​उनका हरेक ‘एक्सन’ असफल « Jana Aastha News Online
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022

​उनका हरेक ‘एक्सन’ असफल

प्रकाशित मिति :  १६ बैशाख २०७४, शनिबार ११:३७


  • कुसुम भट्टराई

शान्ति प्रक्रिया प्रारम्भ भएयताका दश वर्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का हरेक कदम असफल हुँदै आएका छन् । रणनीतिक चातुर्यमा कमजोर भएका हुन् या ‘बुर्जुवा लोकतन्त्र’मा कच्चा खेलाडी साबित भएका हुन् ?

दीर्घकालीन जनयुद्धलाई दिल्लीमा भएको बाह्रबुँदे समझदारीमार्फत शान्तिपूर्ण बिसर्जन गर्न सफल भए पनि त्यसपछिको यात्रामा भने उनी कमजोर र असफल सावित हुँदै आएको देखिन्छ । पहिलो संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री बनेका प्रचण्डले तात्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउने निर्णय गरे । तर, त्यो प्रत्युत्पादक बन्यो । सत्तासाझेदार दलले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रचण्डको कदमलाई राष्ट्रपतिले उल्टयाइदिएपछि राजीनामा नै गर्नुप¥यो । त्यो उनको ‘एक्सन’ को निराशाजनक ‘रियाक्सन’ थियो । 

पहिलोपटक प्रधानमन्त्री भएकै बेला प्रचण्डले पशुपतिका भारतीय मूल भट्टलाई हटाउने निर्णय गरे । त्यो निर्णयपछि पशुपति क्षेत्रमा भाँडभैलो मच्चियो । आन्तरिक र बाह्य विभिन्न दबाब थेग्न नसकी पुनः भारतीय भट्टलाई बहाली गर्नुप¥यो । यसरी आफ्नो निर्णयमा टिक्न नसक्दा पनि प्रचण्ड मुस्कुराउन छाडेनन् । हारमा पनि हाँस्नु उनको खुबी हो । 

प्रधानमन्त्रीबाट हटनुपरेको झोंकमा प्रचण्डले ‘अब सोझै दिल्लीसँग भिड्ने’ भन्दै देशव्यापी अभियान चलाए । तर, सात पटकसम्म गोप्य रुपमा भारतीय दूतावास धाएको र ‘रअ’ का प्रतिनिधिलाई भेटेको तथ्य दूतावास सूत्रबाटै सार्वजनिक भएपछि उनको भारतविरोध र राष्ट्रवादी हुँकार पनि फितलो हुँदै गयो । अन्ततः आफूपछिका नेता डा. बाबुराम भट्टराईमार्फत कसरी हुन्छ लाइन मिलाउने कोशिश गर्न थाले । भारतलाई शक्ति देखाउन त्यसबेला मुलुकभर अनिश्चितकालीन आमहडताल आह्वान पनि गरे । तर, बन्द र हडतालबाट वाक्क भएका जनताले विभिन्न ठाउँबाट प्रतिकार गरेपछि प्रचण्डले छैटौं दिनमै आन्दोलन स्थगित गर्नुप¥यो । आमहडताल सफल भएन । 

प्रचण्डले पटक–पटक प्रधानमन्त्री बन्न कोसिस गरिरहे । तर, भारतले ‘बाबुराम भए ठीक, प्रचण्ड बेठिक’ भनिदिएकाले मनसुवा पूरा हुन पाएन । भारतले उनलाई पूर्ण रुपमा विश्वास गर्न सकेन । आफू प्रधानमन्त्री हुन नपाएपछि एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन भूमिका निर्वाह गरे तर सत्तारुढ भएपछि माधवले प्रचण्डका अभिष्ट पूरा गरिदिएनन् । अन्ततः ‘माधव नेपाललाई अमृत भनेर रोपेको, विषवृक्ष परेछन्’ भन्दै आफ्नो रणनीतिक असफलता उजागर गर्दै हिँडे । 

पहिलो संविधानसभा विघटन भएपछि दोश्रो निर्वाचनमा बहुमत ल्याउने तयारी थियो । कुनै दलको नेतालाई प्रधानमन्त्री बनाउँदा धाँधली हुने आशंका या भयका कारण उनले नै बहालवाला प्रधान न्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउन भूमिका निर्वाह गरे । तर निर्वाचनमा पार्टी तेस्रो स्थानमा झ¥यो । उनको तुजुकको डिग्री धेरै तल प¥यो । 

यसरी अनेक असफलता झेल्दै आएका प्रचण्ड संविधान जारी भइसकेपछि नेपाल–भारत तनावको मौका छोप्दै भारतलाई खुशी बनाएर प्रधानमन्त्री बन्न सफल भएका छन् । तर, प्रधानमन्त्रीका रुपमा उनले चालेका कदम एकपछि अर्को असफल हुँदैछन् । जसको पछिल्लो उदाहरण हो, संसदमा उनको नेतृत्वको सरकारले प्रस्तुत गरेको संविधान संशोधन प्रस्ताव ।

उक्त संशोधनको देशव्यापी विरोध भइरहेको छ । गुरु मोहन वैद्यदेखि चेला नेत्रविक्रम चन्द विप्लवसम्म, प्रतिपक्षी एमालेदेखि, राप्रपा– जनमोर्चासम्मले संशोधन प्रस्तावको विरोध गरेका छन् । उनकै पार्टीका नेतासमेत विरोधमा छन् । यसरी हेर्दा यो कदम पनि असफल हुने देखिन्छ । 

प्रचण्डमा या त रणनीतिक चातुर्यको कमी देखिन्छ, या उनी हतारमा निर्णय गर्छन् । हैन भने बारम्बार असफल हुने र विवादमा आइरहने निर्णय किन भइरहन्छ ? कतै यस्तै असफलताबाट सिर्जित हुने अन्योलपूर्ण अवस्थामै खेल्ने उनको दाउ त हैन ? या उनको पतनको प्रारम्भ हो ?


प्रतिक्रिया दिनुहोस !