जथाभावी फुटपाथ व्यवसायले राजधानीका सडक अस्तव्यस्त

जथाभावी फुटपाथ व्यवसायले राजधानीका सडक अस्तव्यस्त

-अनुशा थापा

उपत्यकाका सडकमा बिहानीपख र साँझपख हिँडिनसक्नुको भीड हुन्छ । सडक छेउछाउ र पुलमुनि थापिएका फुटपाथ पसलको भीड छिचोल्न हम्मेहम्मे नै पर्छ । फुटपाथ व्यवसाय बाटैभरि फैलाएपछि हिँड्ने बाँटो नै हुँदैन ।

जथाभावी सञ्चालनमा आएको फुटपाथ व्यवसायले पैदल यात्रुहरुलाई निकै अप्ठेरो पर्ने गरेको छ । पैदलयात्रीको लागि बनाइएका फुटपाथ सबै व्यापार व्यवसायको प्रयोजनमा लगाइएको छ । यसरी जथाभावी सञ्चालनमा आएको फुटपाथ पसल व्यवस्थित गर्न उपत्यकाका महानगरपालिका र नगरपालिकाहरुले कुनै ठोस कदम चालेको देखिँदैन ।

फुट्पाथ व्यापारले शहरलाई अस्तव्यस्त र कुरुप बनाएको छ । त्यसबाट सडकमा सवारी समेत तोकिएको गतिमा गुड्न नपाएपछि सबैतिर अस्तव्यस्त भएको हो । सडकको छेउछाउमा जथाभावी फुटपाथ सञ्चालन गर्न दिँदा सडक दुर्घटनासमेत बढेको छ ।

फुटपाथमा व्यापार सञ्चालन गर्नेहरुले राज्यलाई राजश्व नतिरेको नजिकैका सटर र भवनमा पसल राख्नेहरुले आरोप लगाएका छन् । उनीहरुको व्यवसाय दर्ता नभएकाले सरकारी निकायले कर वा राजश्व उठाउने कुनै माध्यम नभएको ठूला पसलेहरु बताउँछन् । कमाउने तर सरकारलाई कर तिर्नु नपर्ने भएपछि फुटपाथ व्यवसाय फस्टाएको उनीहरुको दाबी छ ।

फुटपाथ व्यवसायबाट केही सीमित व्यक्तिलाई फाइदा पुगे पनि दैनिक आवतजावत गर्ने पैदल यात्रुहरुले भने निकै कठिनाइ भोग्नु परेको सबैले देखेका छन् । स्थानीय तह र प्रहरी प्रशासनले समेत त्यसतर्फ खासै ध्यान दिएको पाईंदैन ।

काठमाडौंको भृकुटीमण्डपमा मात्र हालसम्म सामान्य तवरले व्यवस्थापन गरिएको खुल्ला बजार सञ्चालनमा रहेको छ । तर अधिकांश फुटपाथ व्यवसायले शहरको सौन्दर्यतामा भने ह्रास ल्याएको छ । आम्दानी नहुने, सटर भाडा तिर्न नसक्नेहरुले मात्र फुटपाथ व्यवसाय सञ्चालन गर्ने परम्परागत मान्यता पनि पछिल्ला दिनमा फेरिएको छ ।

फुटपाथ व्यवसायबाट मात्र गुजारा गर्नेहरुको संख्या नेपालमा ठूलै छ । तर, पछिल्ला दिनमा कर र भाडा छुटको लोभमा त्यस्तो व्यवसायमा रमाउनेहरुको संख्या बढ्न थालेको व्यवसायीहरु नै बताउँछन् । महानगरपालिका र नगरपालिकाले फुटपाथ व्यवसायलाई निश्चित स्थान र समय तोकिदिने हो भने भीड कम हुने पक्का छ ।

तर, जथाभावी सञ्चालनमा रहेका फुटपाथ पसलेहरुलाई कारबाही गरिएको भक्तपुर नगरपालिकाका कर अधिकृत प्रभात चालिसेले बताउनुभएको छ । उहाँँले बाटोघाटोमा थापिएका फुटपाथ पसलहरुलाई छिट्टै अन्यत्र ठाउँमा व्यवस्थापन गरिने योजना रहेको जानकारी समेत दिनुभएको छ ।

टिप्पणीहरू