​ओहो, रेखा नलड्ने ?

स्थानीय चुनावको माहौल बन्दै थियो । त्यो पनि बल्लतल्ल । तर, एकाएक रेखा थापा चुनाव नलड्ने घोषणा भएपछि बनिसकेको माहोल पनि बिग्रन पुगेको छ । रेखा थापा काठमाडौंको उपमेयरमा उठ्ने खबर सुनेर एक रैथाने काठमाडौंवासीको नाताले म पनि अत्यन्त उत्साहित भएको थिएँ । नभए यो चुनावमा उत्साहित हुनुपर्ने कुरै के पो थियो र !

सोच्दै थिएँ, यता राप्रपाले रेखा थापालाई उठाउने भयो । उता नयाँ शक्तिले करिश्मा मानन्धरलाई पनि पक्कै उठाउँछ होला । कोमल ओली त उठि नै सकेकी छन् । यदि यसैमा प्रतिस्पर्धा हुँदै गयो भने केकी अधिकारी, गौरी मल्ल, दीपाश्री निरौलाहरू पनि मैदानमा आउँछन् होला । त्यसपछि त चुनावी माहौल तयार भइहाल्यो नि ! नेताहरू कराएको कराइरहेकै हुन्छन्, चुनाव अगाडि बढेको बढ्यै हुन्छ । रोक्ने कसले ?
 
वास्तवमा म यसैमा ढुक्क थिएँ । र, चुनावमा भोट हाल्न जाने निश्कर्ष पनि निकालिसकेको थिएँ । तर, के गर्ने । बीचैमा खबर आइदियो– रेखा थापा चुनाव नलड्ने ! यो खबरले मजस्तै अरू पनि धेरैलाई निराश बनाएको हुन सक्छ । अब रेखा थापा नै नलड्ने भएपछि यो चुनावको के अर्थ ? बेअर्थको चुनाव दुई चरणमा गरे पनि के, तीन चरणमा गरे पनि के । कि कसो नेपालको पामेला बोर्डेस भनेर चिनिने गायिकाज्यू !

टिप्पणीहरू