ओलीसङ्ग कित्ताकाट,वामदेवको माधवलाई साथ

ओलीसङ्ग कित्ताकाट,वामदेवको माधवलाई साथ

नेकपा एमालेभित्रको अन्तरसंघर्षमा स्पष्ट नखुल्नुभएका उपाध्यक्ष वामदेव गौतम अन्तत: नवगठित एमाले समाजवादीमा लाग्ने हुनुभएको छ । माधव नेपाल नेतृत्वको नवगठित पार्टीमा सहभागी भएर गौतमले पार्टी एकता अभियान चलाउने तयारी गर्नुभएको हो ।

नेकपाको विभाजनपछि राष्ट्रिय एकता अभियान चलाउँदै आउनुभएका गौतमले एमाले समाजवादीमा पनि त्यहि भूमिका खोज्नुभएको बताइन्छ । उहाँ निकट नेताहरुका अनुसार एमाले समाजवादीको बैठकमा गएर एकताको जिम्मेवारी आफूलाई दिन प्रस्ताव गर्ने तयारी छ ।

एमाले विवादमा लामो समय दुवै पक्षमा नलाग्नुभएका गौतम अध्यक्ष केपी ओलीले बोलाएको पछिल्ला दुई बैठकमा सहभागी हुनुभएको थियो । पछिल्लो बैठकमा ओलीसंग चर्काचर्की गरेर वीचमै निस्कनु भएका उहाँले माधव नेपाल पक्षलाई साथ दिने घोषणा पनि गर्नुभएको थियो ।

यसअघि माधव नेपाल र झलनाथ खनालले छुट्टै पार्टी गठन गरे आफूले साथ दिने सार्वजनिक रुपमै बताउनुभएका गौतम हिजो दर्ता गरेको पार्टीको ९५ सदस्यीय केन्द्रीय समितिमा भने रहनुभएको छैन । बताइएअनुसार गौतमलाई उहाँकै समूहका अधिकांश नेताहरुले नेपाल नेतृत्वको पार्टीमा सहभागी हुन दबाब दिएका छन् । गौतमकी श्रीमती तुलसा गौतम र उहाँ निकट केन्द्रीय सदस्यहरु एमाले समाजवादीमा लागिसकेका छन् ।

टिप्पणीहरू