​ब्यांकले कसरी बिगार्छ विचराहरुलाई ! « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

​ब्यांकले कसरी बिगार्छ विचराहरुलाई !

प्रकाशित मिति :  १६ बैशाख २०७४, शनिबार १२:०१


बैंक तथा वित्तीय संस्थाले करोडपतिलाई कसरी रोडपति बनाइदिन्छन् र जीवनभर मर्नु न बाँच्नुको अवस्थामा पु¥याइदिन्छन् । कांग्रेस नेत्री मृदुला कोइरालाले गभर्नर चिरञ्जीवी खतिवडा र सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङहरूको मिलेमतोमा काभ्रेली टेकनाथ हुमागाईंलाई रोडमा पु¥याइदिएकै शैलीमा मलाई पनि घर न घाटको अवस्थामा पु¥याइदिएका छन् । 

पेशाले घरजग्गा व्यवसायी । एनडिइपी बैंक ग्लोबल आइएमई बैंकसँग मर्ज भइसकेको धेरै भएको छैन । तत्कालीन एनइडिपी बैंकसँग लिएको ऋणले हो मेरो बिचल्ली भएको । पछि सो सोसियल डेभलपमेन्ट बैंक हुँदै ग्लोबल आइएमईसँग मर्ज भयो । त्यो समयमा हामीजस्ता करोडपति व्यवसायीलाई बैंकले पहिलो प्राथमिकता दिँदै आँखा चिम्लेर कर्जा प्रवाह गथ्र्यो । यससँगै मेरो कारोबार एनडिइपी बैंकसँग हुन गयो । मेरो इमानदारी देखेर धेरथोर कर्जा फोनकै भरमा पनि दिन्थ्यो । यससँगै मैले नयाँ व्यवसाय होटल होम्स निर्माण गर्न चाहेँ चाबहिलमा । जग्गा लिइसकेको थिएँ । घर ठड्याउन ऋण आवश्यक थियो । बैंकलाई आग्रह गरें । उसले तत्कालै ८ करोड लगानीको आश्वासन दियो । तत्काल काम अघि बढाउन थालेँ । यसअघि मैले आशुतोष प्रोपर्टी डिलर्सका नाममा ५ करोड ऋण लिइसकेको थिएँ । कर्जा चुक्ता गर्न केही रकम बाँकी थियो । म्याद तोकेर बैंकले दुवैतर्फको कूल साँवा गरी १३ करोड सामेल ग¥यो । 

यो चैत ०६७ साल कुरा हो । जुनबेला काठमाडांैमा घरजग्गा व्यवसाय फस्टाएको थियो । ०६३ सालदेखि घरजग्गा कारोबार गर्दै आएको थिएँ । त्यसताका घरजग्गा व्यवसायीको दौडधुप हेरिनसक्नु थियो । तर, तत्कालीन गभर्नर डा.युवराज खतिवडाको आगमनसँगै रातारात यो व्यवसायमाथि अंकुश लगाइयो र राष्ट्र बैंकले नयाँ नीति बनाउने भयो । 

तर, एनडिइपी बैंकसँग मेरो सम्बन्ध राम्रो थियो । होटल होम्सका लागि आठ वर्षे सम्झौता भएको थियो । जुन होटल अहिले मलाई गुमराहमा पारी बैंक र हेल्पिङ ह्याण्डस्सँगको मिलेमतोमा रातारात लिलामी भइसकेको छ । किस्ता–किस्तामा आठ करोडसँगै आवश्यक परे फेरि दुई करोड थपिदिने सहमति पत्र तयार भएको हो । ब्याज १७ प्रतिशत । यदि, कारणवश समयमा साँवा नबुझाएमा थप २ प्रतिशत र ब्याज २ प्रतिशत गरी कूल २१ प्रतिशतको अन्तिम कर्जा पत्र तयार पारियो । आवश्यक पर्दा रकम पाइएन । तर, आफूले थालेको काम अलपत्र छाड्नु पनि भएन । तर, मैले भवन निर्माणको कामलाई निरन्तरता दिन छाडिन । बैंकबाट पाएको त्यति रकमले केही काम फत्ते हुनसक्ने अवस्था थिएन । त्यसपछि बाँकी कर्जाका लागि बैंक धाउन थालें । तर, आश्वासनबाहेक केही पाइनँ । पटक–पटक धाएँ । बैंकले अझै केही समय लाग्ने बतायो । भवन निर्माण कार्य तीव्र गतिमा भइरहेको थियो । 

बैंकले चाहेका बेला रकम दिन नसकेपछि नयाँ बाटो रोज्नुपर्ने भयो । गाउँघरबाट होटल निर्माणका लागि रकम जुटाउन थालें । यता, बैंकले बाँकी रकम तत्काल दिने आश्वासन देखाइरह्यो । बैंकले सो रकम उपलब्ध गराएपछि गाउँघरबाट लिएको ऋण चुक्ता गर्ने मनसायसाथ निर्माण कार्य अघि बढाइरहेँ । साथीभाइ, चिनजानका आफन्तसँग ऋण गरेर भवन बनाउने कामलाई तीव्रता दिएँ । तर, बैंकले उधारो आश्वासनभन्दा बढी केही दिएन । आठ करोडको सम्झौता गरिएकोमा पटक–पटक आश्वासन मात्र देखायो । पछि बाउन्स चेक थमाएर उल्टै मलाई फसायो । झन्डै २७ दिन जेलको बास भयो । तर, नखाएको विष किन लाग्थ्यो ? उता, बैंकले पहिलो किस्ताबापत मेरो खातामा ६ करोड जम्मा गरिदिएको देखिएको छ तर मेरो हातमा २४ लाख । बाँकी रकम पुरानो कर्जा (आशुतोष प्रोपर्टीका नाममा लिएको)मा कटायो । 

अहिले यो होटल ओम सन इन्टरनेसनल कलेजको ५० जना डाक्टरका नाममा मलाई रातारात झुक्याएर बैंककै मिलेमतोमा पास गरेको छ । रातारात त्यो जग्गा हेल्पिङ ह्याण्डस हस्पिटलको नाममा पास भएको पछि मात्र थाहा पाएँ । यो जग्गा पास हुँदा म हनुमानढोकामा थुनिएको थिएँ । हाल ५० करोड बजारमूल्य भएको उक्त भवन, जग्गासहित १५ करोड ६१ लाखमा हेल्पिङ ह्याण्डसको नाममा कसरी पास भयो ? जबकि बैंक आफंैले भवनको २२ करोडभन्दा बढी मूल्य तोकिसकेको थियो । सो जग्गा १५ करोड ६१ लाखमा कुन नियम–कानुनमा टेकेर पास भयो ? यसको उत्तर न बैंकका अधिकारीसँग छ न त छ नियामक निकाय राष्ट्रबैंकका पदाधिकारीसँग । आफूले कुनै गल्ती नगरेको भन्दै पटक–पटक राष्ट्र बैंक जान खोजे पनि कानुनी सल्लाहकार किरण घिमिरेले रोके । बैंकको छविमा दाग नलगाउन गुनासो पोखे । आफ्नो नियतमा समेत खोट लाग्ने भएपछि उनले यसो भनेका थिए । बैंकलाई यसरी जोगाउन लागिपरेका उनले पछि झुन्डिएर प्राण त्यागे ।

डेढ वर्षसम्म मलाई यसरी नै बैंकले झुलायो । यससँगै ०६८ सालमा राष्ट्र बंैकको गुनासो शाखामा पुगें । बैंकले गरेको दुव्र्यवहार मौखिक रूपमा बताएँ । बैंकले नआत्तिन सम्झायो । त्यसपछि मौखिक रूपमा राष्ट्र बैंकसँग राखेका सबै गुनासो एनडिइपी (हाल ग्लोबल आइएमई) बैैंकको कर्जा शाखामा सरसर्ती भनें । बैंककहाँ गएको सूचना पाएपछि कर्जा शाखाका अधिकारी झस्किए । कर्जा प्रमुख (क्रेडिट चिफ)हरू विवेकमान शाक्य, प्रमुख कार्यकारी अधिकृत भरतलाल बज्राचार्य एकाएक झस्किन पुगे । उनीहरूले पछि किन राष्ट्रबैंक गएको भन्दै थर्काए । ‘के खान राष्ट्र बैंक पुगेको । यसको जिम्मेवार हामी हुँदैनौं । हामीले केही सहयोग गर्न सक्दैनौं’ भन्दै सरापे । 

कर्जा शाखाबाट बैंकका जिएम सुरेन्द्रबहादुर प्रधानकहाँ पुगेँ । उनलाई पनि गुनासो शाखामा झंै बेलीविस्तार लगाएँ । सबै कुरा सुनिसकेपछि उनी रन्किए । ए कुरा यस्तो पो ! केही गर्न सकिँदैन । किन राष्ट्रबैंकमा गुनासो पोखेको भन्दै जवाफ मागे । अबउप्रान्त आउने कोसिस नगर्नू । यसको जिम्मेवारी बैंकले लिँदैन यसो भन्दै धम्क्याए । तर, धम्कीसँगै कार्यकारी प्रमुखको जागिर छाडे । किन जागिर छाडे बैंकका प्रमुख कार्यकारी अधिकृतले ? केही थाहा पाएको छैन । 

आशुतोष प्रोपर्टीको नाममा रहेको साँवाको नियमित ब्याज तिर्दै आएको थिएँ । तर, गभर्नर युवराज खतिवडाको आगमन र घरजग्गा व्यवसायमा ऋण दिन राष्ट्र बैंकले कडाइ गरेसँगै बैंक हच्कियो भनौं त्यो पनि हैन । चाँडोभन्दा चाँडो मलाई ऋण तिर्न बैंकले ताकेता गर्दै थियो । तर, भनेको समयमा तत्काल रकम जुटाउने अवस्था थिएन । कर्जा चुक्ता गर्नुपर्ने अवधि नाघिसकेको थिएन । तर, बैंकले बारम्बार कर्जा चुक्ता गर्न आदेश दियो । 

यही बीच होटल होम्सको नाममा सहवित्तीयकरण कर्जा लिएको हुँ । त्यो पनि कागजी मात्र । जसको नेतृत्व सोसियल डेभलपमन्ट बैंक (हाल ग्लोबल आइएमई)ले गरेको थियो । भवन निर्माणमा उसले निकै चासो देखाएर सहवित्तीयकरणमा कर्जा लगानी गर्न इच्छुक भएको हो । ऊसँगै सहवित्तीयकरण कर्जामा सामेल थिए, विश्वबैंक र तिनाउ विकास बैंक । यी एक जिल्ले बैंक केन्द्रमा उक्त कर्जा शिर्षकमा लगानी गर्न पाउने/नपाउनेकै लफडाका बीचमा रुमल्लिरहे । फेरि बैंकले नै अर्काे प्रस्ताव ल्यायो ।

०६८ साल वैशाखमै हेल्पिङ ह्याण्ड्स नेपालसँग बैंकले १५ वर्षको सम्झौताका लागि भवन र जग्गा दिने कुरा आउँदा ठीकै लागेर सम्झौता पनि भयो । बैंकले १५ वर्षसम्म ढुक्कले भवन र जग्गा चलाउन आदेश दियो । अहिले उक्त भवन हेल्पिङ ह्याण्डसका एक लगानीकर्ता गुप्तबहादुर श्रेष्ठको नाममा १५ वर्षका लागि भाडामा लगाउने सम्झौता भएको छ । न त गुप्तबहादुर श्रेष्ठहरूको गुप्त रहस्य थाहा पाएँ न त बैंकका अधिकारीकै चलाखी । पछाडि मेरो जग्गा र भवन नै रातारात बैंकले हेल्पिङ ह्याण्डको नाममा पास गराइसकेछ । यसमा डाक्टर सुवास घिमिरेहरू संलग्न छन् । उनीजस्ता डाक्टरको धन्दा कतिसम्म गन्धे हुँदो रहेछ छक्क पर्छु । 

अर्काको घर हडपेर डा. सुवाषहरूले मलाई यसरी सुकुम्बासी बन्ने अवस्थामा पु¥याए । यो केस पछि जिल्ला अदालत पुग्यो । त्यहाँका कालोकोटधारी पनि डा. सुवास घिमिरे, गुप्तबहादुरहरूकै पैसामा बिके । त्यहाँबाट न्याय पाउन नसकेपछि हाल पाटन अदालतसम्म आइपुगेको छु, न्याय खोज्दै । अदालतले जग्गा रोक्का आदेश त दिएको छ । केही दिनअगाडि सो भवनमा ताला लगाउँदा उनीहरूले गुन्डा प्रयोग गरेरै ताला खोले । इमानदारीपूर्वक व्यवसाय गरी दुईछाक खाने मजस्ता व्यवसायीलाई ठगेर उनीहरूले रातारात सडकको बास बनाइदिएका छन् । करोडौंको कर्जा शीर्षकको तमसुक बनाई किर्ते कागजात गरेर सडकमा पु¥याइएको एउटा भुक्तभोगी पीडित व्यवसायी हुँ । भन्छन् नि सास छउन्जेल आस । अझै पनि न्यायको झिनो आसमा पाटन अदालत धाइरहेछु । 

– दिनेश कोइराला, बूढानीलकण्ठ नगरपालिका 


प्रतिक्रिया दिनुहोस !