आज पूर्व मुमा बडामहारानी रत्नको जन्मोत्सव र अनेरास्ववियुको भण्डाफोर

आज पूर्व मुमा बडामहारानी रत्नको जन्मोत्सव र अनेरास्ववियुको भण्डाफोर

आज भदौ ४ अर्थात पूर्वमुमाबडामहारानी रत्नको ९४ औं जन्म दिन । गणतन्त्र आउनुअघि यो दिन देशभर बाल दिवस मनाउने प्रचलन । तर,अचेल त्यस्तो गरिन्न । सबैतिर बालमन्दिर पनि ब्यवस्थित छैनन् ।

सँधैझैँ नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा आज पनि ९ बजेदेखि धर्ना कार्यक्रम शुरु भएको छ । त्यसैगरी नेपाल टेलिकम,नेपाल वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणमा कर्मचारीहरुले राखेका माग पूरा नभएको भन्दै आज पनि धर्ना, प्रदर्शन र तालाबन्दीको कार्यक्रम निरन्तर छ ।

त्यसैगरी संसदमा विभिन्न समितिको बैठक बोलाइएको छ । बिहान साढे १० बजे दिगो विकास तथा सुशासन समितिको बैठक, कानुन,न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे, अर्थ समितिको पनि सोही समयमा,राज्य व्यवस्था तथा सुशासन समितिको बैठक साढे ११ बजे,शिक्षा तथा स्वास्थ्य समितिको बैठक दिउँसो १ बजे र विधायन व्यवस्थापन समितिको बैठक पनि सोही समयमा संसद सचिवालय,सिंहदरबारमा बस्ने जानकारी प्राप्त भएको छ ।

उता,नेकपा (माओवादी केन्द्र) ले नागार्जुन नगरपालिका वडास्तरीय भेला बिहान ११ बजे बोलाएको छ । कार्यक्रम रिङ मोडल स्कुलमा हुने छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले साकुरा पार्क, चन्द्रागिरी नगरपालिका १५ स्थित झोलुङ्गेपुलको भ्रमण गर्नुहुने भएको छ । बिहान साढे ११ बजे उहाँ पार्कको भ्रमणपछि चन्द्रागिरी केबलकार चढेर चन्द्रगिरी पुग्ने कार्यक्रम छ ।

एमालेनिकट अनेरास्ववियुले राजनीतिक दलसम्बन्धी अध्यादेशविरुध्द भण्डाफोर सभा गर्ने जनाएको छ । कार्यक्रम दिउँसो १ बजे माइतीघर मण्डलामा हुने छ ।

रोशी डिजिटल प्रा.लि.द्वारा प्रकाशित समय दृष्टि साप्ताहिकको प्रथम वार्षिकोत्सव तथा रोशी डिजिटल प्रा.लि. द्वारा प्रकाशित लेखक/अधिवक्ता दीपक शर्मा जंगमको पुस्तक ‘दृष्टिकोण को लोकार्पण तथा सम्मान’ कार्यक्रम हुने भएको छ ।

उता राष्ट्रवादी नागरिक समाजले पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९४ औं शुभजन्मोत्सव मनाउने भएको छ । सो अवसरमा समाजले रत्नको सुस्वास्थ्य,सुदीर्घायु,सुख र शान्तिको कामना गर्दै दीप प्रज्वलन कार्यक्रम राखेको छ । दीप प्रज्वलन असन अन्नपूर्ण मन्दिरको प्राङ्गणमा दिउँसो ४ बजे हुने छ ।

उता कालिमाटीस्थित काठमाडौं इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले शुल्क घटाउनुपर्ने भन्दै लेखा शाखामा भदौ १ गतेदेखि लगाएको तालाबन्दी आज पनि जारी राख्ने भएका छन्

टिप्पणीहरू