माधव नेपालमाथि ओलीका दर्जनौँ आरोप,यस्तोसम्म भनियो

माधव नेपालमाथि ओलीका दर्जनौँ आरोप,यस्तोसम्म भनियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि दर्जनौँ आरोप लगाउनुभएको छ । एमाले विभाजनको भोलिपल्ट भक्तपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै ओली माधव नेपालमाथि खनिनुभएको हो ।

ओलीले माधव नेपाल एमाले फुटाउने एकमात्र उद्देश्य लिएर हिंडेकाले पार्टी एकताका लागि आफूले गरेको सम्पूर्ण प्रयास असफल भएको दाबीसमेत गर्नुभयो । आफूले एकताका लागि बारम्बार प्रयास गर्दा पनि नेपालले पार्टी फुटाउने उद्देश्य राखेकै कारण एकताको प्रयास सार्थक हुन नसकेको उहाँको भनाइ छ ।

१५ वर्ष पार्टीको नेतृत्व गरेर माधव नेपालले एमाले ध्वस्त पारेको ओलीको गम्भीर आरोप छ । ०६४ सालको संविधानसभा निर्वाचनमा एमाले पराजीत भएपछि नैतिकताका आधारमा पार्टी नेतृत्वबाट राजीनामा दिनुभएका माधवलाई ओलीले यस्तो आरोप लगाउनुभएको हो । माधव नेपालका कारण एमाले कचौरा जत्रो बनेको भन्दै ओलीले एमाले सत्यानाश बनाउने भूमिकामा लागेको आरोप लगाउनुभयो ।

ओलीले माधव नेपालले आफ्नै नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको,आफ्नो पार्टीको बहुमत हुँदाहुँदै कर्णालीमा फ्लोर क्रस गराएर माओवादीलाई साथ दिएको,सुदूरपश्चिममा एमाले पहिलो पार्टी भए पनि माओवादीको काँध थापेको पनि बताउनुभयो ।

त्यस्तै,विपक्षीसँग मिलेर माधवले राष्ट्रियसभा निर्वाचनमा पार्टीको उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको ओलीको आरोप छ । माधवले बराबर हैसियतको अध्यक्ष मागेको पनि ओलीले दाबी गर्नुभयो । पार्टी विरोधी गतिविधि गर्दा पनि आफूले एकताका लागि दोस्रो अध्यक्ष दिन तयार भएको तर माधवले समान हैसियतको अध्यक्ष खोजेको ओलीले दाबी गर्नुभयो ।

ओलीले माधव नेपाललाई साथ दिएका नेताहरुलाई एमालेमा फर्कन आग्रह पनि गर्नुभयो । निर्वाचन आयोगमा बुझाएको दल दर्ताको निवेदनबाट आफ्नो नाम फिर्ता लिन आग्रह गर्दै उहाँले एमालेमा फर्किनेलाई उचित जिम्मेवारी दिने बताउनुभयो ।

आफ्नो सम्बोधनको पूरै समय माधव नेपालको आलोचनामा खर्चिनुभएका ओलीले सरकारले अध्यादेश ल्याएर एमाले फुटाएको पनि दाबी गर्नुभयो । माधव नेपालसँग सल्लाह गरी आवश्यक संख्या हिसाब गरेर अध्यादेश ल्याइएको ओलीको आरोप छ ।

टिप्पणीहरू