माधव नेपालको पार्टी दर्तापछि बल्ल नयाँ मन्त्री : प्रचण्ड

माधव नेपालको पार्टी दर्तापछि बल्ल नयाँ मन्त्री : प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको एमाले समाजवादी पार्टी दर्ता प्रक्रिया पूरा भएपछि क्याबिनेटले पूर्णता पाउने बताउनुभएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ नामक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रचण्डले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको बचाउ पनि गर्नुभयो । अध्यादेशबारे भैरहेका बहसतर्फ संकेत गर्दै प्रचण्डले अघिल्लो ओली सरकार र अहिलेको सरकारले ल्याएको अध्यादेशको उद्धेश्य फरक भएकाले दुबैलाई एउटै रुपमा बुझ्न नहुनेमा जोड दिनुभयो । ओलीले लोकतन्त्र र संविधान मास्न ल्याएको तर अहिलेको सरकारले व्यवस्था र संविधानको रक्षाको लागि अध्यादेश ल्याएको प्रचण्डको दाबी छ ।

‘लोकतन्त्र,गणतन्त्र रक्षाका लागि ल्याएको अध्यादेश पनि उही, लोकतन्त्र मास्न ल्याएको अध्यादेश पनि उही । यस्तो पनि हुन्छ र ! प्राविधिक कुरालाई हेरेर राजनीतिक उध्देश्य बिर्सने गल्ति हामीले गर्नुहुन्न’, प्रचण्डको भनाइ छ ।

त्यस्तै,जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वैचारिक रुपले स्पष्ट नहुँदा नेपालका कम्युनिस्ट पार्टीहरुमा संकट आएको बताउनुभयो । उहाँले ठूलो राजनैतिक क्रान्तिपछि पनि प्रतिगमन दोहोरिनुको पछाडि वैचारिक स्पष्टताको अभाव रहेको बताउनुभएको हो।

‘हामीले राजतन्त्र अन्त्य गरी संघीय लोकतन्त्र स्थापना गर्‍यौं । यो एउटा ठूलो परिवर्तन थियो । त्यो क्रान्तिकारी शक्तिलाई हामीले धेरै लामो समय अगाडि लैजान सकेनौँ’,त्यसकारण आज पुराना शक्तिहरु हावी हुँदै गएका छन्’, उहाँले भन्नुभयो।

भट्टराईले नेपाली विशेषताअनुसारको समाजवादको खाका निर्माण गर्न तथा सही विचार दिन नसकेका कारण अहिलेको समस्या आएको पनि प्रष्ट पार्नुभयो।

टिप्पणीहरू