जनताले तीब्र आक्रोश पोखेका छन् ।

यसैबीच जिल्ला प्रशासन कार्यालय मकवानपुर,खाद्य तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ताहित संरक्षण मञ्चले हिजो पिठोको भण्डार सिल गरी अनुसन्धान प्रक्रिया थालेको छ । मूलतः खाद्यवस्तु कुहिने गरी भएको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै दोषीमाथि कारबाही हुनुपर्ने आफ्नो माग रहेको वाइसिएलका नेता दीपेन्द्र अधिकारीले बताएका छन् ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाराम अधिकारीले भने कार्यविधिबमोजिम गाउँपालिकाका सबै बालबालिकालाई वितरण गरेर बाँडिएको पाेषिलाे पिठो नै भण्डारमा राखिएको जवाफ दिएका छन् ।

टिप्पणीहरू