लाल आयोगको रिपोर्टले निम्त्याउँछ कि लफडा ! « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

लाल आयोगको रिपोर्टले निम्त्याउँछ कि लफडा !

प्रकाशित मिति :  ४ भाद्र २०७८, शुक्रबार १५:००


सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको घोषणा विवादमा परेको छ । सत्ता गठवन्धनले अघिल्लो आइतबार सार्वजनिक गरेको सरकारको न्यूनतम साझा कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्ने भनिएको छ । तर, नेपालको राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता र साम्प्रदायिक सद्भावलाई चुनौती दिने भाषा र सन्दर्भ समेटिएकोले उक्त प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गर्दा समस्या आउन सक्ने बताइन्छ । संयोग कस्तो भने, जुन प्रधानमन्त्रीको पालामा आयोग गठन भएको थियो, अहिले उनै व्यक्ति प्रधानमन्त्री भएका बेला प्रतिवेदन सार्वजनिक गर्न खोजिएको छ ।

तराई–मधेश तथा थरुहट आन्दोलनको सम्पूर्ण घटनाबारे छानबिन गर्न तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७३ साल असोज २ गते गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक छानबिन आयोग गठन गरेको थियो । आयोगका अन्य सदस्यमा तत्कालीन नायव महान्यायाधिवक्ता सूर्य कोइराला र पदेन सदस्यमा गृह मन्त्रालयका सहसचिव थिए । प्रतिवेदनमा गृहका प्रतिनिधिले हस्ताक्षर गरेका छैनन् । सूर्य कोइराला मुटुरोग बिज्ञ भगवान कोइरालाको परिवारसँग निकट मानिन्छन्,उनले भने मज्जैसङ्ग हस्ताक्षर गरेका छन् ।

२०७२ सालको संविधान जारी हुनुपूर्व तराई–मधेश र थारुहट क्षेत्रमा चर्किएको आन्दोलन र त्यसले निम्त्याएको धनजनको क्षतिको सत्यतथ्य छानवीन गर्न गठित आयोगले आफ्नो क्षेत्राधिकारभन्दा निकै पर गएर प्रतिवेदन तयार पारेको आरोप छ । आयोगलाई घटनाको सत्यतथ्य छानविन गर्ने अख्तियारी दिइएको भए पनि फरक ढंगले प्रतिवेदन आएकाले हालसम्म सार्वजनिक नगरिएको हो । आयोगको प्रतिवेदन पूर्वाग्रही भएको र मुलुक टुक््रयाउने दिशातर्फ अभिप्रेरित रहेको धेरैको भनाइ छ ।

घटना कसरी भयो र त्यसले कति क्षति पु¥यायो सोको तथ्यगत रिपोर्ट बनाउने जिम्मेवारी पाएको आयोगले अनावश्यक रुपमा घटनालाई अतिरञ्जित गरेको देखिन्छ । प्रतिवेदनमा ऐतिहासिक र राजनीतिक कुरालाई प्राथमिकता दिइएको छ । साम्प्रदायिक दंगा भड्काउने, राष्ट्रिय एकता र अखण्डतामाथि आँच पु¥याउने प्रतिवेदनको मूल चरित्र रहेको जानकारहरू बताउँछन् । पहाडेले मधेशीमाथि शासन गर्न सबै हत्कण्डा अपनाएको भन्ने प्रतिवेदनको सार देखिन्छ । मधेशका जनतालाई उत्तेजित बनाउने गरी ल्याइएको प्रतिवेदन सार्वजनिक भए मधेशबाट पहाडे खेद्ने अर्को अभियान शुरु हुनसक्ने खतरा रहेको यसका जानकारहरू बताउँछन् । बताइएअनुसार प्रतिवेदन पढ्दा आङ जिरिङ्ग हुने खालको छ । त्यहाँ उल्लेख कतिपय कुरा पढ्नसमेत अप्ठेरो लाग्ने खालका छन् ।

आयोगको प्रतिवेदन राष्ट्रियताको दृष्टिले पनि निकै खतरनाक रहेको बताइन्छ । मधेशका जनताको भन्दा पनि विदेशीको इन्ट्रेष्टमा प्रतिवेदन लेखिएको घटनाक्रमले पुष्टि गरिसकेको छ । त्यतिबेलै संयुक्त राष्ट्रसंघकी प्रतिनिधि भ्यालेरी जुलिएण्डले रिपोर्ट सार्वजनिक गराउन विभिन्न सरोकारवालाहरूलाई दबाब दिँदै हिंडेको चर्चा पनि थियो । प्रतिवेदनमा उल्लेख भाषा,विषय र मर्मले देशीको भन्दा विदेशी इन्ट्रेष्ट बोकेको देखिन्छ । प्रतिवेदन सार्वजनिक गराउने अनि मधेशी र पहाडेबीच दंगा फैलाएर नेपाललाई तनाव दिनेसम्मको सोच प्रतिवेदनमा भेटिएको महान्यायाधिवक्ता कार्यालय श्रोतले बतायो ।

हाम्रोजस्तो विविधतायुक्त समाज, भौगोलिक स्थिति,राष्ट्रियताको जग कमजोर भएको मुलुकमा यस्ता प्रतिवेदनले साम्प्रदायिकता भड्काउने हुँदा सरकार संवेदनशील हुनुपर्ने सुझाव छ । नेपालको शान्ति प्रक्रिया, राष्ट्रिय सुरक्षा, साम्प्रदायिक सद्भाव र बृहत्तर राष्ट्रिय हितका दृष्टिकोणले पनि प्रतिवेदन सार्वजनिक गर्न योग्य नरहेको धेरैले बताएका छन् । प्रतिवेदन यतिधेरै एकपक्षीय रुपमा आएको छ कि,घटनालाई राज्यको क्रुरता र मधेशको वीरताका रुपमा व्याख्या गरिएको छ । त्यसकारण सरकारले गठवन्धन टिकाउने र सस्तो लोकप्रियता कमाउने हिसाबले यस्तो प्रतिवेदन सार्वजनिक गर्न नहुनेमा अधिकांशको जोड छ । यसअघि ओली सरकारले पनि महन्थ ठाकुरहरूको मागबमोजिम यो रिपोर्ट सार्वजनिक गर्ने प्रतिवध्दता जनाएको थियो ।

प्रतिवेदन सार्वजनिक नभएर पनि कार्यान्वयन भएका धेरै उदाहरण छन् । भैरव लम्सालको सम्पत्ति छानविन आयोगले बुझाएको रिपोर्ट सार्वजनिक भएन तर त्यसका मूलभूत विषय कार्यान्वयनमा आए । त्यस्तै, मल्लिक आयोगको प्रतिवेदन सार्वजनिक भएर पनि कार्यान्वयन पक्ष प्रभावी रहेन । कुनै प्रतिवेदन सार्वजनिक हुँदैमा मात्र कार्यान्वयन हुने होइन । लाल आयोगकै प्रतिवेदनको कतिपय सुझाव पनि कार्यान्वयन भैसकेको छ । घटनामा संलग्न कतिपयलाई कारवाही गरिएको छ । त्यसैले यसको सार्वजनिकीकरण आजको आवश्यकता हो वा होइन भन्नेमा मतान्तर देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !