​संसारमा यस्तो पनि गर्न मिल्छ ? « Jana Aastha News Online
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022

​संसारमा यस्तो पनि गर्न मिल्छ ?

प्रकाशित मिति :  १६ बैशाख २०७४, शनिबार ११:४८


  • डा.प्रकाशचन्द्र लोहनी, अध्यक्ष, एकीकृत राप्रपा (राष्ट्रवादी)


अर्थ र परराष्ट्र मामिलामा दखल राख्ने राजनीतिज्ञ डा.प्रकाशचन्द्र लोहनीले हालै मूलपार्टी राप्रपा परित्याग गरेर एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरेका छन् । कमल थापासँगको असहमति र हलोलाई चुनाव चिह्न कायम गरिनुपर्ने अडान नमिल्दा नयाँ पार्टी खोलेका हुन् । सरकार बजेट भाषणपछि दोस्रो चरणको निर्वाचन गर्ने मनस्थितिमा छ । कमल थापाहरु सरकारमा छन् । मधेसवादीहरु संशोधनपछि निर्वाचनमा भाग लिने भन्दैछन् । यस्तो राजनीतिक परिदृष्यमा डा.लोहनीहरु एमालेले भनेजस्तो बजेटपछिको चुनाव र संशोधन दुबै स्वीकार्य नहुने मान्यता राख्दैछन् । 

० एमालेले बजेटपछि हुने भनिएको दोस्रो चरणको स्थानीय निर्वाचनको विरोध गरिरहेको छ । तपाईंहरु के भन्नुहुन्छ ?

– एमालेले भन्यो भनेर होइन कि बजेट ल्याएलगत्तै गर्ने भनिएको निर्वाचन जनतालाई लोभ्याएर सत्तारुढहरुले परिणाम आफ्नो पक्षमा पार्ने प्रपञ्च हो । त्यसरी चुनाव गर्नै मिल्दैन । बजेट भनेको आर्थिक मात्र होइन, राजनीतिक दस्तावेज पनि हो । तोकिएको समयमै आउनुपर्छ, चुनाव पनि बजेटभन्दा अगाडि नै सकिनुपर्छ । अनिमात्र, निष्पक्ष निर्वाचन हुन्छ ।

० मधेसकेन्द्रित दलहरु चुनावमा आउने स्थितिमा उनीहरुको दल दर्तालगायतका प्रक्रियाको लागि पनि अर्को चरणको आवश्यकता भएन र ? 

– मैले कानुनी प्रक्रिया अलिक नबुझेको हो कि, तर दल दर्ताको प्रक्रियामा त हामी पनि छौँ । मधेसी दल, हामीमात्र हैन, दर्ता हुन बाँकी अरु दल पनि दर्ता हुन् भन्ने चाहन्छौँ । 

० फेरि संविधान संशोधनपछि चुनावमा जाने भनेका छन् नि !

– यो सरकारले के गरेको हो, बुझ्नै सकिएन । पहिला संशोधनको एउटा प्रस्ताव लग्यो, फेरि फिर्ता भयो । लैजाँदै फिर्ता लिने यो के नाटक हो ? मधेसवादी दलहरु चुनावमा आउलान् भनेर पत्याउन सकिने भरपर्दो आधार देखिरहेको छैन । उहाँहरु पनि नयाँ दल गठन गरेर चुनावमा भाग लिँदै हुनुहुन्छ । संविधान संशोधन र परिमार्जन भनेको के हो ? कस्तो हुन्छ त्यो ? बुझ्न सकिएन । मधेसवादी दल चुनावमा आउने कुरा शर्तमा आधारित छ । शर्त भनेको के हो ? के आधारमा ती शर्त अघि सारिएका हुन् ? बुझ्न सकिएको छैन । त्यसैले सबै कुरा काँचो छ । मधेसवादीका कुरा काँचो छ, सरकारकै कुरा पनि काँचो छ । कतै जनतालाई भ्रममा पार्ने जालझेल त होइन यो भन्ने परेको छ । 

० सरकार नै चुनाव गराउने कुरामा इमान्दार देखिएन त ?

– जालझेलपूर्ण व्यवहारजस्तो देखिन्छ । मधेसवादी दलको संशोधन प्रस्ताव लैजाने नै हो भने प्रतिपक्षी दललाई पनि विश्वासमा लिनुपर्छ । तर, प्रतिपक्षी दलहरुको विश्वास लिने काम सरकारले गरेको देखिएन । संशोधनमा पनि परिमार्जन भनेको के हो ? सीमांकन आयोगलाई कति अधिकार दिने हो ? त्यहाँ केही बाध्यात्मक व्यवस्था हुने हो कि होइन ? ती कुरा संविधानसम्मत् छन् कि छैनन् ? यी कुराहरु त्यहाँ कुन रुपमा प्रस्तुत भएको छ, त्यो नहेरी केही भन्न सकिँदैन । ती दफाहरुका बारेमा अहिलेसम्म प्रतिपक्षीले केही पनि नभनिकन दुई चरणको चुनाव भन्नु बेकारको कुरा हो । चुनाव गर्छु भनेकै हो भनेर पछि चुनाव नगर्ने र आफू पानीमाथिको ओभानो बन्न चाहने नियत देखिन्छ ।

० संशोधन पारित भएन भने मधेसी दलहरुले चुनावमा भाग लिन्छन् त ?

– चिठ्ठा खोल्दा पनि एउटा इमानको कुरा हुन्छ । गोला खोल्दा आफ्नो पक्षको कुरा नआए पनि स्वीकार्नुपर्छ । तर, यहाँ त कस्तो देखियो भने, मैले भनेको चिज नै आउनुपर्छ भन्ने हठ † परिमार्जन असफल भयो भने असफलतालाई पनि मान्छु भन्नुपर्ने हो । त्यसकारण यो सबै जालेमाले कुरा हो कि भन्ने लाग्छ । 

० सरकारको नियत के होला ? 

– यसरी नै अल्मल्याएर चुनाव नगराउने हो कि भन्ने लाग्छ । किनभने, खुलापन देखिएन । संविधान संशोधनको प्रक्रियामा कांग्रेस, एमाले, माओवादी र मधेसी दलबीच सहमति हुनु जरुरी छ । तर, बिनासहमति जसरी परिमार्जन र संशोधनको कुरा आइरहेको छ, त्यसमा राम्रो नियत देखिएन । 

० तपाईंहरु चुनावमा जानुहुन्छ ?

– तयारीका हिसाबले हामीसँग समय एकदम कम छ, पार्टी नयाँ छ । तर, पनि चुनावमा जान्छौँ । पार्टी गठन भएको छोटो समयमै ६० जिल्लामा संगठन फैलिसकेको छ । चुनावअघि ७५ जिल्लामै संगठन बन्छ ।

० पार्टी फुटाएको भन्नुहुन्छ कि नयाँ बनाएको ?

– राप्रपाको मूल्य र मान्यतालाई जोगाएको हुँ, फुटाएको होइन, नयाँ बनाएको पनि होइन । पार्टीलाई सत्ता र व्यक्तिगत स्वार्थप्राप्तिको माध्यम बनाइयो । पार्टी हाँक्ने शैली एकतान्त्रिक भयो । त्यसैले त्यो समूहमा बस्न सकिँदैन भनेर अर्को पार्टी गठन ग¥यौँ । 

० अध्यक्ष उठ्ने चर्चा थियो । महाधिवेशनलगत्तै पार्टी छाड्नुभयो । पद नपाएर कि ?

– पहिला अध्यक्ष उठौँ कि भन्ने मनस्थिति थियो, तर साथीहरुले त्यसो नगरौँ भनेपछि छोडिदिएँ, उहाँहरुले साम’हिक नेतृत्वको कुरा ल्याउनुभयो । यो कुरालाई सुनिश्चित गर्न निर्देशन समिति बनाऔँ, नियुक्तिहरुमा समझदारी गर्ने प्रावधान बनाऔँ भन्ने कुरा थियो । साथीहरुको कुरा यस्तो भएपछि म पनि सहमतिमा जान तयार भएँ । तर, चुनाव सकिएपछि अर्कै अनुहार देखियो । पहिलाको कुरा लागु गर्ने छाँटकाँट आएन । चुनाव चिह्नबारे पनि कुरा मिलेको थिएन । सत्तामा जाने कुरा पनि थाहै नहुने भयो । थपडी बजाएर, जीहजुरी गरेर बस्नुपर्ने जहाँनियाँ शैलीको काम भयो । त्यसैले आफ्नो उर्जालाई सही ढंगले प्रयोग गरौँ भन्ने लाग्यो । 

१२ वर्षमा देशमा थुप्रै नयाँ पार्टी र नेता आए । तर, नेपाललाई भ्रष्टिकरण गर्नेबाहेक तिनले केही गर्न सकेनन् । कसरी रुपान्तरण गर्ने भनेर कोही लागेनन् । नेपालको अर्थतन्त्र र पूर्णसंरचनालाई रुपान्तरण गरेर सम्पन्न देश निर्माण गर्ने काममा कोही लागेनन् । नेपाली समाजलाई रुपान्तरण गर्ने जुन आकांक्षा हो, त्यो असफल भएको छ । किनभने, सत्ता भनेको तीन दल र अरु छोटेमोटेहरुको बिर्ताजस्तो भयो । आफू र आफ्नो पार्टीलाई धनीमानी बनाउनेतिर मात्रै उहाँहरुको ध्यान गयो । पहिलाको जहाँनियाँ शासनको झझल्को आउने काम भएको छ । त्यसलाई चुनौति दिने शक्ति चाहिएको छ । त्यसका लागि पार्टी गठन गरेका हाँै । 

० के–के गर्दै हुनुहुन्छ ? 

– एनसेल प्रकरणमा ३५ करोड राजस्व छली भएको कुराको विरोध गर्न सोमबार प्रदर्शन ग¥यौँ । काठमाडौंमा बढेको प्रदूषणप्रति सरकारी उपेक्षाको विरोध गरेका छौँ । जनताको आवश्कयता र आकांक्षाबारे बोल्दै जानेछौँ । 

० तपाईंहरुले पार्टी छोडेपछि राप्रपा सरकारमा गयो । यसलाई के भन्नुहुन्छ ?

– प्रचण्ड सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव राष्ट्रहित विपरित छ भनेर सरकारमा गएका मन्त्रीलाई पनि फिर्ता बोलाएका थियौँ । तर, त्यही प्रचण्डको सरकारमा उहाँहरु जानुभएको छ । सरकारमा गइसकेपछि त्यही सरकारले ल्याएको संशोधन प्रस्तावमा भोटिङ गर्दैनौँ भन्नुभएको छ । सरकारमा जाने, तर सरकारको प्रस्तावको पक्षमा मतदान नगर्ने हो भने किन झण्डा हाल्नुपरेको ? सत्ताबाहेक उहाँहरुसँग केही छैन । न सिद्धान्त छ, न दृष्टिकोण । 

० एमाले र तपाईंहरुको कुरा मिल्दोरहेछ । केही सरसल्लाह छ ? 

– राष्ट्रियहितका दृष्टिले बोल्ने हौँ । त्यसरी बोल्दा कोहीसँग कुरा मिल्छ भने त्यो संयोगमात्र हो । एमालेले संविधान संशोधनबारे बोल्नुअघि नै हामीले त्यसका विरुद्ध बोलेका हौँ । तराईं–मधेसका समस्यालाई सरकारले संबोधन गर्नुपर्छ भन्दै आएका हौँ । 

० पार्टीहरु मर्ज हुने चलन चलेको बेला तपाईंहरु फुटाउँदै हुनुहुन्छ । किन ? 

– मर्ज गर्ने चलन चलेको छ भने मर्ज नगर्न पनि त सकिन्छ नि ! बेइमान नै बेइमान छन् भने त्यहाँ एकजना इमान्दार पनि त हुनसक्छ । इमान्दारै इमान्दार छन् भने त्यहाँ बेइमान पनि हुन्छ ।

० तपाईंहरुसँग चिह्न छैन । चुनावमा कसरी जानुहुन्छ ?

– कानुनको बाधाले चुनाव चिह्न दिन नसकेको निर्वाचन आयोगको भनाइ छ । त्यसैले यो स्थानीय चुनावमा पार्टीकै उम्मेदवार, तर स्वतन्त्र रूपमा भाग लिने छौँ । त्यसो गर्दा अलग अलग चुनाव चिह्नबाट भाग लिनुपर्ने हुन्छ । यसबाट ठूलो नोक्सान त पर्छ । तर, जनताको बीचमा जाने अवसरलाई हामी उपयोग गर्छौं । 

० तपाईंहरु पनि संवैधानिक राजतन्त्र पक्षधर, राप्रपा पनि त्यही हो । फरक कहाँ छ ?

– पार्टीहरुको बीचमा कतिपय कुरा मिल्नसक्छन् । तर, त्यसलाई कसरी प्रस्तुत र प्रयोग गर्ने भन्ने कुरा हुन्छ । राप्रपा जसरी भए पनि सिद्धान्तलाई पदका लागि साटासाट गर्छ । धर्म निरपेक्षता मान्दिन भन्ने, बेलायतमा भाषण गर्दा नेपालको संविधान  संसारकै उत्कृष्ट भन्ने † धर्मनिरपेक्षताको विरोध गर्ने पार्टीले धर्मनिरपेक्ष संविधानलाई उत्कृष्ट भन्न मिल्छ ? 


प्रतिक्रिया दिनुहोस !